दिल्ली गएपछि नेपाल चिनें



डा. रामभक्त ठाकुर
पूर्वराजदूत

विभिन्न मुलुकमा राजदूत, कार्यवाहक राजदूत, निर्वाचन आयुक्त, शिष्टाचार महापाल आदि भएर काम गरिसक्नुभएका डा. रामभक्त ठाकुर एक असल व्यक्ति हुनुहुन्छ। २०३४ वैशाखदेखि परराष्ट्र मन्त्रालयबाट काम गर्न थाल्नुभएका उहाँले इजिप्टको राजदूत हुँदा महत्वपूर्ण कार्यहरू सम्पादन गरिसक्नुभएको छ। यसका अलावा उहाँ एक सफल साहित्यकार, चित्रकार, गायक, संगीतकार पनि हुनुहुन्छ। डिप्लोमेटिक करियरमा नेपाल एम्बेस्सी चाइना, युुनेस्को, पेरिस, दिल्ली, बंगलादेश आदिमा रहेर सेवा गर्नुभएका पूर्वराजदूत डा. रामभक्त ठाकुरसँग यिनै विषयको सेरोफेरोमा रहेर नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीको सारसंक्षेप ः

आफ्नो कूटनीतिक र प्रशासनिक जीवनका बारेमा संक्षेपमा जानकारी दिनुहोस्।

मेरो कूटनीतिक र प्रशासनिक क्षेत्रको लामो कथा छ। यो क्षेत्रमा मैले जीवनमा धेरै नै गरेको हुनाले कहाँदेखि शुरु गरूँ भन्ने दोधारमा परेँ। म २०३२ सालमा सेक्सन अफिरका रूपमा जागिरेका रूपमा सेवा गरेको हुँ।

३०३३ सालमा पास भएर मैले २०३४ साल वैशाख १ बाट परराष्ट्र मन्त्रालयमा काम गरेँ। त्यही बेलादेखि मेरो कूटनीतिक यात्रा शुरू भयो। त्यो अवधिमा म फ्रान्समा भाषा सिक्न गएँ, फ्रेन्च भाषा सिकेपछि अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा पोस्ट ग्रयाजुएसन गरेँ। त्यतिबेला राजा वीरेन्द्रको अर्धविकसित देशको पहिलो कन्फ्रेन्स पेरिसमा भयो। म राजाको इन्टरपेटर भएर सो सम्मेलनमा भाग लिन गएँ। शिष्टाचार महापाल भएर पनि धेरै काम गरेको छु।

मैले बिर्सनै नसकिने एउटा नयाँ कुराको शुरुआत गरेको थिएँ। म निर्वाच आयुक्त भएको हुनाले कुनै राम्रो काम केही गरौं भन्ने ममा हुन्थ्यो। त्यसैले मैले पर्यवेक्षकले पैसा लिने, काठमाडौंमा सीमित भएर काम गर्ने, खटाएको क्षेत्र तथा दुर्गममा नजाने, गाउँमा नजाने, एउटा रिपोर्ट बनाउने पेस गर्ने र पैसा खाने। कहीँकहीँ मन लागे सुविधाजनक ठाउँमा पोखरा विराटनगर गए, सकियो। मैले यो प्रवत्तिलाई हटाएँ।

त्यसपछि डिप्लेमेटिक करियरमा नेपाल एमबेस्सी चाइनामा, नेपाल एम्बेस्सी युनेस्कोमा, परिसमा, दिल्लीमा, बंगलादेशमा विभिन्न पदमा मैले सेवा गरेँ। र अन्तमा सेवाकै क्रममा शिष्टाचार महापालमा नियुक्त भएँ। यसपछि पनि प्रधानमन्त्री, राष्ट्राध्यक्ष, राजा आदिलाई विभिन्न देशमा भ्रमण गराएँ।

सेवाको आदिमा इजिप्टमा मैले साढे चार वर्ष राजदूत नियुक्त भएर काम गरेँ अनि त्यहींबाट रिटायर्ड भएँ। त्यहाँबाट आएपछि परराष्ट्र मन्त्रालयमा सल्लाहकारका रूपमा रहेर काम गरेको छु। त्यो पनि समाप्त भयो।

फेरि मलाई सरकारले दोस्रो संविधानसभाको चुनावमा कठिन समय, द्वन्द्वको बेला निर्वाचन आयुक्तका रूपमा नियुक्त गर्यो। निर्वाचन आयुक्तका रूपमा रहेर चुनाव पनि सफलतापूर्वक सम्पन्न गरेको छु। अहिले हाम्रो एम्बास्डरको एउटा एसोसिएसन छ म त्यसमा उपाध्यक्षको भूमिकामा छु।

अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र नेपालमा विदेशी सहयोगका विषयका विज्ञ तपाईंले राजदूत रहँदा मुलुकमा कति सहयोग ल्याउनुभयो ?

