क्रसर उद्योगले बनाए कार्यविधि धूलोपिठो



मोतीराम तिमल्सिना, काभ्रे ।

क्रसर उद्योगले संघीय र प्रदेश सरकारबाट तोकिएको कार्यविधि विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ। काभ्रे जिल्लामा मात्र ३१ क्रसर उद्योगले कार्यविधि धूलोपिठो बनाएका हुन्।

‘जिल्लाभित्र रहेका खोला तथा नदीहरूबाट हुने नदीजन्य पदार्थहरूको उत्खनन तथा संकलन कार्यलाई व्यवस्थित गर्न बाग्मती प्रदेश सरकारले बनाएको कार्यविधिविपरीत कार्य गरेमा वा नदीजन्य पदार्थ ठेक्का सम्झौता पालना नगरेमा वा राजस्व छली हुने गरी संकलन तथा ओसार–पसार गरेमा दण्ड जरीवाना गर्ने निर्णय भएको छ’, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘संघीय÷प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड काभ्रे जिल्लामा सञ्चालन भएको नदीजन्य, खानीजन्य र क्रसरहरूमध्ये अनुगमन गरिएका ३१ वटा उद्योगको तोकिएको मापदण्ड पुगेको छैन।’

समन्वय समिति काभ्रेका प्रमुख केसीले दर्ता नभई सञ्चालन भएका क्रसर उद्योग तीनवटा रहेको र दर्ता भएकामध्ये धेरैले चार वर्षदेखि नवीकरण नगरेको जानकारी दिनुभएको छ।

दर्ता नगरी सञ्चालन भएका क्रसर उद्योगमा वीर बी एन्ड सन्स, भुम्लु–७, मञ्जुश्री मल्टिपर्पाेज प्रालि भुम्लु १०, नमोबुद्ध नगरपालिका–३ मा रहेको जगबैजेश्वर बालुवा उद्योग छन्। वीर बी एन्ड सन्स र मञ्जुश्री मल्टिपर्पाेजले बालुवा प्रशोधनको अनुमति लिई क्रसर उद्योग सञ्चालन गरेका छन् भने जगबैजेश्वर बालुवा उद्योगले २०७५ सालदेखि अनुमतिबिना अवैधरूपमा बालुवा उत्खनन तथा प्रशोधन गरिरहेको प्रतिवेदनमा जनाइएको छ।

खानी तथा भूगर्भ विभागले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र नमोबुद्ध नगरपालिकालाई कानुनबमोजिम कारबाही गर्न माघ ७ गते पत्र पठाएको भए पनि बालुवा खानी बन्द भएको छैन।

नदीजन्य पदार्थमा आधारित क्रसर उद्योग २०७२ असार मसान्तपछि नवीकरण नभएको र २०७२ को भूकम्पपछि एक वर्षका लागि नवीकरण नभए पनि सञ्चालनका लागि अनुमति दिएको थियो। अनुगमन गरिएका उद्योगहरूमध्ये मनकामना एग्रिगेट, कालढुंगा एग्रिगेट र मञ्जुश्री मल्टिपर्पाेजले कुनै पनि कागजात बुझाउन सकेका छैनन्।

यसैबीच गत साता नेपाल समाचारपत्रमा जनप्रतिनिधिको लगानीमा सञ्चालन भएको क्रसर उद्योगले बीपी राजमार्ग अवरुद्ध गरेर क्षति पु¥याएको समाचार प्रकाशित भएपछि डाइभर्सन हटाउन शुरू गरिएको छ। पूर्वमन्त्री शंकर भण्डारी, पूर्वसभासद् तीर्थ लामासहितको लगानीमा रहेको साविक खार्पाचोक–२ हाल रोशी गाउँपालिका–८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रालिले क्रसर सञ्चालनका लागि बीपी राजमार्ग रोकेर ‘डाइभर्सन’ सडक सञ्चालन गरेको छ।

‘राजमार्ग नै अवरुद्ध गरेर डाइभर्सन गरेको क्रसरलाई नै राजमार्गको अवरोध हटाउन लगाई सडकको सीमा क्षेत्रभित्र क्रसर सञ्चालनमा रोक लगाएका छौं’, सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले भन्नुभयो– ‘केही दिनभित्रै सडक सुचारु गर्नेछौं।’

 

प्रतिक्रिया दिनुहोस्