प्युठान एक चिनारी अनेक, हिमाल जोड्ने नयाँ धार्मिक पर्यटकीय सर्किट



सलिम अन्सारी, प्युठान । 

जिल्लामा पर्यटक लोभ्याउने थुप्रै स्थान तथा विषय छन्। जसको महत्व हर तरहले आफैंमा उत्कृष्ट र विशिष्ट छ। न गर्मी न जाडो जलवायु। पहाडी भू–भाग, चारैतिर हरियाली।

पूर्वी रुकुममा सिस्ने हिमाल, रोल्पाको जलजला। अर्घाखाँचीको सुपादेउराली अनि गुल्मीको रिडी र रेसुंगा, छन् काखमा धरापानी मन्दिर तथा ठूलो दाङ उपत्यका। यिनै पर्यटकीय गन्तव्यलाई काखी चाप्दै शिरमा स्वर्गद्वारीलाई राखेर प्युठानले आफ्नो सानदार चिनारी दिइरहेको छ। बाह्रै महिना बगिरहने झिमरुक र राप्ती नदी हुन्। झिमरुकको समथर भूमि साँच्चिकै लोभलाग्दो छ।

अग्ला पहाडी शृंखला, सयांै मठ–मन्दिर, दह–पोखरी र प्राकृतिक गुफाहरू रहेका यस जिल्लामा बाइसी–चौबीसे राज्यका दरबारसमेत छन्। बहु आयामले समृद्ध यस क्षेत्रमा पर्यटकीय सर्किटको विकास गर्न सकिने पर्यटन सम्बद्ध व्यवसायी बताउँछन्।

पर्या पर्यटन र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मानिने लुम्बिनी–स्वर्गद्वारी तथा रेसुंगा–गौमुखी र मुक्तिनाथसमेतलाई समेटेर सर्किटका रूपमा विकास गर्न सके देशकै अब्बल गन्तव्य बनाउन सकिने उनीहरूको मत छ। पर्यटनमैत्री पूर्वाधार र दिगो प्रवद्र्धनको योजना बन्न सके यसलाई नयाँ गन्तव्यका रूपमा विश्व बजारसम्म पु¥याउन सकिने सम्भावना रहेको पर्यटन विज्ञहरू बताउँछन्।

प्युठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ज्ञामुराम न्यौपानेले पर्यटनका हिसावले प्युठान सम्बृद्ध भए पनि लगानी अभावले यस क्षेत्र फस्टाउन नसकेको बताउनुभयो। जिल्लाको आर्थिक समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटनमा लगानी बढाएर लाभ लिनका लागि राज्यसँगै निजी क्षेत्र र स्थानीय सरकारले योजना बनाउनुपर्ने उहाँ बताउनुहुन्छ।

यसका लागि दीर्घकालीन गुरुयोजना आवश्यक रहेको उहाँको धारणा छ। ‘हामीले ठाउँ देख्यौं, त्यसलाई चिनेर पूर्वाधार विकास, प्रवद्र्धन र प्रचार–प्रसार गर्न सकेनौं। एकीकृतरूपमा विकास गर्न नसक्दा जिल्लाका धेरै पर्यटकीय गन्तव्यमा पर्यटक पुग्न सकेका छैनन्।’ –उहाँले भन्नुभयो।’ उहाँकै भनाइलाई आधार मान्ने हो भने धेरै गन्तव्य पूर्वाधार विकासबाट टाढा छन्। प्रचार–प्रसार छैन। प्रवद्र्धन साँघुरिएको छ।

पहाडी भू–भाग रहेको यो जिल्लाको प्युठान–भालुबाङ सडकबाहेक अन्य सडक कालोपत्रे भएका छैनन्।

सडकको अवस्था मजबुत भयो भने मात्रै अरू पक्ष सक्षम हुन्छन् भन्ने हेक्का जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दललाई छ। यद्यपि यहाँको विकासप्रति कोही पनि गम्भीर छैनन् भन्ने अनुभव ग्रामीण सडकमा यात्रा गर्दा छर्लंग हुन्छ। सडकको अवस्था सक्षम नभएकै कारण यहाँको पर्यटन व्यवसायले सोचेजस्तो फड्को मार्न सकेको छैन। भविष्यमा दाङको कोइलाबास–चीनको कोरला त्रिदेशीय मार्ग व्यवस्थित भइसक्दा लुम्बिनी–स्वर्गद्वारी एवं रेसुंगा–गौमुखी हुँदै पर्यटकहरूलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा र पवित्र तीर्थस्थल मुक्तिनाथसम्मको यात्रा तय गर्न सहज हुनेछ । अब तराई–पहाड जोडेर नयाँ पर्यटकीय सर्किट बन्नेछ, जुन हिमालसम्म पुग्नेछ ।

