उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च



नेपाल समाचारपत्र, काठमाडौं ।

पुस महिनामा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहेको थियो।

क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा ७ दशमलव २४ प्रतिशत, तराईमा ७ दशमलव ४६ प्रतिशत, पहाडमा ५ दशमलव ३९ प्रतिशत र हिमालमा ५ दशमलव शून्य १ प्रतिशत मुद्रास्फीति रहेको छ। गत वर्षको पुसमा यी क्षेत्रमा क्रमशः ५ दशमलव १५ प्रतिशत, ४ दशमलव शून्य २ प्रतिशत, ४ दशमलव ९२ प्रतिशत र ४ दशमलव ४८ प्रतिशत मुद्रास्फीति रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १० दशमलव २१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव २५ प्रतिशत रहेको छ।

त्यस्तै तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ। पुसमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत रहेकोमा भारतमा यस्तो (जनवरी महिनाको) मुद्रास्फीति ७ दशमलव ५९ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४ दशमलव ५८ प्रतिशत र २ दशमलव शून्य ५ प्रतिशत रहेको थियो। पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव शून्य ४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा प्राथमिक वस्तु समूहअन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १० दशमलव २० प्रतिशत, ७ दशमव ५८ प्रतिशत र २ दशमलव ५० प्रतिशत रहेको छ। तर, निर्माण सामग्रीको थोक मूल्य ५ दशमलव शून्य ६ प्रतिशतले घटेको छ। तलव तथा ज्यालादर सूचकांक पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक् १० दशमलव शून्य ४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ९ दशमलव ३० प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक १३ दशमलव ५६ प्रतिशत र ज्यालादर सूचकांक ९ दशमलव शून्य ६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्