कांग्रेसले भन्यो शालीन प्रतिपक्ष हुँदा पनि केही गरेन सरकारले



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुई तिहाइ बहुमत र शालीन प्रतिपक्ष हँुदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ।
सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्दै दुई वर्षको अवधिमा उल्लेख्य राम्रो काम गरेको बताएको भोलिपल्टै आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारको आलोचना गरेको हो।

‘वर्तमान सरकारको दुई तिहाइ बहुमत थियो, सदनमा शालीन र जिम्मेवार प्रतिपक्ष थियो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– ‘यस्तो अनुकूल परिस्थितिमा पनि सरकारले काम गर्न सकेन।’

यो सरकारलाई शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत मुलुकमा निर्मित तुलनात्मक सहज राजनीतिक वातावरणसमेत प्राप्त भएको भन्दै कांग्रेसले भनेको छ– ‘यस्तो पृष्ठभूमि र परिस्थितिको सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नवीन गतिका साथ कार्य गर्न सक्थ्यो तर सहज समयको सदुपयोग सरकारले परिणामुखी ढंगले विल्कुलै गर्न सकेन।’

कांग्रेसले अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई सरकार आफैले प्रतिकूल बनाएको आरोप लगाएको छ। सरकारले निर्वाचनका बेला दुई कम्युनिस्ट पार्टी एक भएर बनाएको आफ्नै घोषणापत्रमा उल्लेख गरेको काम पनि गर्न नसकेको जनाइएको छ।

कांग्रेसले सरकारको दुईवर्षे कार्यकाललाई राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शान्ति सुरक्षा, सुशासन र समृद्धि, सदाचार र भ्रष्टाचार, रोजगार सृजना र विस्तार तथा सांस्कृतिक रूपान्तरण गरी आठ कोणबाट विश्लेषण गर्दै पूर्णरूपमा असफल भएको ठम्याएको छ।

कालापानीलगायत समग्र सीमा एवं राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार एवं लोकतन्त्र सुदृढीकरणको मुद्दा र समृद्धितर्फको यात्रा यी साझा विषयमा सरकारलाई खुला ढंगले साथ दिएको कांग्रेसको दाबी छ।

राष्ट्रियताको प्रश्नमा सरकारको अकर्मण्य भूमिका, संविधानको मर्मविपरीतका विधेयक र अनेक आर्थिक अनियमितता एवं भ्रष्टाचारको प्रश्नको विपक्षमा उभिँदै आएको बताउँदै प्रवक्ता शर्माले भन्नुभयो– ‘प्रतिपक्षको संयमित भूमिकालाई कमजोरी ठान्ने अधिनायकवादी मनोविज्ञानले एकातर्फ नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरिएको छ भने अर्कोतर्फ प्रतिपक्ष एवं प्रतिपक्षी दलका नेता, कार्यकर्तामाथि अवाञ्छित ढंगले प्रतिशोधको व्यवहार प्रस्तुत गरिएको छ।’

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भू–भागका विषयमा कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। राष्ट्रियताको प्रधान मुद्दामा सरकारको दुई वर्षलाई अन्य कुनै पनि घटनामा भन्दा बढी कालापानी प्रकरणमा बुझ्नुपर्ने हुन्छ भन्दै सरकारले सम्पूर्ण राष्ट्रिय एकताका बाबजुद प्रभावकारी अग्रसरता कायम राख्न नसकेको ठहर गरिएको छ।

पछिल्लो समय महाकालीवारि सडक खनिँदै गरेको समाचार बाहिर आए पनि सरकारको प्रतिक्रियासम्म नआएको कांग्रेसको ठहर छ।
कांग्रेसले सरकार क्रमशः अनुदार लोकतन्त्रको बाटोमा अग्रसर रहेको पुष्टि भएको आरोप लगाएको छ।

राजधानी उपत्यकामै पूर्वसचिवकी पत्नीको हत्या, वयोवृद्ध पूर्वराजदूतको हत्या, उपत्यकाकै भिन्न दुई स्थानमा दुई बालकको अपहरणपछि हत्या, शृंखलाबद्ध बम विस्फोटमा केहीको मृत्यु आदि जस्ता घटनाले सरकार शान्ति सुरक्षामा चुकेको कांग्रेसको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्