आफ्नो टोलबाट सफाइ अभियान थाल्न सुझाव



नेपाल समाचारपत्र, ललितपुर । 

ललितपुर महानगरपालिका–१८ले बृहत् सरसफाइ तथा कोरोना भाइससम्बन्धी जनचेतना कार्यक्रम आयोजना गरेको छ। शनिबार बिहान वडाको तीन स्थानबाट भेला भएका वडावासीले सडक र वडाका विभिन्न स्थानको सफाइ कार्यक्रम गरेका थिए।

समापन समारोहमा बोल्दै ललितपुरका प्रदेश सांसद जीवन खड्काले वडावासी जागरुक नभएसम्म टोल र वडा सफा नहुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘सफा गरेर मात्रै पुग्दैन अब वडावासीलाई घरघरमा राख्न डस्टबिनको व्यवस्था गर्नुपर्छ।

उहाँले वडाको क्षेत्र सफा राख्ने दायित्व वडावासीकै भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

तीन समूह विभाजन गरिएको अभियानको पहिलो समूहले नख्खु, शहीद धर्मभक्त स्कुल, मेडिसिटी अस्पताल, हाइल्यान्ड, निर्मल स्कुल र विनायक कोलोनी हुँदै वडा कार्यालय पुगेको थियो। सो समूहको संयोजक मिलन बस्ती टोल सुधार समितिका अध्यक्ष लक्ष्मण कट्वाले गर्नुभएको थियो।

भञ्ज्याङदेखि पाखागाउँ, शान्तिमार्ग, मगर गाउँ हुँदै वडा कार्यालयसम्म दोस्रो समूहको नेतृत्व श्री बालकुमारी सिर्जना क्लबका उपाध्यक्ष एवं वातावरण समितिका संयोजक वीरेन्द्र थापाले गर्नुभएको थियो।

त्यस्तै, तेस्रो समूहको नेतृत्व शिवराम खड्काले गर्नुभएको थियो। तेस्रो समूहले खोकना दोबाटोदेखि महिला भवन, सैंबु आवास क्षेत्रलगायत स्थानको सफाइ गरी वडा कार्यालयमा भेला भएको थियो। कार्यक्रममा भञ्ज्याङदेखि नख्खुसम्म ब्रुमरले सफा गरेको थियो। अभियान समापन समारोहमा बोल्दै वडाध्यक्ष पुरुषोत्तम खड्काले घर मात्रै सफा गर्ने परम्परालाई अन्त्य गरी सम्पूर्ण वडा सफा गर्ने योजनासहित अभियान थालनी गरेको बताउनुभयो।

जानेका मान्छेले धेरै कुरा बिगार्ने भएकोले जान्ने मान्छेलाई नै नियम बनाएर अघि बढाउनुपर्छ– ‘अध्यक्ष खड्काले भन्नुभयो। उहाँले सबैको रचनात्मक सुझाव संकलन गरी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सडक र शहरमा फोहोर नगरौं’ भन्ने नाराका साथ आयोजना गर्न लागेको कार्यक्रममा फोहोरमैलासँग आबद्ध संघ÷संस्थाले सहयोग गर्नेेछ।

कार्यक्रममा समाजसेवी बोधविक्रम थापा, शिवराम खड्का र नेप्सेम्याकका तुल्सीराम निरौलालगायतले सफाइ अभियान सफल पार्न विद्यालयका विद्यार्थीको सहयोग लिनुपर्ने बताउनुभयो।

उनीहरूले अभिभावकसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थीले अभियानलाई सफल बनाउन सक्छन्, त्यसैले उनीहरूको साथको आवश्यक रहेको बताए। नेप्सेम्याकको सहयोग रहेको अभियानमा हाइल्यान्ड, सनसाइन, निर्मल, माइलोस्टोन, माउन्ट मकालुलगायत करिब आधा दर्जन विद्यालय, श्री बालकुमारी सिर्जना क्लब, लालिगुराँस क्लब, विभिन्न महिला समूह र टोल सुधार समितिलगायतको सहभागी थियो।

अभियानको क्रममा मेडिसिटी अस्पतालका वरिष्ठ चिकित्सक डा. रवि महतले विश्वभर फैलिएको कोरोना भाइसरबाट नेपालमा असर नपरेको तर सावधानी अपनाउनुपर्ने कुरा बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्