बेलायती सेनाध्यक्ष आए नेपाल भ्रमणमा



न्युज अफ नेपाल, काठमाडौं ।

बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत अभिवादन गरे ।

नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेनाध्यक्ष स्मिथले भेट गर्नेछन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि उनले भेटवार्ता गर्ने बताइएको छ । बेलायती सेनाध्यक्ष स्मिथले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको अवलोकन तथा हवाईजहाजबाट नेपालका हिमालहरुको दृश्यावलोकन गर्नेछन् भने पोखराको पनि भ्रमण गर्नेछन् ।

नेपाली सेनाका अधिकृतलाई बेलायतले हरेक वर्ष विभिन्न प्रकारका सैनिक तालीम उपलब्ध गराइरहेको छ । हालसम्म ठूलो संख्यामा नेपाली सेनाका सकल दर्जाले यस प्रकारका तालीम प्राप्त गरिसकेका छन् । विश्व शान्ति स्थापना कार्यमा नेपाली सेना र बेलायती सेनाले कतिपय स्थानमा एक साथ मिलेर काम गर्दै आएका छन् ।

यसैबीच दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो । बेलायती गोर्खा सैनिक भर्नामा नेपालका लिम्बु, राई, गुरुङ, मगर समुदायका साहसिक र इमान्दार युवाको पहिलो रोजाइँ पर्दै आएको छ । बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरुप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ ।

बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ । सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुन लगाएको छ ।

हाल ३ हजार ५ सयको संख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन् । बेलायतले कम्तीमा वाषिर्क रुपमा १ सय ५० देखि आवश्यकताअनुसार ४ सय ५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ ।

बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकलाई बकिङ्घम राजप्रासादलगायतका महत्वपूर्ण र संवेदनशील स्थानको सुरक्षा जिम्मेवारीमा समावेश गरिँदै आएको छ ।

नेपाल र बेलायतबीच पुरानो, घनिष्ट र न्यायो सम्बन्धका सथै नेपालको लोकतन्त्र र आर्थिक विकासमा ठूलो सहयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्