ठेकेदारलाई ‘अन्तिम’ मौका: गृहमन्त्री थापा



न्युज अफ नेपाल, हेटौंडा ।

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई सरकारले ‘अन्तिम’ मौका दिन लागेको बताउनुभएको छ । पूर्वी मकवानपुरको फापरबारीमा शनिबारदेखि सुरु बागमती गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण विकास निर्माण काम अवरुद्ध भएको भन्दै सरकारले अन्तिम पटक मौका दिन लागेको बताउनुभएको हो । उहाँले अन्तिम मौका दिँदासमेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो ।

नेपाल सरकारले महत्वसाथ हेरेको मदन भण्डारी राजमार्गमा बाँकी काम तत्काल पूरा गरी पुल निर्माणलाई छिटो तथा छरितो ढंगबाट सम्पन्न गर्न उहाँले निर्माण कम्पनीहरुलाई निर्देशन दिनुभयो ।

मकवानपुरको बागमती–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ जोड्ने बागमती खोलाको निर्माणाधीन पुल ९ वर्षयता अलपत्र छ । मदन भण्डारी लोकमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा) कालोपत्रेसहित सडक निर्माण भइसक्दा उक्त पुल कहिले बन्ने भन्ने यकिन छैन ।

पुल निर्माणको काम सुरु भएको ९ वर्षमा ३० प्रतिशतमात्र काम भएको छ । पुल बन्छ र बागमती तरेर वर्षात्मा सहजरुपले सीधै प्रदेश राजधानी हेटौंडा आउन पाइन्छ भन्ने स्थानीयको सपना अधुरै छ ।

पुल नबनेकै कारण जोखिम मोलेर बागमती नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । उक्त लोकमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन हिउँदमा जसोतसो खोला वारपार गर्छन् तर वर्षामा पारि जानसक्ने अबस्था हुँदैन । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको लोकमार्गको पुल नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

लोकमार्ग पश्चिमखण्ड आयोजना कार्यालय हेटौंडाका अनुसार उक्त पुल २०६८ असार २९ मा स्वच्छन्दभैरव निर्माण सेवाले २१ करोडमा पाँच वर्षमा सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको थियो ।

पुलका ११ स्पानमध्ये एउटा असारअगाडि सकिएको र हाल अर्को स्पानको काम जारी छ । निर्माण कम्पनीले भने २०७७ को जेठसम्ममा सक्ने प्रतिवद्धता जनाएको छ ।

गाउँपालिका अध्यक्ष सर्केश घलानले जिल्ला सदरमुकामबाट करिब ६० किलोमिटर दुरीमा रहेकोले इलाकास्तरका सरकारी निकाय स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष घलानले मदन भण्डारी राजमार्गमा परेको बागमती नदीमा निर्माणाधीन पुल करिब ९ वर्षदेखि अलपत्र परेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्