राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वेष्ट प्वाइन्ट बन्यो च्याम्पियन (तस्विरसहित)



प्रताप बानियाँ, म्याग्दी ।

बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता न्यू वेष्ट प्वाइन्ट आवासीय मावि च्याम्पियन बनेको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, ९ रजत र ११ कास्यपदक प्राप्त गरी वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो ।

यसैगरी प्रतियोगितामा १६ स्वर्ण, १३ रजत र १० कास्यपदक जित्दै माउण्ट एभरेष्ट आवासीय मािव उपविजेता बनेको छ भने ३ स्वर्ण र १ कास्यपदक जितेर बालमन्दिर आधारभूत विद्यालय तृतीय भएको छ । त्यस्तै प्रतियोगितामा प्रकाश माविले २ स्वर्ण, ५ रजत र ४ कास्य, गलेश्वर माविले २ स्वर्ण, ३ रजत र १ कास्य, अर्जुन माविले १ स्वर्ण, २ रजत र ३ कास्यपदक जितेका छन् ।

त्यसैगरी ३ हजार मिटरको छात्रा दौडतर्फ जनकल्याण मावि पुलाचौरका करुणा बानियाँले प्रथम स्थान हासिल गरेकी छन् । प्रतियोगितामा छात्र÷छात्रा भलिबल (२), कबड्डी (२), एथ्लेटिक्स (२६) र मार्सल आर्ट (१८) गरी ४८ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

कबड्डी प्रतियोगितातर्फ न्यू वेष्ट प्वाइन्ट प्रथम, माउण्ट एभरेष्ट आवासीय मावि द्वितीय र सरस्वती मावि तृतीय भएका छन् । मार्चपासतर्फ बेनी सामुदायिक मावि प्रथम, लिटिल गार्डेन एकेडेमी द्वितीय र बुद्ध एकेडेमी तृतीय भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेतालाई नगद ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीयलाई नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

यसैबीच ४ स्वर्णसहित सबै खेलकुदको विधातर्फ सर्वोकृष्ट खेलाडी घोषित न्यू वेष्ट प्वाइन्टकी आयुशा केसीलाई नगद तीनहजार पाँचसय रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । सबै विधामा उत्कृष्ट हुनेलाई पनि दुईहजार पाँचसय रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

विजेता विद्यार्थीहरुलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, वडा अध्यक्षहरु गोविन्द पौडेल, कृष्णबहादुर बानियाँ, राजेन्द्रकुमार श्रेष्ठ, बेलबहादुर चोखाल र नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता विद्यालय र विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै जिसस प्रमुख केसीले शैक्षिक क्रियाकलाप सँगसँगै अतिरिक्त क्रियाकलापहरुलाई पनि प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रमको समापन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहल गरिरहेको बताएका छन् ।

समापन कार्यक्रम नगर प्रमुख श्रेष्ठको अध्यक्षता र शिक्षा तथा खेलकुद शाखाका अधिकृत अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । गत बिहीबारदेखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेनी नगरपालिका भित्रका १० वटा वडाका विभिन्न २४ विद्यालयले सहभागिता जनाएका थिए ।

तस्वीरः प्रताप बानियाँ, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्