लिम्पीयाधुरासहितकोे नयाँ नक्सा बनाउँनुपर्छ– खनाल



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

पूर्वप्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले लिम्पीयाधुरासम्मकै भू–भाग समेटीने गरि नेपालको नयाँ नक्सा निर्माण गर्नुपर्ने बताउनुभएको छ । शनिबार नेकपा प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको ल्होसार बिशेष कार्यक्रममा सिन्धुपाल्चोक आउनुभएका खनालले अतिक्रमित भू-भाग फिर्ता ल्याएर नेपालको नक्सा निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

लिपुलेक, कालापानीसँगै लिम्पीयाधुरा नेपालकै भूमी भएको प्रष्ट पार्दै नेता खनालले अतिक्रमित भूमीसहितको नयाँ नक्सा बनाउनुपर्ने बताउनुभयो । ‘लिपुलेक र कालापानी मात्र हैन लिम्पीयाधुरा पनि हाम्रै भूमी हो’, उहाँले भन्नुभयो– ‘चाँडो भन्दा चाँडो लिम्पीयाधुरासम्मको भुभाग समेटीएको नेपालको नक्सा बनाउनुपर्दछ ।’

नेता खनालले चर्चामा रहेको एमसीसीबारे दश दिनभित्र निश्कर्षमा पुगिने बताउनुभएको छ । एमसीसीबारे खुला रुपमा उहाँले केहि बोल्नुभएन । तर पत्रकारको जिज्ञासामा खानालले दश दिनभित्र एमसीसीबारे टुंगोमा पुगिने खुलाशा भने गर्नुृभयो ।

एमसीसी सम्झौताबारे राष्ट्रब्यापी रुपमा आलोचना र चर्चा भइरहँदा नेता खनालले यसबारे अध्ययन भइरहेको भन्दै अहिले केहि बोल्न नमिल्ने बताउनुभयो । ‘एमसीसीबारे अहिले केहि बोल्न मिल्दैन, केहि दिनमै हामी अध्ययन प्रतिवेदन तयार गर्नेछौं’–उहाँले भन्नुभयो, –‘दश दिनभित्र अध्ययन गरिसक्नेछौं ।’

कार्यक्रममा बोल्दै नेता खनालले मुलुकबाट राजनीतिक सामन्तवाद उन्मुलन भइसकेको दावी गर्दै अब समाजबादको बाटोमा मुलुक अघि बढिरहेको बताउनुभयो । नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दै खनालले लोकतान्त्रिक, प्रगतिशील, देशभक्त भाव बोकेको र समाजबादीवादी लक्ष्य लिएको संविधान बनेको बताउनुभयो ।

पार्टी एकताका सन्दर्भ जोड्दै खनालले एकता प्रकिया टुंग्याउन कठिन भएको स्मरण समेत गर्नुभयो । ‘पार्टी एकीकरण भनेको सामान्य कुरा होईनरहेछ, मन र भावना मिलाउँन कठीन हुँदा एकता प्रकृया टुंग्याउनै दुई बर्ष लाग्यो’, खनालले भन्नुभयो । पार्टी ब्यक्तिका चाहनामा नभई विधान अनुसार चल्ने उहाँले बताउनुभयो ।‘ कमरेड केपी वली, प्रचण्ड वा झलनाथ खनालको चाहनामा हैन, पार्टी विधान अनुसार चल्नुपर्दछ’, –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्