स्वर्गद्वारी
प्युठानको महत्व स्वर्गद्वारीले बताउँछ। यसको चर्चा विशेष नेपालमा भन्दा भारतमा बढी छ। पाँच पाण्डव प्युठानको स्वर्गद्वारी हुँदै स्वर्ग गएको जनविश्वासका आधारमा त्यसलाई स्वर्गद्वारी भन्ने गरिएको हो। यहाँ नेपाली भन्दा भारतीय धार्मिक पर्यटक बढी पुग्ने गरेका छन्। ताल, गुफा र नजिकबाट देखिने हिमाल यहाँका आकर्षण हुन्। वर्षेनी १ लाखभन्दा बढी भारतीय भक्तजन स्वर्गद्वारी पुग्ने गर्दछन्।

स्वर्गद्वारी पुग्नेहरूको मनोकांक्षा पूरा हुने विश्वास छ। स्वर्गद्वारी आश्रम महाप्रभुसँग जोडिएको छ। महाप्रभु अर्थात् रोल्पा रुन्टीका हंशानन्द गिरीले विश्व कल्याणका निम्ति ‘बटुक’हरूलाई अध्यापन गराउन शुरू गरेका थिए। जुन हालसम्म पनि कायमै छ। पर्यटकीय पूर्वाधार अभावले स्वर्गद्वारीको अपेक्षित विकास हुन नसकेको सरोकारवालाहरूले महसुस गर्न थालेको छन्।

स्वर्गद्वारी आउने हिन्दू र लुम्बिनी आउने बौद्धमार्गीलाई सडक र हवाई यातायातमार्फत मुक्तिनाथ पुग्न, दर्शन गर्न, खान–बस्न र यातायातको सहज एवं व्यवस्थित प्रबन्ध मिलाउने हो भने यो विशेष सांस्कृतिक र धार्मिक आकर्षणको गन्तव्य हुन सक्दछ।

गौमुखी
प्युठान जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हो गौमुखी। सरकारले प्रस्ताव गर्न लागेको ‘मदाने–पञ्चासे संरक्षण क्षेत्रअन्तर्गत गौमुखी पर्दछ। झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघेसंक्रान्तिमा ठूलो मेला लाग्दछ।

गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ। करिब डेढ सय वर्षअघि बाग्लुङ, निसीका तगारा बुढामगर (निसेल) ले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ, ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेका थिए। त्यसलाई उनले गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यको आधारमा गौमुखी नामकरण गरेको भनिन्छ। त्यही गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रूपमा प्रवाह शुरू हुन्छ।

त्यसकै बाहिर सामान्य मन्दिर छ। मन्दिरमा सन्तानको प्रगति र ऐश्वर्य वृद्धि आदि मनोकामना पूरा गर्न दूधको धारा, पशुपक्षीको दाम्लो चढाउने र परेवा उडाउने गरिन्छ। ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृंखलाको अवलोकन, मगर समुदायको सांस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरूलाई सजिलै आकर्षित गर्छन्।

ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेंसी, बाढीकोटको गढीकोट, पूजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुषाराकोट, खुंका गुफाहरू रजवाराको मगर संस्कृति, बांगेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ। गौमुखी मगर समुदायको थातथलो हो। स्थानीय कला संस्कृति र खानपानमा रमाउँदै अध्ययन अवलोकन गर्ने रुचाउनेहरू यहाँ पुग्छन्।

प्युठानको बाग्दुलाबाट ४० किमि, अर्घाखाँचीको सन्धिखर्कबाट ५२ किमि दूरीमा गौमुखी छ। गुल्मीको तम्घासबाट पनि यहाँ पुग्न सकिन्छ। अहिले अर्खा, अर्तुवाङबाट गाडीमा ठूलाचौर र पैदल हिँडेर गौमुखी पुग्न सकिन्छ। बाग्दुला–ठूलाबेंसी–भीमगिठे ७२ किमि त्रिदेशीय सडक निर्माण पूरा गरी यसलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेंसी पुगिन्छ। यहाँबाट करिब ४० किलोमिटर दूरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ।

