रहेनन् मेयर बेखारत्न शाक्य



सुनील महर्जन, ललितपुर ।

बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिका ललितपुर नगरपालिकाका पहिलो मेयर बेखारत्न शाक्य रहेनन्। पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार बिहान ७ः ३० बजे नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो। निधनपछि उहाँको शवलाई सानेपा स्थित घरमा ल्याइएको थियो।

उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति प्रकाशमान सिंह, नेताहरू बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरू घरमा पुगेका थिए। शाक्यको निधनले नेपाली कांग्रेसको इमानदार नेता गुमाएको नेताहरूको प्रतिक्रिया दिएका छन्।

२०४९ सालमा भएको साविकको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट उहाँ तत्कालीन ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। त्यति बेला शाक्य ६२ वर्षको हुनुहुन्थ्यो। नेपाल नगरपालिका संघका संस्थापक अध्यक्षसमेत रहनुभएका शाक्य प्रजातान्त्रिक सेनानी संघ ललितपुर जिल्ला अध्यक्षसमेत हुनुहुन्छ।

जननायक बीपी कोइरालाको हातबाट १६ वर्षको उमेरमा पार्टीको सदस्यता लिएका शाक्य करिब एक दशकयता नेपाली कँंग्रेसको राजनीतिमा वाक्कदिक्क भए पनि लोकतान्त्रिक मूल्य मान्यता र सदाचारबाट उहाँ कहिल्यै विचलित हुनुभएन।

संसदीय चुनावको ५५ वर्षीय इतिहासमा २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा ललितपुरको तीनवटै सिटमा कांग्रेसलाई जिताउन शाक्यको योगदान रहे पनि शाक्यको भूमिकालाई मूल्यांकन नगरिएकोमा पार्टीका नेताहरूप्रति असन्तुष्टि रहेको परिवारका सदस्यहरू बताउँछन्। शाक्यको छवि र क्षमतालाई पार्टीले सदुपयोग गर्न नसकेको कांग्रेस नेता भरतलाल न्याछ्योको धारणा रहेको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्वर्गीय शाक्यले पञ्चायतका कठोर दिनमा नेपाली कांग्रेसको संगठन निर्माण्ँ र प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याइएको बताउँदै सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘म स्थानीय विकास मन्त्री हुँदा शाक्यले नगरप्रमुखको रूपमा उत्कृष्ट कार्य गर्नुभएको सम्झना छ।’ हङकङमा लामो समय सुन व्यापारीको रूपमा काम गर्नुभएका शाक्यले पञ्चायतकालमा कांग्रेसको संगठन निर्माणमा पु¥याउनुभएको योगदानस्वरूप मेयर बन्न सफल हुनुभएको हो। तीनपटक मेयरमा निर्वाचित पूर्वमेयर बुद्धिराज बज्राचायले भन्नुभयो– ‘उहाँ राम्रो नेता हुनुहुन्थ्यो।’

शाक्यको भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, नेपाल बौद्ध परियति शिक्षाको स्थापना र ललितपुरको आधुनिक विकासमा महत्वपूर्ण योगदान रहेको छ। पछिल्लो समयसम्म शाक्य बुद्ध धर्मको विकासमा सक्रिय रहनुभएको थियो।

शाक्यको सोमबार १२ बजे शंखमूलस्थित घाटमा दाहसंस्कार गरिने छ। शाक्यका दुई छोरी एक छोरा र पत्नी छन्। शाक्यको सम्मानमा आज सोमबार ललितपुर महानगरपालिका १ देखि २९ वडा कार्यालयहरूमा बिदा दिइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्