खरिपाटी क्वारेन्टाइनमा सम्पूर्ण तयारी पूरा



पुष्कर बुढाथोकी, भक्तपुर।

चीनको वुहानबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्ने स्थानको क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण व्यवस्थापन र तयारी पूरा भएको सरकारले जनाएको छ।
चीनबाट ल्याइएका नेपालीलाई १५ दिनसम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने सरकारको योजना छ।

शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौंंका सहसचिव कुमार घिमिरेले नयाँसंरचनाको सम्पूर्ण व्यवस्था गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा र सरसफाइका पूर्वाधार व्यवस्थापनमा सघाएकाले ६ दिनभित्र नै सम्पूर्ण तयारी पूरा गर्न सकिएको हो। उक्त तालिम केन्द्रमा तयार पारिएका चारवटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ।

वुहानबाट आउन तयार रहेका १ सय ८५ नेपालीमध्ये ४४ महिला छन्। क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, ८ वटा टेलिभिजन र सबै ब्लकमा स्पिकर, तीनवटा वासिङ मेसिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, माक्स, औषधि, शौचालय मर्मत, तातोपानी, खाने शुद्ध पानीलगायत आवश्यक सामग्रीको व्यवस्था गरिएको छ।

यस्तै एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ। क्वारेन्टाइन वरिपरि जस्ताले बारिएको छ। त्रिभुवन विमानस्थल ल्याएपछि उक्त क्वारेन्टाइका तोकिएका कोठामा राखिनेछ। दुइवटा स्वास्थ्य टोली चौबिसै घन्टा रहनेछन्।

यसमध्ये नेपाली सेनाका क्याप्टेन डा.नवीन फँुयालको नेतृत्वमा नर्ससहितको टोली क्वारेन्टाइनभित्र र बाहिर नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली रहनेछ। सरकारले विभिन्न अस्पतालमा १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ। प्रत्येक दिन बिहान ब्रेक फास्ट, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ।

६ वटा खाना संकलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माइकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ। क्वारेन्टाइनबाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ।

क्वारेन्टाइनमा उनीहरूले प्रयोग गर्ने शौचालयको सेफ्टी टंकीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिन मुनि छुट्टै संरचना बनाइएको छ। चौबिसै घन्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ। क्वारेन्टाइनबाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घन्टा अनुगमन गरिनेछ।

चीनबाट फर्कने नेपालीलाई लिन जाने पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्विपरलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ।

सबै व्यवस्थापनका लागि सरकारको करिब ६ करोड रुपियाँखर्च हुने भएको छ। स्थानीय बासिन्दामा त्रास नहोस् भनेर आजसम्ममा नेपाली सेना वीर दल गणका गणपति कर्नेल शिव पौडेलसहितको संयुक्त सुरक्षा टोलीले जनचेतना अभिवृद्धि गरेका छन्।

स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ।

सरकारले कोरोना भाइरसको संक्रमण नभएका, स्वस्थ व्यक्तिलाई ल्याएर १५ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ प्रमाणित भएपछि घर फर्काउने भएकाले नआत्तिन र त्रासमा नरहन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद बिडारीले आग्रह गर्नुभयो।

क्वारेन्टाइनमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताउनुभयो। चीनबाट ल्याइने नेपालीमा भाइरसको संक्रमण नहुने दाबी गर्दै उहाँले अन्तर्राष्ट्रिय मान्यताअनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताउनुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थतिमा सम्पूर्ण नेपाली जनताको साथमा रहेको अवगत गराउँदै विशेष तालिम प्राप्त जहाजसहितको टोली चीनको वुहान पुगेको जनाएको छ।

नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान ४ जना स्वास्थ्यकर्मी, ३ पाइलट, ७ जना क्रुमेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर गरी १७ जनाको चिकित्सकसहितको टोली गएको हो।

नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ शुक्रबार अपराह्न उडेको विमानस्थल कार्यालयले जनाएको छ। विमानमा चीनबाट पुरुष १ सय ४३ जना, महिला ४२ जना र विदेशी नागरिक हुन्डुरसकी एक महिला गरी १ सय ८६ जनालाई चीनबाट आइतबार बिहान ३ बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याइपु¥याउने तयारी छ।

के के छन् नियम ?

वुहानबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १४ देखि १७ दिन वा आवश्यकताअनुसार सोभन्दा बढी दिन राख्न सकिनेछ।

  •  सम्पूर्ण उडान अवधिभर मास्क लगाउनुपर्नेछ।ल कसैलाई ज्वरो आउने, खोकी लाग्ने, श्वास–प्रश्वासमा अप्ठ्यारो हुनेजस्ता लक्षण देखिएमा जहाजका सदस्य वा स्वास्थ्य टोलीका सदस्यलाई जानकारी गराउनुपर्नेछ।
  • ल संक्रमित भएको शंका लागेका यात्रुहरूलाई जहाजको पछाडि र संक्रमित नभएकाहरूलाई जहाजको अघिल्लो ढोकाबाट बाहिर ल्याइनेछ। काठमाडौं विमानस्थलमा पाँचवटा हेल्थ स्वास्थ्य डेस्क राखिएका छन्। जहाजबाट उत्रने क्रममा एकआपसमा १ मिटरको दूरी कायम गरिनेछ।
  •  संक्रमिक रोगको आशंका गरिएका व्यक्तिहरूलाई तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमध्येकुनै एक अस्पतालको आइसोलेसन वार्डमा उपचारको लागि लगिनेछ।
  •  विमानस्थलबाट क्वारेन्टाइन केन्द्र खरिपाटी लैजान पाँचवटा वातानुकूलित बसकोव्यवस्था छ।
  •  क्वारेन्टाइनमा लगभग ६० कोठामा उचित दूरीको फरकमा एक जना देखि तीन जनासम्मको सामूहिक बसोबासको व्यवस्था छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ।
  •  अन्य जाँच गर्ने सामग्री जस्तैः इन्फ्रारेड थर्माेमिटर, स्व–जाँच गर्ने थर्र्मोिमटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुरा आवश्यक परेमा माग गर्न र रोगकोलक्षण देखिएमा तत्कालै जानकारी गर्न र सम्पर्क गर्नका लागि इमरजेन्सी फोन नम्बर आदिको व्यवस्था गरिएको छ। जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्काे जाँच १४ दिनमा गरिनेछ।
  •  क्वारेन्टाइनमा रहेका व्यक्तिहरू शंकास्पद लक्षण देदिएमा थप परीक्षण तथा उपचारका लागिशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ। क्वारेन्टाइनमा रहँदा अभिभावकहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाइने छैन।

प्रतिक्रिया दिनुहोस्