हाम्रा दाता मुलुकका रूपमा जर्मन, जापान, यूके, चाइना भारत आदि हुन्। यी मुलुकमा आर्थिक अवस्था नै बेग्लै हुन्थ्यो। यदि म ती मुलुकमा गएको भए मैले खेल्ने भूमिका नै बेग्लै हुन्थ्यो, मेरो नियुक्ति त्यस्तो ठाउँमा भयो जहाँ राजनीतिक सम्बन्ध धेरै आर्थिक सम्बन्ध नगण्य।

राजनीतिक सम्बन्धबाहेक सबै कुरा शून्य भएको अवस्थामा म इजिप्ट गएँ। त्यति बेला इजिप्टसँगको व्यापार मात्र २० हजार थियो। यसलाई शून्य नै माने पनि हुन्छ। यो अरेबियन मुलुक भएकाले मैले आर्थिक कूटनीतिकलाई अघि बढाउनु चुनौतीपूर्ण कुरा थियो।

त्यहाँ अन्तर्राष्ट्रिय व्यापार मेला चलेको थियो। मेलामा मैले निःशुल्क स्टल व्यवस्था गरी नेपालबाट केही व्यापारीलाई बोलाएँ। उनीहरूले जम्मा दुई ट्रक सामान लिएर गएछन्। उद्घाटन भयो, भोलिपल्ट मेला हेर्न जाँदा त नेपालको सामान नै छैन।

एउटा दुईवटा झोलाबाहेक सबै सकिएछ। सोधेँ पनि के भयो भनेर। नेपाली सामान निकै राम्रो तथा सस्तो पनि भएकाले पहिलो दिनमै सबै सकिएछ। यसरी यो मुलुकमा रहँदा मैले आर्थिक कूटनीतिकलाई अघि बढाउने मौका पाएँ। पर्यटन पनि मान्छेलाई थाहै थिएन। मैले पर्यटन, व्यापार, आर्थिक सम्बन्ध बढाउने कार्यमा ठूलै भूमिका खेलेको छु। हामीले त्यहाँ सम्झौता गरेर जलविद्युत्का क्षेत्रमा पनि कुराकानी अघि बढायौं।

राजदूत बन्न पार्टी र शीर्ष नेतालाई चन्दा हाल्नुपर्छ, त्यो करोडौंमा हुन्छ भन्ने गरिन्छ नि ?

त्यस्तो कुरा त मलाई थाहा छैन। मैले जीवनमा कहिल्यै घूस दिएको पनि छैन र लिएको पनि छैन। त्यसैले मलाई त्यो विषयमा थाहा पनि छैन। मेरो नियुक्ति स्वच्छ रूपमा भएको हो। अझ मलाई राम्रो तथा च्यालेन्जिङमा ठाउँमा पठाएको भए राष्ट्रलाई केही योगदान गर्न सक्थेँ।

तर मेरो नियुक्ति नै करिब–करिब आर्थिक क्रियाकलाप शून्य भएको ठाउँमा परेको र मेरो राजनीतिक नियुक्ति नभएर क्यारियर डिप्लोमेटकका रूपमा भएकाले नगएको त्यस्तो केही भएन। मैले परराष्ट्रबाट नभई राजनीतिक नियुक्ति हुनेहरूले घूस दिन्छन्, लिन्छन्, खान्छन् भन्नेचाहिँ सुनेको छु। हाम्रो परराष्ट्रबाट जाने मान्छे यस्ता हुँदैनन्।

अहिलेको सन्दर्भमा राजदूत बन्न के गर्नुपर्ला जस्तो लाग्छ यहाँलाई ?

अहिले त भयावह छ, मान्छेको योग्यताको कुनै कदर छैन। जसले बढी खर्च गर्न सक्छ, उही नियुक्त हुने वा जो दलसँग नजिक छ उसैलाई नियुक्ति दिने चलन नै बसिसकेको छ। तपाईंहरूले नै सुन्नुभएको छ देख्नुभएको छ, अरबमा, अस्ट्रेलियामा को–कसरी गए भनेर, किन नाम लिनु र यो कुरा सबैलाई थाहा छ।

चिफ अफ प्रोटोकल हुँदाका कुनै उल्लेख्य घटना बताइदिनुहुन्छ कि ?

