अहिलेको भन्दा उचाइमा पुर्याउने लक्ष्य लिएको छु



नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक बटुल्ने खेलमा गनिन्छ भारोत्तोलन। यही खेलको अभिभावक नेपाल भारोत्तोलन संघको निर्वाचन केही दिनअघि मात्र सम्पन्न भयो। जसमा राम श्रेष्ठ नयाँ अध्यक्षका रूपमा चुनिनुभएको छ। उहाँ विगत डेढ दशकयता नेपाली फुटबल क्षेत्रमा पनि ‘बोस’को उपनामबाट परिचित हुनुहुन्छ। लामो समय खेल विकासमा समर्पित भएकाले उहाँ अमेरिका र ब्राजिलबाट समेत सम्मानित हुनुभएको छ। ए डिभिजन क्लब थ्री स्टारका ‘डाइ हार्ड फ्यान’देखि सोही क्लबका म्यानेजर हुँदै हाल कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएका राम श्रेष्ठसँग भारोत्तोलन खेलसँग सम्बन्धित विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको रोचक कुराकानीको सार संक्षेप :

खेलकुदमा लाग्नुभएको कति भयो ?

सानैदेखि खेलकुदमा रुचि भएको मान्छे हुँ म। मैले दुई दशकअघि क्योकुसिन कराते खेलेको थिएँ। डेढ दशक जति भयो थ्रि स्टार क्लबसँग जोडिएको। थ्रि स्टार क्लबमा मैले बोर्ड सदस्य र म्यानेजरको जिम्मेवारी निर्वाह गरिसकेको छु।

मुख्यतः अहिले दशरथ रंगशालामा नै प्रशिक्षण हुन्छ। अनि प्रायः जसो राष्ट्रिय खेलाडी विभागीय टोलीमा आबद्ध भएकाले विभागकै प्रशिक्षणस्थल प्रयोग हुने गरेको छ।

अहिले थ्रि स्टार क्लबको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु। भारोत्तोलनमा भने २०७२ सालदेखि मात्र सक्रियरूपमा लागि परेको हुँ। बितेको ४ वर्ष मैले भारोत्तोलनको उपाध्यक्ष पद सम्हालेको थिएँ।

फुटबलबाट एकाएक भारोत्तोलनतिर कसरी आकर्षित हुनुभयो ?

नेपालकै बलिष्ठ व्यक्ति तथा नेपाल भारोत्तोलन संघका पूर्व अध्यक्ष स्वर्गीय सुनीललाल जोशी दाइले मैले फुटबलमा गरेको कामको प्रशंसा गर्दै मलाई भारोत्तोलनमा पनि आउने वातावरण मिलाइदिनुभएको थियो।

मबाट भारोत्तोलनमा केही गर्न सक्ने लक्षण देखेर नै होला उहाँले आफ्ना तर्फबाट केही गर्नुभएको। तर भारोत्तोलन संघको उपाध्यक्ष भएको केही समयपश्चात् नै उहाँको निधनले मलाई धेरै निरास बनाएको थियो।

उहाँसँग मिलेर केही गरौं भन्ने सोच तुहिएको थियो। तर १२औं सागमा व्यवस्थापकका रूपमा म गुवाहाटी पुगेको थिएँ। जहाँ हामीले ४ वटा पदक जितेपछि भने यो खेलको विकासमा लागिरहन थप हौसला मिल्यो।

संघको अध्यक्ष बन्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ?
|
उपाध्यक्ष हुँदा मैले गरेको कामलाई मूल्यांकन गरेर नै होला म यसपटक अध्यक्ष पदमा चुनिएको। युवा भएकै कारणले केही गर्नसक्छ भनेर कार्यसमितिका साथीहरूले मलाई भन्ने गर्नुहुन्थ्यो। यो त्यसैको नतिजा हो भन्ने मलाई लाग्छ।

नेपाली भारोत्तोलनको वर्तमान अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ ?

नेपाली खेलकुद जगत्मा भारोत्तोलन सबैभन्दा बढी पदक जित्ने खेलका रूपमा चिनिन्छ। तैपनि अन्य खेलको दाँजोमा यो खेल छायामा पर्दै आएको छ। वास्तवमा यो खेल जो कोहीले खेल्छु भन्दैमा सहजै खेल्न सक्दैन। गाह्रो खेलमध्येमा भारोत्तोलन पनि पर्दछ।

यो खेलमा लाग्न त्यति सहज पनि छैन। विशेषतः प्रशिक्षणस्थल र दक्ष प्रशिक्षकबिना यसका टेक्निकहरू बुझ्न मुस्किल नै छ। अनि खेलाडीको शारीरिक क्षमता पनि यो खेलसँग मेल खानुपर्छ। मलाई लाग्छ, यो खेलको नियमहरू पनि धेरै कमले मात्र बुझेका छन्।

१३औं सागमा भारोत्तोलनको नतिजालाई सन्तोषजनक मान्न सकिन्छ ?

१३औं सागमा भारोत्तोलनको नतिजा सन्तोषजनक नै छ। मेरो विचारमा दुई स्वर्णसहित सबै खेलाडीले पदक जित्नु भनेको राम्रो नतिजा हो। खेलाडी र प्रशिक्षकको कडा मेहनत तथा सम्पूर्ण खेलप्रेमीको साथ र सहयोगले यस्तो नतिजा आएको हो।

नेपाली भारोत्तोलन विकासका लागि कस्तो गृहकार्य गर्नुपर्ने देखिन्छ ?

