हुलाकी लोकमार्ग तोकिएकै समयमा नबन्ने



डीबी बुढाथोकी, काठमाडौं।

राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन्।यो योजना आगामी २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा लक्ष्य पूरा हुने सम्भावना छैन।

राष्ट्रिय योजना आयोगको राष्ट्रिय गौरवको आयोजना प्रगति प्रतिवेदन २०७५/७६ ले आव २०७५/७६ सम्ममा भौतिक प्रगति ४४ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ४५ प्रतिशत मात्र देखाएको छ।

प्रतिवेदनमा निर्माण तथा स्तरोन्नति गर्नुपर्ने २ सय १९ पुलमध्ये ८१ वटा पुल र निर्माण गर्नुपर्ने १ हजार ७ सय ९३ किलोमिटर सडकमध्ये २ सय ७० किलोमिटर कालोपत्रे र ३ सय किलोमिटर ग्राभेले भएको उल्लेख छ। कुल सडकमध्ये ४ सय किलोमिटर सडक स्वीकृतिको प्रक्रियामै रहेको छ।

आयोजना प्रमुख रोहितकुमार विश्वास भन्नुहुन्छ– ‘अघि बढेका निर्माण कार्यमा खासै समस्या छैन। तर पनि कतिपय स्थानमा निकुञ्ज पर्दछन्। कतिपय स्थानमा ईआईएबाँकी नै छ। कतिपय सडक स्वीकृत भइसकेको छैन, त्यसैले समयमा पूरा नहुनसक्छ। तोकिएको समयमा पूरा हुन नसके समयसीमा संशोधन गर्नुपर्ने हुनसक्छ।’

हुलाकी लोकमार्गको प्रारम्भिक लागत ३५ अर्ब तय भएकोमा निर्माण भाका पटक–पटक सार्दै जाँदा पछिल्लो समयमा संशोधित लागत ४७ दशमलव २४ अर्ब तय भएको र अहिले ६५ अर्ब २० करोड पुगेको छ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका सूचना अधिकारी मोहन चापागाईं भन्नुहुन्छ– ‘आयोजना समयमा पूरा नहँुदा मूल्य वृद्धि हुनु अस्वाभाविक होइन। मूल समस्या राजनीतिक प्रतिबद्धता र हाम्रो कार्यशैलीमै छ। तर, काम अघि बढिसकेकाले अबउप्रान्त लागत वृद्धि त्यति नहोला।’

सूचना अधिकारी चापागाईंका अनुसार परियोजनाका लागि अहिले विनियोजित रकम न्यून छ। ‘सरकारले आगामी समयमा बजेट विनियोजन वृद्धि गर्छ। ऋण लिएर वा रकमान्तर गरेर पनि स्रोत अभाव हुन दिन्नँ। यो सरकारको नीति नै हो। हुलाकी लोकमार्ग ओली सरकारकै पालामा पूरा होला भन्ने मैले ठानेको छु।’ –चापागाईंले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्