भारतले मिचेको नेपाली भूमि कालापानी फिर्ता ल्याउँछांै ः मन्त्री पोखरेल



किरन धामी, दार्चुला । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारतले मिचेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताउनुभएको छ ।
दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित दार्चुला महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरलले भारतले मिचेको नेपाली भूमि कूटनीतिक पहलबाट फिर्ता ल्याउने बताउनुभएको हो ।

छिमेकी देश भारतसित वार्ता गरी सीमा विवाद टुंग्याइने भन्दै उहाँले नेपाली भूमि अतिक्रमण गरेर लैजाने कुरा सम्भव नभएको बताउनुभयो । ‘स्वाभिमानी नेपालीले अरूको भूमि एक इन्च लिँदैन र आफ्नो भूमि कसैले मिचेको पनि सहँदैन ।’ –उहाँले भन्नुभयो ।

भारतले मिचेको नेपाली भूमिको रक्षा गर्न सशस्त्र प्रहरी बलको (बीओपी) पोस्टहरू थप्ने गृहकार्य भइरहेको भन्दै उहाँले कालापानी क्षेत्रको सीमा अनुगमनमा जाने बताउनुभयो ।

साथै उहाँले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइने बताउनुभएको छ । व्यास गाउँपालिकावासीले विगतदेखि नै भारतको बाटो प्रयोग गर्दै आएको तथा विभिन्न समस्या भोग्नुपर्ने कुरालाई मध्यनजर गर्दै सडकको जिम्मा नेपाली सेनालाई दिइने उहाँले बताउनुभयो ।

‘दार्चुला तिंकर सडकको जिम्मा नेपाली सेनालाई दिँदा निर्माण कार्य चाँडो हुन्छ, जनताले नेपाली भूमिबाटै आवत–जावत गर्न पाउँछन् ।’ –मन्त्री पोखरेलले भन्नुभयो ।’ दार्चुलाको सदरमुकाम खलंगादेखि तिंकर भञ्ज्याङसम्म १ सय ३२ किलोमिटर लम्बाइ रहेको उक्त सडकको अहिले ४० किलोमिटर मात्रै ट्र्याक खुलेको छ ।

दार्चुला उद्योग वाणिज्य संघको आयोजना तथा महाकाली नगरपालिकाको सहआयोजनामा आयोजित महोत्सवमा जिल्लाका मार्मा, मालिकार्जुन, नौगाड, दुहुँ, व्यास र महाकाली नगरपालिकाको विभिन्न कला–संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।

जिल्लामा रहेका जडीबुडी, पर्यटन, कला–संस्कृति तथा यहाँ उत्पादन भएका कृषिजन्य वस्तुको व्यापार तथा प्रचार–प्रसारका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताउनुभयो । फागुन ४ गतेबाट शुरू भएको महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्