बुटिक व्यवसाय फस्टाउँदै



शिक्षा पन्त, लमजुङ।

फेसनअनुसारको डिजाइन खोज्ने युवतीका लागि यतिबेला ‘बुटिक’ व्यवसाय गतिलो माध्यम बनेको छ। लमजुङमा बुटिक व्यवसायले फस्टाउँदै गएको छ। युवतीका बीच लोकप्रिय रहेकाले यो व्यवसाय फस्टाउन पुगेको हो।

आफूलाई मनपर्ने डिजाइनमा कपडा सिलाई दिने भएकाले युवतीमाझ यो व्यवस्या लोकप्रिय भएको छ। ‘बजारमा फेसनको माग उच्च छ, ग्राहकको हरेक रोजाईलाई पूरा गर्न सक्ने भएकाले पनि बुटिक व्यवसाय राम्रो चलेको छ,’ सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा श्रृङ्गार बुटिक सञ्चालन गर्नुभएकी सम्झना तामाङले बताउनुभयो।

उहाँका अनुसार सिजनका बेला भ्याईनभ्याई हुने स्थिति छ। बिनाजोखिम सजिलै राम्रो पारिश्रमिक पाएकोमा खुशी हँुदै उहाँले भन्नुभयो–‘सीप सिकेर त्यसको उचित सदुपयोग गर्न पाएका छौं, कामबाट राम्रो प्रतिफल पाइएको छ, म सन्तुष्ट छु।’

साधारण सिलाइ गर्न जान्ने मान्छेले दुईदेखि तीन वर्षमा प्रायः सबैखाले डिजाइनका कपडा तयार गर्न सक्ने उहाँले बताउनुभयो। हाल बजारमा घांग्रा, लेहंगा बढी चलेको छ। एक पिस तयार पार्न कपडाबाहेक ५ हजारदेखि ८ हजार रुपियाँ लागत लाग्ने गर्छ। बुटिकका लागि आवश्यक अधिकांश कपडा भारतीय बजारबाट आउने गरेको छ। लमजुङमा सदरमुकाम बेसीशहरमा ३ र सिउँडीबारमा दुई वटा गरी ५ वटा बुटिक व्यवसाय सञ्चालनमा रहेका छन्।

बुटिकमा विशेष किसिमका पहिरनका डिजाइन पाइने आशामा फेसनप्रति चनाखो पुस्ताले बुटिकमा आँखा लगाउन थालेको छ। सिजन र चाहना अनुसारको सामान तथा वस्तुको प्राप्तिबाट आफुहरू पूर्ण सन्तुष्टि रहेको ग्राहकको भनाइ छ। कुनै समय चाडपर्व तथा उत्सवको मौका छोपेर पहिरनको जोहो गरिन्थ्यो भने हिजोआज यो सोच र समयमा परिवर्तन भइकेको छ। बजारमा पछिल्लो समय बुटिक प्रणालीबाट तयार पारिएका पहिरनको माग बढ्दो छ।

तालिम प्राप्त गरी आफै व्यवसाय शुरु गर्नुभएका बेसीशहर नगरपालिका–७, त्रिवेणी टोलका रुबी टेलर्स एन्ड बुटिक कलेक्सनका सञ्चालिका सरिता सापकोटा बताउनुहुन्छ–‘आफूहरूले अर्डरअनुसार जुनसुकै रुप र डिजाइन तयार गरी ग्राहकलाई उपलव्ध गराउन सक्ने भएका छौं।

हिजोका दिनसम्म साधारण टेलरिङमा कपडा सिलाउनेहरू अहिले बुटिकमा जाने गरेका छन्।’ आफ्नो रोजाइ अनुसारको कपडा तयार हुने र नयाँ–नयाँ फेसन तथा डिजाइनमा सुहाउँदो कपडा तयार गरिने हुँदा पनि बुटिक नै रोजाइमा पर्ने गरेको सापकोटाको भनाइ छ।

ग्राहकमा केही फरक देखिने चाहना, विभिन्न रङ र सुहाउने पहिरनप्रति बढी चासो बढेकाले पनि बुटिक व्यापार बढेको हो। यो व्यवसायले नेपालीको रहन सहनमै ठुलो परिर्वतन ल्याई दिएको छ। मौसम अनुसारका कलेक्सन र व्यक्तिका चाहाना अनुरुप डिजाइन गर्न सकेको हुनाले नै यो व्यवसाय फस्टाएको पाइन्छ।

सस्तो र सुपथ मूल्यमा डिजाइन गरिने भएकाले पनि लमजुङका ग्रामीणदेखी शहरी क्षेत्रका युवती तथा महिलाको बुटिकप्रति आकर्षण बढेको बुटिक सञ्चालक बताउँछन्।

प्रतिक्रिया दिनुहोस्