गोल्डकपमा आयोजकको विजयी शुरुआत



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा शुरु भएको तेस्रो संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका विजयी भएको छ ।

प्रतियोगितामा आयोजकले सर्लाहीको बागमती नगरपालिकालाई १–० ले पराजित गरेको हो । खेल सुरु भएको १० मिनेटमै बागमतीका लागि बाबुराम माझीले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच गोलकिपर अमृत पाख्रिन भए । उनले नगद ५ हजार प्राप्त गरेका छन् ।

दोस्रो खेलमा आइतबार मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब र नवजागृति युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका जावलाखेल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साबिक विजेता सरस्वती युवा क्लब खेल्ने संयोजक अरुण बलले बताए ।

मोफसलका न्यू डाँफे, सिमराको नव जनजागृति, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज युनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्नेछन् । गोल्डकपमा एकसाथ प्यारापिट र खुला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्नसक्ने आयोजकले जनाएको छ ।

गोेल्डकप विजेताले नगद ६ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले ३ लाख हात पार्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

फागुन १० गतेसम्म हुने प्रतियोगिता हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्रांगणमा शुरु भएको हो । पहिलो बागमती गोल्डकपको उपाधि हरिहरपुर गाउँपालिका सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो । प्रतियोगिताका लागि गाउँपालिकाले ३५ लाख रुपियाँ सहयोग गरेको छ ।

प्रतियोगिता उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले खेलकुदलाई विकास र सम्बृद्धिसँग जोडेर लैजानुपर्नेमा जोड दिँदै यो काम बागमती गाउँपालिकाले गरेको भन्दै प्रशंसा गरे । उनले नेपाली खेलकुद क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको भन्दै यसलाई निरन्तरताका लागि आग्रह गरे ।

गृहमन्त्री थापाले यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न सकेको बताए । ‘मकवानपुरका खेलाडीले खेलको माध्यमबाट देशलाई अन्तराष्ट्रियस्तरमा चिनाएका छन्,’ उनले भने– ‘मकवानपुरका खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सक्दा खेल क्षेत्रमा भएको लगानीको प्रतिफल देखिएको छ ।’

स्वस्थ्य नागरिकबाट मात्र देश सम्बृद्धि हुने भन्दै उनले यसमा खेलकुदको योगदान रहेको बताए । खेलकुद विकास भएको देशमा नागरिक स्वस्थ्य हुने भएकोले नेपालले पनि खेलकुदमा लगानी गर्नुपर्ने उनको भनाइ थियो ।

खेलकुद संयोजक लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान प्रदेशसभा सदस्यत्रय कुमारी मोक्तान, मुनु सिग्देल र प्रेमबहादुर पुलामी, नेकपा केन्द्रीय सदस्य राजाराम वाग्ले, २ नम्बर प्रदेश सदस्य डिल्लीप्रसाद उप्रेती, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, गाउँपालिका उपाध्यक्ष धनमाया स्यांतान, बागमती प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख किशोरकुमार दाहाल, मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडा प्रहरी उपरीक्षक विकास घिमिरे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्