सुकुमवासी बस्ती हटाउन जमिनदार बन्दुक बोकेर पुगे



सुभेन्द्र दास, लहान ।

सिरहाको मिर्चैया नगरपालिका–५ का जमिनदार वीरेन्द्र साह पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टी जीवा खोला छेउमा आफ्नै जग्गामा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर हटाउन दुई नाले बन्दुकसहित पुगेका छन् ।

जमिनदार साह जग्गा खाली गराउन पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुनसक्ने भन्दै प्रहरी पठाए । अमिन ल्याएर र प्रक्रिया र्पुयाएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवालले बताए ।

बन्दुक लिएर बस्ती पुगेका साहलाई प्रहरीले प्रत्यक्ष भेटे पनि केही कारवाही गर्न सकेनन् । साहको तस्बिर सार्वजानिक भएपछि भने प्रहरी खोजतलासमा लागेको छ । साँझ मात्रै उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

‘साहले बोकेको बन्दुक लाइसेन्सबाला हो । उनलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गर्दैछौँ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले भने । जानकारी पाएलगतै साहलाई नियन्त्रणमा लिन प्रहरी खटाइएको सिरहाका एसपी चतुर्वेदीको भनाइ छ ।

जग्गाबाला साहले आफ्नो जग्गामा जर्वजस्ती बसोबास गर्दैआएकाहरुलाई प्रहरी प्रशासन गुहार्दा पनि सुनुवाइ नहुँदा आफैँ पुगेको बताए । तर आफूले बोकेको बन्दुक लाइसेन्सबाला भएको उनको भनाइ छ ।

स्थानीयका अनुसार उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायत जाति बस्दैआएका छन् । २०६२ सालमा पूर्व राजा ज्ञानेन्द्रकी बहिनी शोभा शाहसँग वीरेन्द्र साहले त्यहाँको ५ विघा १० कठ्ठा जग्गा खरिद गरेको दाबी गर्दै आएको छ ।

त्यसअघि जग्गा माओवादीले जनयुद्धको समयमा २०५५ सालमा कब्जा गरी सुकुम्बासी दलितहरुको बस्ती बसालेको थियो । ०६४ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमले खाली गर्न दिएको आदेश बमोजिम २ सय ५० जना प्रहरी परिचालन गरी सुकुम्बासीहरुको घर टहरा भत्काएका थिए । तर दाहालकै नेतृत्वकै सरकारका अर्का तत्कालिन भूमि सुधार तथा व्यवस्थामन्त्री मातृका प्रसाद यादवले घर भत्काएको अर्को दिन घर टहरा निर्माण गर्न लगाए ।

विवादका कारण मातृकाले भूमि सुधार तथा व्यवस्थामन्त्री पदबाट राजीनामा दिनुका साथै एकीकृत माओवादी पार्टी समेत त्यागेर नेकपा माओवादी पार्टी गठन गरेका थिए । त्यसपछि फेरि वीरेन्द्र साहले आफ्ना मानिस प्रयोग गरी ०६७ असार २२ गते जग्गा खाली गराएका थिए । त्यसबेला नै केही घर यथावत थिए ।

प्रतिक्रिया दिनुहोस्