ढुंगाना र सिंहलाई इन्जा सामुदायिक पत्रकारिता पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित यस वर्षको इन्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ।

१ हजार अमेरिकी डलर राशिको सो पुरस्कार पत्रकार ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र पत्रकार सिंहको हिमाल खबर पत्रिकामा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षक आलेखले प्राप्त गरेका हुन्।

सन् २०१९ भरिमा प्रकाशित ३ सय ५१ वटा समाचार तथा फिचर प्रतिस्पर्धामा सामेल थिए। वरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनोट समितिले निर्धारण गरेको मापदण्डअनुरूप दुवै आलेखले बराबर नम्बर प्राप्त गरेकोले संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय भएको इन्जाले जनाएको छ।

पत्रकार ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सोसम्बन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतीहरूको चित्रण गरिएको छ। छाउपडीविरुद्ध सक्रिय रूपमा कलम चलाउँदै आएकी ढुंगानासँग आफैँ पनि छाउपडीमा बसेको तीतो अनुभव छ।

पत्रकार सिंहको ‘कुपोषित बाजुरा’ शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहालीलाग्दो चित्र प्रस्तुत गरिएको छ, जसले नेपालका धेरै जिल्लाहरूको अवस्थाको प्रतिनिधित्व गर्दछ।

यसैगरी, १ हजार डलर राशिको यस वर्षको इन्जा श्रष्टा सम्मान पुराना पत्रकार, वरिष्ठ साहित्यकार तथा प्राध्यापक चुडामणि रेग्मी (चुमरे) लाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन्।

झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिता शुरुआत गर्नुभएका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशनसमेत गर्नुभएको थियो भने आफ्नो जीवनको अधिकांश समय साहित्यिक गतिविधिमा बिताउनु भएको छ।

झापाबाट चर्चित भएका धेरै साहित्यकारलाई प्रोत्साहित गर्न जुहीले महत्वपूर्ण भूमिका खेलेको थियो।

इन्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेसास डीसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

सो पुरस्कार तथा सम्मान आगामी मार्च १, मा काठमाडौंमा आयोजना हुने इन्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्