बहिराको कथा–व्यथा, इसाराले चल्छ जिन्दगी



सिर्जना पन्त, बागलुङ । 

हेर्यो मुसुक्क हाँस्यो। आँखा–आँखा जुध्यो।आँखाले मन र मनको भाव पढ्यो। केही टाढाकालाई त ठीकै हो, तर छेउमै बसेको साथीलाई पनि आँखा जुधेन भने कोट्याएर मेरो आँखामा हेर भनेर इसारा गर्नुपर्दा भने बागलुङ नगरपालिका–१४ नारायणस्थानका सन्तोष पौडेललाई साह्रै चित्त दुख्छ।

सबैले त्यो आँखाको भाव बुझ्दैनन्। नबुझ्नेलाई हातले इसारा गर्नुपर्छ। त्यही इसारा पनि धेरैले बुझ्दैनन्। हातको इसारासमेत नबुझेर आफ्नो मनको कुरा कापीमा लेखेर दिनुपर्दा भने मन अमिलो हुने पौडेल बताउनुहुन्छ।

सन्तोष र उहाँजस्तै कान सुन्न र बोल्न नसक्नेहरूले एक अर्कासँग संवाद गर्नका लागि सांकेतिक भाषाको प्रयोग गर्छन्। सांकेतिक भाषाकै माध्यमबाट दुःख पोख्छन्, सुख साट्छन्, माया र ममता बाँड्छन्। सँगै आफ्नो मनोभाव एक अर्काले बुझ्ने र बुझाउने गर्छन्।

तर, जब उनीहरू घरबाट बाहिर निस्किन्छन्, इसाराको परिक्षा सुरु हुन्छ। सन्तोषलाई आफ्नो बाल्यकालको अझै पनि सम्झना छ। ऊ बेला मैले सुन्न र बोल्न नसक्दा हातको इसारा गरेरै बोल्न र सुन्न सक्ने साथीहरूले खुब जिस्काउँथे। तर, सन्तोष भन्नुहुन्छ–‘आजभोलि त्यही इसारा म र मजस्ता बीचको संवाद गर्ने माध्यम बनेको छ।’ सन्तोषलाई बोल्न र सुन्न सक्नेहरूले आफ्नो इसारा नबुभ्mदा भने आफूले आफैँलाई जिस्काएको जस्तो लाग्छ। १२ कक्षा पास गरेका सन्तोषले धवलागिरि बहिरा विद्यालयमा पढाउनुहुन्छ।

बागलुङ बहिरा संघको अध्यक्षसमेत रहेका पौडेललाई जिल्लामा हुने कार्यक्रमको निमन्त्रणा आउँछ। साङ्गहरूले सांकेतिक भाषा नबुभ्mदा सन्तोषलाई जहाँ जाँदा पनि दोभाषे लिएर जानुपर्ने बाध्यता छ। संस्थागत कार्यक्रममा एकजनालाई मात्र निमन्त्रणा हुन्छ। दोभाषे लिएर हिँड्दा गाडी भाडा दोब्बर लाग्छ, बसाइ मिल्दैन, दोहोरो खर्च लाग्छ यस्ता समस्याले आजित बनाइरहेको उहाँको भनाइ छ।

बागलुङ नगरपालिका–७ सिगानाका टिकाराम गौतमको पनि समस्या उस्तै छ। ‘सामान्य काम परेर सरकारी कार्यालय गयो भने भाषा बुझ्दैनन्’ गौतमले भन्नुभयो– ‘एक घन्टामा हुने काम दुई दिनमा पनि सकिँदैन।’ लामो समय होटलमा काम गर्नुभएका गौतमले भाषाकै समस्याले काम छाड्नुपरेको बताउनुहुन्छ। बागलुङ बहिरा संघका पूर्वअध्यक्षसमेत रहेका गौतमले बहिराको वास्तविक समस्या बुझिदिने कोही नभएको गुनासो गर्नुहुन्छ। ‘हामीले सुन्ने, बोल्नेबाहेक सबै काम गर्न सक्छौं’, गौतमले भन्नुभयो– ‘पहिलो कुरा काम पाइँदैन, काम पाइयो भने पनि ज्यालामा विभेद गरिन्छ।’

जिन्दगीका दुःख सुख र दैनिकी इसारामा चलाइरहेको छविलाल सुवेदी बताउनुहुन्छ। सरकारले विद्यालयको पाठ्यक्रममा अनिवार्य सांकेतिक भाषाको व्यवस्था गरिदिने हो भने बहिराहरूको जिन्दगीको दैनिकी सरल र सहज हुने उहाँको भनाइ छ।

पर्वतको कुश्मा नगरपालिका–१० कासुवेदीका दुई छोरा छन्। उहाँलाई आफ्ना छोराले विद्यालयका अन्य पुस्तकसँग सांकेतिक भाषा पनि पढून् भन्ने ईच्छा छ। ‘मेरा ३ र २ वर्षका दुई छोरा छन्, ठूलो छोरालाई विद्यालय पठाउने बेला भएको छ’, सुवेदी भन्नुहुन्छ– ‘सानैदेखि छोराहरूले सांकेतिक भाषा पढ्न पाए भने हाम्रो भावना बुझ्थे होला।’ एसएलसी पास गरेका छविलाल र टिकारामले कालिका भगवती मन्दिरमा सरसफाइको काम गर्नुहुन्छ।