चिफ अफ प्रोटोकल भनेको एक किसिमले क्राइसिस म्यानेजर हो। जतिबेला जे पनि आउन सक्छ त्यतिबेला उसले ट्याक्क मिलाउन सक्नुपर्छ। चिफ अफ प्रोटोकल भन्या सबैसँग सम्बन्ध हुन्छ। हरेक मान्छेलाई चिनिरहेको हुन्छ। सबै ठाउँमा पहुँच भएको हुनाले जे परिआए पनि उसले मिलाउनुपर्छ।

यदि एउटा उद्देश्यले भ्रमण भइरहेको छ भने त्यसका लागि उसले हरेक तरहले सफल पार्नैपर्छ। म त्यसबेला एउटा चुनौतीपूर्ण अवस्थामा राजा ज्ञानेन्द्र आएको बेलामा चिफ अफ प्रोटोकल भएको। कुनै सानो गल्ती भयो क्षमादान भन्ने कुरै हुँदैनथ्यो। कतिलाई कहाँ के कुरा बिगार्यो भन्ने कुरा थाहै हुँदैन।

गल्ती के हो भन्ने कुरा छुट्याउन सक्ने मान्छे सायदै थिए होलान्। म तीन वर्षजति शिष्टाचार महापाल भएँ। राजाको र प्रधानमन्त्रीको भारत, सिंगापुर, चाइना तथा अरबी मुलुकहरूमा भ्रमण गराएँ। म प्रोफ्रेसनल भएर होला गारो भन्ने कुरै भएन मलाई। अरूलाई यो काम गारो लाग्थ्यो होला, मलाई कठिन भन्ने लाग्दै लाग्दैन। अहिले पनि कुनै काम कठिन लाग्दै लाग्दैन।

म जस्तो परिस्थिति आए पनि सामना गर्न सक्छु। म हरेक चुनौतीलाई मोलेर अघि बढ्ने मान्छे हो। यही कुरालाई इजिप्टका पेपरले रामभक्त ठाकुर हरेक गारोलाई आफ्नो अनुकूल पार्न सक्ने नाम हो भनेर लेखेका थिए।

तपाई निर्वाचन आयुक्त भएर सेवा गरेको व्यक्ति, आफ्नो कार्यकालमा गरेको राम्रा कामहरूको स्मरण गर्नुपर्दा के सम्झिनुहुन्छ ?

पहिलो संविधानसभाले संविधान लेख्नै सकेको थिएन। मुलुक त्यतिबेला पहिलो संविधानसभा विफल भएको र दोस्रो संविधानसभामा चुनाव हुने नहुने वा के गर्ने के नगर्ने भन्ने अवस्थामा थियो। हिंसा थियो, द्वन्द्व चलिरहेको थियो, हाम्रै ज्यान खतरामा थियो।

यस्तो अवस्थामा हामी नियुक्त भएर आयौं। देशका लागि गर्नैपर्छ, देशलाई संविधान चाहिन्छ भन्ने मान्यतामा रही हामीले खटेर काम गर्यौं। जिल्लाजिल्लामा गएर मान्छेलाई सम्झाएर हामीले काम गर्यौं। यस कार्यमा हामीलाई पत्रकारले धेरै सहयोग गर्नुभयो। सञ्चारको भूमिका निकै प्रशंसनीय भयो। कठिन समयमा पनि जनतालाई सुसूचित गर्ने काम पत्रकारले गरे। त्यो म बिर्सन सक्दिनँ।

निर्वाचन आयोगले गरेका काम कुरालाई जनतासम्म पुर्याउनुमा सञ्चार क्षेत्रको उल्लेखनीय योगदान छ। यस्तो काम सरकारको संयन्त्रभन्दा पहिले पत्रकारले गरेका हुन्। उनीहरूले जनतामा राम्रो सन्देश दिए। त्यसपछि सुरक्षा निकाय तथा नेपाल सरकार स्वयम् सबै मिलेर हामीले सफल पार्यौं। आयोगले गर्ने निर्णयमा हामी सबै हुन्थ्यौं, हाम्रो सामूहिक निर्णय हुन्थ्यो।