अहिलेको अवस्था हेर्ने हो भने धेरै समस्याहरू छन्। भारोत्तोलन संघको कार्यालयसमेत नभएको अवस्था छ। प्रशिक्षणस्थलको पनि कुनै टुंगो छैन। फरक–फरक स्थानमा प्रशिक्षण गर्नुपरिरहेको अवस्था छ। तैपनि जसोतसो अगाडि बढइरहेका छौं।

मेरो कार्यकालमा यस्ता समस्याको स्थायी समाधान गर्नेतिर काम अघि बढाउनेछु। नेपालगन्जमा निर्माणाधीन एकेडेमीको काम अन्तिम चरणमा छ। काठमाडौंमा पनि एकेडेमी बनाउने मेरो सोच छ। मेरो कार्यकालमा यो खेललाई अहिलेको भन्दा उचाइमा पुर्याउने लक्ष्य लिएको छु।

प्रशिक्षणस्थल टुंगो छैन भन्नुभयो, खेलाडीले कसरी प्रशिक्षण गरिरहेका छन् ?

मुख्यतः अहिले दशरथ रंगशालामा नै प्रशिक्षण हुन्छ। अनि प्रायःजसो राष्ट्रिय खेलाडी विभागीय टोलीमा आबद्ध भएकाले विभागकै प्रशिक्षणस्थल प्रयोग हुने गरेको छ।

भनेपछि सिभिलका खेलाडीहरू छैनन् ?

सिभिलबाट पनि छन्, तर कम। मोफसलबाट पनि भारोत्तोलन खेलाडीहरू उत्पादन भएका छन्। तर सिभिल र मोफसलबाट उदाएका खेलाडीहरू अन्ततः विभागीय टोलीमा नै आबद्ध हुने चलन बढ्दो छ।

जसले गर्दा राष्ट्रियस्तरमा भने विभागीय खेलाडीहरूकै वर्चश्व हुने गरेको छ। यस्तो हुनु एकप्रकारले राम्रो पनि हो। किनभने नेपालमा खेलाडीको भविष्य विभागीय टोलीमा आबद्ध भएर सुरक्षित पनि हुने गरेको छ।

के काठमाडौं वरिपरिकै जिल्लामा समेत भारोत्तोलनको जिल्ला संघ नभएको कुरा सत्य हो ?

यो सत्य हो। भक्तपुर र काभ्रेमा समेत जिल्ला संघ छैन। जिल्ला संख्याको आधारमा भारोत्तोलनको जिल्ला संघ संख्या न्यून छ। सकेसम्म नेपालको ७७ वटै जिल्लामा संघ गठन गरेर खेलाडी उत्पादन गर्ने मेरो योजना छ।

सरकारीस्तरबाट भारोत्तोलनलाई कसरी सहयोग हुँदै आएको छ ?

सरकारीस्तरबाट पाउने सहयोग निकै कम छ। आगामी दिनमा स्थानीय र प्रदेश सरकारसहित राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीसँग पनि सहयोग वृद्धिका लागि गृहकार्य गर्छौं। यो कामलाई मैले पहिलो प्राथमिकतामा नै राखेको छु।

भारोत्तोलन प्रतियोगिताहरू कसरी आयोजना हुने गरेको छ ?

बजेट अभावका कारण धेरै प्रतियोगिताहरू गर्न गाह्रो छ। विगतको कुरा गर्ने हो भने कुनै प्रतियोगिता सञ्चालन गर्नुपर्दा भारोत्तोलनका पुराना खेलाडी, केही व्यापारिक संस्था र अन्य स्रोतको माध्यमबाट प्रतियोगिताहरू आयोजना गर्न बल पुगेको छ।

तपाईं फुटबलसँग पनि निकट व्यक्ति, फुटबलमा जति भारोत्तोलनमा लगानी हुँदो हो भने कस्तो नतिजा आउला ?

यदि त्यसो हुँदो हो भने भारोत्तोलनले नसोचेको नतिजा ल्याउनेछ। धेरै पनि होइन, यदि फुटबलमा भइरहेको लगानीको केही प्रतिशत मात्र भारोत्तोलनमा खर्चने हो भने ठूलै फड्को मार्नेछ।

तपाईंको कार्यकालमा नेपाली खेलकुदले भारोत्तोलनबाट कस्तो आशा गर्न सकिन्छ ?

मेरो सोचमा विभागीय वर्चश्व धेरै राम्रो हो। किनभने खेलाडीले कम्तीमा पनि खेलमा केन्द्रित हुने वातावरण पाउँछ। म पनि यो खेलतिर लागेको धेरै भएको छैन। यो खेललाई विकास गर्न धेरै कुराहरू बुझ्नु र सिक्नु छ। मेरो आगामी योजना भनेको नयाँ खेलाडीहरू उत्पादन गर्नेतिर नै हुनेछ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को सफलता कसरी ल्याउन सकिन्छ भनेर अध्ययन गरेर त्यसको कार्ययोजनाहरू बनाई कार्यान्वयन गर्नेतिर लाग्छौं।

धेरैभन्दा धेरै राष्ट्रियस्तरका प्रतियोगिताहरू पनि गर्ने सोच छ। निकट भविष्यमा एउटा पत्रकार सम्मलेन नै गरी मेरो आगामी कार्यकालमा गर्ने कामहरूका बारेमा जानकारी गराउने सोच बनाएको छु।

 

प्रतिक्रिया दिनुहोस्