उहाँहरूसँगै म्याग्दीको बेनी नगरपालिका ज्यामरुकोटका २६ वर्षीय कृष्णबहादुर क्षत्री पनि कालिका मन्दिरमा सरसफाइको काम गर्नुहुन्छ। कक्षा १२ सम्म अध्ययन गर्नुभएका कृष्ण आफूले पढेर पनि बहिरा भएकै कारण अरूभन्दा पछाडि परेको तीतो अनुभव सुनाउनुहुन्छ। बोल्न र सुन्न सक्ने भएको भए मैले पनि अफिसमा काम पाउँथे होला’, उहाँले भन्नुभयो– ‘बोल्न, सुन्न नसक्ने भएरै सरसफाइको काम गरिरहेको छु।’

कृष्णका बाबा भारतीय सेनाबाट अवकाश लिएर बस्नुभएको छ। उहाँका एक दाजु र एक भाइ छन्। ‘घरमा सबैले सुन्नुहुन्छ, सबै बोल्नुहुन्छ’, कृष्णले भन्नुभयो– ‘परिवारमा म मात्र बोल्न सुन्न सक्दिनँ त्यसैले, अरूको बोझ बन्न नपरोस् भनेर आत्मनिर्भर बन्न सरसफाइको काम गरिरहेको छु।’
बागलुङको धवलागिरि बहिरा आवासीय विद्यालयबाट कम्प्युटर इन्जिनियरिङको प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गर्नुभएकी सुनिता शर्माले बहिरा भएकै कारण आफ्नो क्षमता देखाउने ठाउँ नपाएको गुनासो गर्नुहुन्छ।

‘कम्प्युटर र सफ्टवेयरको सबै काम गर्न सक्छु, तर मलाई पत्याउने कुनै कार्यालय, सघं÷संस्था भेट्न सकिरहेको छैन’, जागिर खोज्दै हिँड्दाको नमिठो अनुभव सुनाउँदै सुनिता भन्नुहुन्छ– ‘कति ठाउँमा लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा फालिएकी छु।’
सरकारी कर्मचारी र संस्थाका प्रमुखले सांकेतिक भाषाको महत्व र संवेदनशीलता बोध गर्न नसक्दा क्षमता हुँदाहुँदै पनि रोजगारीबाट बञ्चित हुनुपरेको सुनिताको गुनासो छ।

बहिरा समुदायका यी प्रतिनिधि पात्र मात्र हुन्। यस्ता हजारौं बहिराले आफ्नो योग्यता र क्षमताअनुसारको काम पाउन सकेका छैनन्। सामाजिक रूपमा सम्मान पाउन सकेका छैनन्। बरू नजानिँदो बोझको भारी बोकिरहेको तीतो अनुभूति गरिरहेका छन्।

नेपालको संविधानमा बहिरा नागरिकको हक र अधिकारसँगै कानुनी व्यवस्थासमेत त्रुटिपूर्ण रहेको भन्दै बहिरा महासंघले संशोधनको माग गर्दै आएको छ। २०६८ सालको जनगणनामा १ दशमलव ९४ प्रतिशत नेपाली नागरिकमा कुनै न कुनै किसिमको अपांगता रहेको उल्लेख छ। त्यसमध्ये १५ दशमलव ५ प्रतिशत व्यक्तिमा बहिरा तथा सुस्त श्रवण अपांगता रहेको पाइएको छ।

हालसम्म बहिरामैत्री पाठ्यक्रम र पाठ्यपुस्तक नभएको बहिराहरूको गुनासो छ। सर्वोच्च अदालतले बहिरालाई पनि सवारी चालक अनुमति पत्र दिन आदेश दिएको छ। अदालतको आदेश छ, तर जानेर पनि लाइसेन्स नपाएको बहिराहरूको गुनासो छ। लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा पास गरे पनि सरकारी कर्मचारी र प्रहरीले विश्वास नगरेकै कारण आफूहरूले लाइसेन्स प्राप्त गर्न नसकेको उनीहरूको बुझाइ छ।

शारीरिक अपांगता, दृष्टीविहीन र बौद्धिक अपांगता भएकाहरूको तुलनामा बहिरा सक्रिय भए पनि उनीहरूले योग्यताअनुसारको काम नपाएको कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो।

‘बहिराहरू तुलनात्मक रूपमा पनि इमानदार हुन्छन्, चलाख हुन्छन्, सबै काम गर्न सक्रिय हुन्छन्’ खड्काले भन्नुभयो– ‘म पछिल्लो दुई वर्षदेखि निरन्तर उनीहरूसँग काम गरेको छु, उनीहरूको कामबाट निकै प्रभावित भएको छु।’

फरक क्षमता भएकाहरूको विषयमा स्थानीय सरकार बढी संवेदनशील र जिम्मेवारी बन्नुपर्ने उहाँको भनाइ छ। सर्वसाधारणमा पनि सांकेतिक भाषाको सामान्य ज्ञान हुने हो भने बहिराहरूको ज्ञान र सीपलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्