मैले नेपालको नेताहरूको असली चेहरा भारतमा बसेपछि मात्र चिनें। मेरो नेपाल यस्तो रहेछ भन्ने कुरा दिल्ली बसेपछि मात्र चिनें। तपाईंले मलाई गाली गर्नुहुन्छ होला यो कस्तो मान्छे रहेछ भनेर। नेपाल बस्दा नेपाल नचिन्ने? दिल्ली गएपछि नेपाल चिन्ने? हरेक मान्छेको स्वार्थ, लोभलालच यहाँ के थाहा छ र दिल्लीमा पो थाहा हुँदो रहेछ त। त्यहाँबाट पो देखिन्छ।

कसैले एक्लै निर्णय गर्न सक्दैनथ्यो। हामी त्यति बेला पाँच जना थियौं, पाँचै जना मिलेर काम गथ्र्यौं। मेरो त्यसबेला तीनवटा विशेष जिम्मेवारी थियो। त्योमध्ये एउटा थियो पर्यवेक्षकको। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू कति आउँछन्, उनीहरूलाई व्यवस्था गर्ने। निर्वाचन भयरहित वातावरणमा स्वतन्त्ररूपले शान्तिपूर्णरूपमा सम्पन्न गर्ने। दोस्रो काम अन्तर्राष्ट्रिय आर्थिक सहयोगको थियो। निर्वाचन गराएको सबै आर्थिक सहयोगले हो।

सरकारको केही पैसा र प्रशासनिक खर्च मात्रै हो। सारा चीज हामीले विदेशबाट सहयोगका रूपमा लियौं। तेस्रो चाहिँ मेरो काम भनेको तालिम सञ्चालन गर्नु। यस्तो चुनौतीपूर्ण अवस्थामा चुनाव गराउनु छ, निर्वाचनसम्बन्धी तालिम दिनु छ। माथिदेखि तलसम्म सबै जिल्लाका गाउँगाउँमा मान्छे तयार गर्नुथियो। मैले त्यसका लागि हरेक क्षेत्रका व्यक्तिसँग मिलेर काम गरेँ।

पुलिस, पत्रकार, पर्यवेक्षक, आम जनता सबैलाई कस्तो तालिम चाहिन्छ भनेर व्यवस्थापन गरियो। र निर्वाचन सम्पन्न गरियो। मैले बिर्सनै नसकिने एउटा नयाँ कुराको शुरुआत गरेको थिएँ। म निर्वाच आयुक्त भएको हुनाले कुनै राम्रो काम केही गरौं भन्ने ममा हुन्थ्यो। त्यसैले मैले पर्यवेक्षकले पैसा लिने, काठमाडौंमा सीमित भएर काम गर्ने, खटाएको क्षेत्र तथा दुर्गममा नजाने, गाउँमा नजाने, एउटा रिपोर्ट बनाउने पेस गर्ने र पैसा खाने।

कहीँकहीँ मन लागे सुविधाजनक ठाउँमा पोखरा विराटनगर गए, सकियो। मैले यो प्रवत्तिलाई हटाएँ। तपाईंको संस्था छ भने हिमाल, पहाड, मधेस सबै ठाउँमा जानुपर्छ। तीनै ठाउँमा जानुहुन्छ भने दिन्छु म नत्र भने तपाईं संस्थाका रूपमा नआउनु भनेँ। व्यक्तिगत रूपमा जानुहोस् भनेँ। मैले आफैंले पनि जिल्लाजिल्लामा गएर तालिम दिएँ। हिमालमा गएँ, पहाडमा गएँ, तराईमा गएँ, जहाँ पनि दुर्गममा गएँ। त्यहाँ गएर मान्छेलाई चिनाएँ।

ती ठगी खाने संस्थालाई तालिमको जिम्मेवारी दिइनँ मैले। त्यसैले त्यो चुनाव राम्रो भयो, सबैले हेर्न, बुझ्न पाए, रिपार्ट राम्रो आयो। यो नयाँ काम हो त्यसबेला मैले गरेको। मैले सरकारको नीतिभित्र रहेर अनावश्यक कागजपत्रमा हुने खर्चलाई कटौती गरेँ। अर्को चाहिँ तालिमको कुरा थियो।

निर्वाचनको कुरा थियो। म सार्ककै नमुनायोग्य चुनाव गराउन चाहन्थेँ। सिक्नु छ भने नेपालबाट सिक भन्ने सन्देश दिने खालको चुनाव गराउने योजना थियो। रेमिट्यान्सबाट चलेको देशमा विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था गराउने थियो।

अरबको प्रचण्ड गर्मीमा रहेका नेपालीको नोट चल्ने भोट नचल्ने व्यवस्थाको अन्त्य गर्ने चाहना थियो। विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्छ भनेर पहिलो आवाज उठाउने व्यक्ति नै म हुँ। म एजेन्डासहित ठोस तरिकाले यो काम गर्ने योजनामा थिएँ। त्यही बेला म रिटायर्ड भएँ, त्यो नमुनायोग्य चुनाव गराउन पाइनँ।

शाही नेपाली राजदूतावास र नेपाल सरकारकारको राजदूतावास प्रभाव र प्रशासनिक कामको सहजताका दृष्टिले कस्तो भिन्नता छ ?