ठूलाचौरबाट झन्डै पौने एक घन्टा पैदल यात्रापछि गौमुखी मन्दिरमा पुग्न सकिन्छ। प्युठानको स्वर्गद्वारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ। ढाँडबाट इस्नाथान, मुर्चुललेक र लालीगुराँस रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँडा हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ। पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा तीखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुुखी पुग्न सकिन्छ।

धौलागिरि शिकार आरक्षसँग जोडिएको नांगी क्षेत्र यहीं छ। अर्खा ठूलाचौर मगर होमस्टेमा बास बसेपछि एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने गौमुखी गाउँपालिका–२ का वडाध्यक्ष डोरबहादुर राना बताउनुहुन्छ।

नौबहिनी “भर्जिन ल्यान्ड अफ टुरिजम”

प्युठानको नौबहिनीको पर्यटन प्रवद्र्धन हुन सकेको छैन। यहाँ नौबहिनी झरना, नौबहिनी गुफा, नौबहिनी सुर्खेत, नौबहिनी मन्दिर, गौमुखी ताल, कटबरा दह, मलरानी गुफालगायत दर्जनौं पर्यटकीयस्थल रहेका छन्। यो जिल्लाकै सबैभन्दा धेरै पर्यटन सम्भावना बोकेको गाउँपालिकासमेत हो। तर, आवश्यक भौतिक पूर्वाधार तथा प्रचार–प्रसार अभावले पर्यटकीय गतिविधि बढ्न सकेको छैन।

नौबहिनी आन्तरिक पर्यटनको हब बन्ने सम्भावना छ। नौबहिनीका पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधार नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती थपिएको छ। साथै होमस्टे, होटललगायत सुविधा नहुँदा यहाँ पुग्ने पर्यटकलाई बासस्थानको समस्या हुने गरेको छ। नौबहिनी गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले भौगोलिक विकटताले नौबहिनी क्षेत्रको समग्र विकासमा चुनौती थपिएको गुनासो पोख्नुभयो।

ऐरावती
प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने ऐरावती जिल्लाको मनोरम तीर्थस्थल मानिन्छ। यहाँको अमरेश्वर महादेवको मन्दिर ऐतिहासिक हो। यहाँ सतीदेवीको अंग पतन भएको मानिन्छ। झिमरुक र माडी नदी मिसिएको ऐरावतीको दोभानमा स्नान गर्नाले पुण्य कमाइने वैकुण्ठ धाम जान सकिने जन विश्वास छ।

हिन्दूको धार्मिक ग्रन्थअनुसार सत्य युगमा इन्द्र ऐरावत नामको हात्तीमा चढेर झिमरुक र माडीको संगम स्थलमा आएकाले त्यस ठाउँको नाम ऐरावती राखिएको विश्वास गरिन्छ। ऐरावतीमा आजभोलि पर्यटकका लागि जैविक विविधता अध्यनको गन्तव्य बनेको छ। देशको गौरवको आयोजना नौमुरे यही छ। भालुवाङ–प्युठान सडक खण्डको २४ किमिमा पर्ने बडडाँडादेखि ऐरावती करिव १८ किलोमिटरको दूरीमा पर्दछ।

बडडाँडादेखि जिपमा १ घन्टाको यात्रा गरेपछि ऐरावती पुग्न सकिन्छ। भालुवाङ–प्युठान सडकको १२ किमिमा पर्ने दर्भानबाट बागेंसाल–लामाताल–कालीवन हँुदै झिलिवाङसम्म मोटरमा र त्यहाँबाट करिब २ घन्टाको पैदल यात्रामा ऐरावती पुगिन्छ। आजभोलि अर्घाखाँची र प्युठानमा पनि सडक सञ्जाल जोडिएकाले बुटवलतिरबाट सुपादेउराली दर्शन गर्न जाने धार्मिक पर्यटक मोटरबाटै ऐरावती पुग्न सक्दछन्।

प्रतिक्रिया दिनुहोस्