कृषिलाई उद्यमसँग जोडेर विकास गरिनेः मुख्यमन्त्री पोखरेल



यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिको पहिलो आधार कृषि भएकोले कृषिलाई उद्यमसंग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले कृषिमा आधुनकीकरण, व्यवसायिक विकास तथा बजारीकरणमा जोड दिँदै कृषिलाई उद्यमसँग जोडेर अंगाडी बढ्ने प्रदेश सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

प्रदेश पाँचको तेस्रो स्थापना दिवसको शनिबार बुटवलमा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको जानकारी गराउनु भयो ।

सोही अनुसार लगानीकालागि प्रदेश भित्रका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी समेत गराउनु भयो । उहाँले आगामी बैशाखमा प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी गराउँदै लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत हुने परियोजनामा समेत प्रदेश भित्रकै लगानी कर्ताहरु प्राथमकितामा राखिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पाल्पाली ढाका उद्योगलाई जिवन्तता दिनकालागि सरकारले सोंच बनाएको बताउँदै गुल्मीको कफिलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पनि सरकारले पुलको रुपमा काम गर्ने जानकारी गराउनु भयो । प्रदेशमा औद्योगिक बिकासका लागि तीन स्थान (रुपन्देही, दाङ् र बाँके)मा औद्योगिक क्षेत्र स्थापना गरिने बताउँदै अहिलेपनि यी क्षेत्रमा उद्योगमा लगानी बढीरहेको उल्लेख गर्नुभयो ।

सामुदायिक बिद्यालयको पठनपाठनमा गुणस्तर बृद्धि गरि प्राबिधिक शिक्षालाई अंगाडी बढाउने, स्थास्थ्य क्षेत्रको स्तर बृद्धिकालागि लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजना र राप्ती प्रादेशिक अस्पतालको स्तर बृद्धिमा सरकार लागेको उहाँले जानकारी गराउनु भयो । मुख्यमन्त्री पोखरेलले विपद व्यबस्थापनकालागि प्रदेश आफै सक्षम हुनेगरी प्रदेश तालिम केन्द्रको निर्माण गर्ने लक्ष्य लिईएको बताउनु भयो । प्रदेशको सुरक्षा बिधेयक ड्राफ्ट हुँदै गरेको जानकारी गराउँदै उक्त विधेयक आएपछि त्यो काम अंगाडी बढ्ने बताउनु भएको हो ।

मुख्यमन्त्री पोखरेलले अन्य प्रदेश भन्दा यो प्रदेश सबैकुरामा अंगाडी रहेको जानकारी गराउँदै चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा पुँजीगत खर्च १८ प्रतिशत भएको जानकारी गराउनु भयो । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी रहेको पनि उहाँले स्मरण गर्नुभयो ।

सोही अवसरमा प्रदेश सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकद्वारा ३५ जनालाई विभुषित गरिएको थियो भने साफ गेममा प्रदेशबाट सहभागि भई पदक विजेता खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । त्यस्तै प्रदेश स्थापना दिवसमा प्रदर्शन गरिएको झाँकीमा उत्कृष्ट प्रदर्शन गर्ने १३ समुहलाई क्रमवद्ध रुपमा पुरस्कृत गरिएको थियो ।

प्रदेश पदकबाट विभूषित हुनेहरु

प्रदेश पाँच सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकबाट विभिन्न क्षेत्रका ३५ जना व्यक्तिलाई विभूषित गरेको छ । प्रदेश स्थापना दिवसको अवसशमा शनिबार बुटवलमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई विभूषित गर्नुभएको थियो ।

पत्रकारिता र समाज सेवाको क्षेत्रमा योगदान पुराएको भन्दै नयाँ युगवोध दैनिक दाङका प्रधान सम्पादकका नारायणप्रसाद शर्मा रेग्मीलाई समाजसेवा श्री प्रथमबाट विभूषित गरिएको छ ।

समाजसेवा श्री द्वितीयबाट स्वर्गीय सम्सेरबहादुर खत्री (गुल्मी), स्वर्गीय हिमादेवी उपाध्याय दाङ्, अशोककुमार रोकाय क्षेत्री (बाँके) समाजसेवा श्री तृतीयबाट डा. लेखराज सुवेदी (प्युठान), घट्टप्रसाद अर्याल (पाल्पा), एजाज आलम (रुपन्देही) लाई विभूषित गरिएको छ ।

बुद्धशान्ति पदकबाट स्वर्गीय भिक्षु नावातामे (जापान), प्रदेश प्रमुख जनसेवा पदक प्रथमबाट मोदनाथ प्रश्रित (रुपन्देही), प्रदेश प्रमुख जनसेवा पदक द्वितीयबाट स्वर्गीय कृष्णसेन ईच्छुक (अर्घाखाँची), प्रदेश प्रमुख जनसेवा पदक तृतीयबाट स्वर्गीय सुर्यप्रकाश पुन र उहाँकी श्रीमती स्वर्गीय परम्परा गौतम (रुकुम पूर्व), प्रदेश प्रमुख जनसेवा पदक तृतीय भगौता थारु (दाङ) लाई विभूषित गरिएको छ ।

त्यस्तै मुख्यमन्त्री प्रज्वलदीप प्रथमबाट स्वर्गीय उत्तरकुमार वली (दाङ), प्रदेश सेवा समर्पण प्रथमबाट डा. तिर्थराज ढकाल, प्रदेश सेवा समर्पण द्वितीयबाट सुरेन्द्र अर्याललाई प्रदान गरिएको छ । प्रदेश रत्न प्रथमबाट महेश चौधरी (दाङ), प्रदेश रत्न द्वितीयबाट स्वर्गीय परमानन्द भण्डारी (गुल्मी), चुन्नुप्रसाद शर्मा (सिपी) (रुपन्देही), शशिधर शर्मा (रुपन्देही), प्रदेश रत्न तृतीयबाट डा. विष्णुराज आत्रेय (कपिलबस्तु), नर्बु लामा (रुपन्देही), बुद्धिबहादुर रायमाझी (अर्घाखाँची), चित्रकली बुढा (प्युठान), सोमपाल कामी (गुल्मी) विभूषित गरिएको छ ।

पुथा श्री शिखर द्वितीयबाट कृष्णलाल चौधरी बाँके, प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी बाणिज्य क्याम्पस (बुटवल), प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक बिद्यालय (गुल्मी), प्रजापती गौतमी तृतीयबाट पिमकुमारी गिरी (दाङ), भागिरथी घर्ती (रोल्पा), दंगीशरण बलिहाङ प्रथमबाट वेपत्ता सगुनलाल चौधरी (बर्दिया) तथा दंगीशरण बलिहाङ द्वितीयबाट स्वर्गीय जीतबहादुर थापा मगर (दाङ), दंगीशरण बलिहाङ तृतीयबाट एकराज चौधरी (बर्दिया), अब्दुल लतिफ सौफ (बाँके) र कौषलेन्द्र श्रीवास्तव (नवलपरासीलाई विभूषित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्