यसमा ठूलो भिन्नता छ। पहिले प्रशासनका उद्देश्यमूलक कार्यक्रम हुन्थे। त्यसबेला मान्छेहरू जिम्मेवार हुन्थे। यदि काम भएन भने त्यसबेला दण्डित गरिन्थ्यो। निश्चित जिम्मेवारी बोकेर जान्थ्यो, पूरा गथ्र्यो, गर्न सकेन भने दण्डको भागीदार हुन्थ्यो।

सबै विभाग, मन्त्रालयमा समन्वय हुन्थ्यो। कसैले कहीं काम रोक्दैनथ्यो, जिम्मेवारीपूर्ण काम हुन्थ्यो र सम्पान गथ्र्यो। अहिले त्यो काम भागबन्डामा राजनीतिकरण गरिन्छ। कोहीकोहीसँग भयभित नहुने, कसैले कसैलाई वास्ता नगर्ने, यो देशको काम हो मेरो राष्ट्रको काम हो भनी देशको प्रेमले काम गरेको मैले पाएको छैन। देशलाई माया गरेर काम गर्नेको अभाव देखेको छु। यसले निकास दिनै सक्दैन।

उसो भए देशलाई निकास दिन के गर्नुपर्ला त ?

राजनीतिकरण नै हटाउन पर्छ। भागबन्डा गर्नुहुँदैन। कर्मचारीलाई राजनीतिसँग जोड्नुहुँदैन। अहिले हरेक कर्मचारी एउटा न एउटा पाटीमा छ। यसरी कहाँ देश चल्छ। म अहिले पनि कुनै पाटीमा छैन।

म देशको मान्छे हो, देशका लागि बोल्छु, देशका लागि गर्छु। राम्रो काम गर्ने गरेकोलाई राम्रो र नराम्रो काम गरेकोलाई नराम्रो भन्छु। कर्मचारीबाट जबसम्म राजनीति हट्दैन तबसम्म देश उँभो लाग्दैन। कर्मचारीलाई राजनीतिबाट अलगै राख्नुपर्छ।

नयाँ दिल्लीमा तपाईं नेपालको चिफ अफ मिसन भएर काम गर्नुभयो, अन्त पनि यस्तो जिम्मेवारी निर्वाह गर्नुभयो ? कहाँ कुन स्तरको कार्य दबाबको अनुभव गर्नुभयो ?

एकदम महत्वपूर्ण प्रश्न गर्नुभयो। हाम्रोमा डिप्लोम्याटिक क्षेत्र यस्तै चक्रमा घुमिरहेको छ। जुन मान्छे एउटा काम गर्ने भनेर जान्छ।उसलाई थाहै छैन यो काम कसरी गर्ने भनेर। उसले देशको कामभन्दा पनि आफ्नो व्यक्तिगत कामलाई बढी महत्व दिएको हुन्छ। काम नजानेपछि प्रेसर बढ्छ। त्यहाँको सरकारले हाम्रो मान्छेले भनेको कुरा मान्दैन। आफू कन्भिन्स हुन सक्नुपर्छ, राम्रोसँग दिएको जिम्मेवारीलाई पूरा गर्न अध्ययन गर्नुपर्छ।

मलाई त गारो भन्ने लाग्दैन। धेरै समयसम्म म भारतमा कार्यवाहक राजदूत भएर बसेँ। मैले नेपालको नेताहरूको असली चेहरा भारतमा बसेपछि मात्र चिनें। मेरो नेपाल यस्तो रहेछ भन्ने कुरा दिल्ली बसेपछि मात्र चिनें। तपाईंले मलाई गाली गर्नुहुन्छ होला यो कस्तो मान्छे रहेछ भनेर। नेपाल बस्दा नेपाल नचिन्ने? दिल्ली गएपछि नेपाल चिन्ने? हरेक मान्छेको स्वार्थ, लोभलालच यहाँ के थाहा छ र दिल्लीमा पो थाहा हुँदो रहेछ त।

