कांग्रेसमा गुट छाड्न विज्ञको सुझाव



सरोज यादव, विराटनगर ।

गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालिन रणनीति निर्माण सम्बन्धी अन्तर्क्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न नेताहरूलाई सुझाव दिएका हुन् ।

कार्यक्रममा प्राध्यापक बलराम पौडेलले कांग्रेसमा नेतैपिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तीले पार्टी कमजोर हुँदै गएको बताउनुभयो । परम्परागत र कर्मकाण्डी प्रबृत्तीले पार्टी चलाएर नहुने भन्दै दीर्घकालिन योजनाकासाथ अघिबढ्न उहाँको सुझाव छ । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राध्यापक शैलेन्द्र शिवाकोटीलगायतले पार्टीभित्रै पनि एउटा नेतालाई अर्को नेताले चुनाव जित्ला भन्ने डर हुनु दुखद भएको बताउनुभयो ।

कांग्रेसमा पद लिन लुछाचुडी गर्ने तर, पद पाएपछि जिम्मेवारी बहन नगर्ने प्रबृत्तीको अन्त्य गर्न पनि सहभागिहरूले सुझाव दिएका छन् । विभिन्न क्षेत्रका सुभेच्छुकहरूले दिएको सुझावका आधारमा भावि नीति तय गरेर अघि बढ्न कार्यक्रम आयोजना गरिएको नेपाली कांग्र्रेस मोरङका सचिव नागेश कोइरालाले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुलगायत प्राध्यापक, कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञसहित ३० जना सहभागी थिए । केन्द्रीय सदस्य अर्यालले कांग्रेसका नेताहरुलाई फसाउन सरकार योजनागत रुपमा लागेको र यसको साथ अख्तियारले दिएको बताउनु भयो । अर्यालले भन्नुभयो,‘‘कांग्रेसले स्थापित गराएका लोकतान्त्रिक मान्यतालाई नेकपाले ध्वस्त बनाउदै लगेको छ ।’’

प्रतिक्रिया दिनुहोस्