त्यहाँबाट पो देखिन्छ। त्यति बेलासम्म त त्यही हो। अहिले त अलिकता चीनमा पनि गएको छ। अहिले हामी असफल भयौं भने अमेरिकामा पनि जान बेर छैन। हाम्रा नेता तथा कूटनीतिज्ञहरूले भारतसँग कसरी सम्बन्ध राख्ने भन्ने कुरामा ज्ञान राख्दैनन्।

भारतसँग सम्बन्ध आज बिग्रिएका कारण हामीलाई नै भारतसँग कसरी चल्ने भन्ने थाहै छैन। मैले कार्यवाहक राजदूत हुँदा भारका तीनजना प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध बनाइसकेको थिएँ। हामीसँग डिप्लोमेटिक स्किल छैन। भारत हामीसँग सन्तुष्ट छैन।

नेपालको कमजोरीले गर्दा भारत नै खतरा हुन सक्ला भनेर सशंकित छ। हामीले भारतलाई खतरामुक्त बनाउन सक्यौं भने भारत नेपालको सबभन्दा असल मित्र बन्न सक्छ। पहिले पनि थियो अहिले पनि बन्न सक्छ।

यहाँले अहिले चलिरहेको एमसीसीका बारेमा केही भन्न खोज्नुभएको हो ?

हो हो अवश्य पनि। योभन्दा अघि हाम्रो दुईटा मुद्दा थियो। भारतले के चाहन्थ्यो भने आतंकवादी भारतमा प्रवेश नगरोस्। काश्मीरलाई लिएर भारत सशंकित हुन्थ्यो। हाम्रो खुला बोर्डर भएको हुनाले त्यो हुन सक्छ। त्यसैले नेपालले यस विषयमा ध्यान दियोस् भन्ने थियो। आफ्नो अखण्डताका लागि एउटा छिमेकीले आशा पनि गर्छ, यो स्वाभाविक पनि हो। एक नम्बर कुरा नै यो हो।

त्यसपछि व्यापार बढोस् व्यापार होस् भन्ने चाहन्छ भारत। चीनसँग गडबड नहोस् भन्ने उसको मान्यता हो। अहिले अमेरिकाले एमसीसी राखिदियो। एमसीसी लिने कि नलिने लिएपछि हामीलाई के प्रभाव पर्छ, चीनलाई के प्रभाव पर्छ साथसाथै भारतलाई के प्रभाव पर्छ भन्ने कुरामा अर्थ छ।

चीनबाट आएको बीआरआईले के कस्तो प्रभाव पार्छ, सन्तुलन असन्तुल के हुन्छ। बीरआरआई आफैंमा राम्रो चीज हो तर स्टेपबाइस्टेप दिनुपर्छ। आफ्नो क्षमताअनुसार लिनुपर्छ। न कि भोलि गएर हामी ऋणको पासोमा नपरौं।

म यसको उद्देश्यमा सशंकित छैन। अब एमसीसीको कुरो आयो। अनुदान ठीक हो सडक बनाउने, बिजुली बनाउने कुरो ठीक हो। तर त्यसका सर्तहरू संसद्बाट पारित गराउने कुरा नै गलत हो। संविधान निषेध गरेको कुरा पारित गराउनु गलत हो।

तपाईंले पेरिसमा महारानीलाई अपमान गरेको भन्ने कुरामा केही सत्यता छ र ?

यसमा केही सत्यता छैन। म फ्रेन्च भाषा राम्रोसँग जानेको तथा पढेका कारणले पनि मैले दोभासेको काम पाएँ। रानीलाई साडी किन्नुपरेको रहेछ। पेरिसका गल्लीगल्ली चिनेको नाताले सपिङ टोलीमा म प्रमुख थिएँ। रानीलाई लिएर गएँ।

चिनेजानेको पसल थियो, साडी छान्दाछान्दै रानी लड्नुभयो। बीचमै मैले समाएँ। म नजिकै भएकाले लड्नबाट रानीलाई बचाएँ। ३२ जनाको टोली थियो। राजासँग जाने टोली सबैले त्यसबेला तक्मा पाए। मलाई मात्र दिइएन। मैले जसरी पनि पाउनुपर्नेमा उल्टै दिइएन। रानीलाई लड्नबाट बचाएको उपहार तक्माबाट वञ्चित हुनुपर्यो।

 

 

प्रतिक्रिया दिनुहोस्