प्रधानसेनापति म्याराथन सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिताशनिबार सम्पन्न भएको छ । शनिबार भएको उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा भएको नेपाली सेना जनसम्पर्क तथा सूचना विभागले जनाएको छ ।

म्याराथनमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गरेका थिए भने अन्य विधामा महिला तथा पुरुष दुवै खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी हाफ म्याराथनमा ४५ वर्षसम्म र ४५ वर्षमाथि उमेर समूहका धावकले सहभागिता भए । दश किमी दौडमा सैनिक सहचारी, सैनिक अधिकृत तथा गैरसैनिक धावकले सहभागिता जनाउनेछन् भने वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र विदेशीको सहभागिता रहेको थियो ।

त्यसैगरी पाँच किमी दौडमा सैनिक महाविद्यालय तथा उपत्यकाभित्र कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रछात्रा तथा सकल दर्जाका छोराछोरीको समेत सहभागिता रहेको थियो ।

सो प्रतियोगिताको छात्र तर्फको ५ किमी दौडमा ईश्वर चन्द्र बस्नेत, प्रविनराज अधिकारी र सविन राईले क्रमशः प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी, छात्रा तर्फ स्वेच्छा बलामी मगर, सुनिता श्रेष्ठ र रचना राना मगरले क्रमशः प्रथम, द्वितिय तृतिय स्थान हासिल गर्नुभएको थियो ।

सोही अवसरमा, पुरुष तर्फको १० किमी दौडमा नेपाली सेनाका सह सेनानी नवराज थापा, सह सेनानी अजय जंग सुवेदी र सेनानी चन्द्र बहादुर थापा क्रमशः प्रथम, द्वितिय र तृतिय हुनु भएको थियो । त्यसैगरी, महिला तर्फ सह सेनानी देवी पुन, सह सेनानी रश्मिला अर्याल र सह सेनानी सीता कुँवर क्रमशः प्रथम, द्वितिय र तृतिय हुनु भएको थियो ।

४५ बर्ष मुनि पुरुष तर्फको २१ किमी दौडमा तीर्थ पुन, नेपाली सेनाका अम खगेन्द्र भाट र नेपाली सेनाकै सि. दिपक अधिकारीले क्रमशः प्रथम, द्वितिय तृतिय स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, सोही विद्याको महिला तर्फ पुष्पा भण्डारी, राज पुरा पछाईं र नेपाली सेनाका अम विश्वरुपा बुढाले क्रमशः प्रथम द्वितिय र तृतिय स्थान हासिल गर्नु भएको थियो । उक्त २१ किमी दौडमा प्रथम, द्वितिय तथा तृतिय स्थान हासिल गर्नु हुने धावकहरुले क्रमशः ९५ हजार ५ रुपैया, रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो ।

४५ वर्ष माथिको २१ किमी विधामा धर्म महर्जन, भीम बहादुर गुरुङ र भिमसेन अवालेले क्रमशः प्रथम, द्धितिय र तृतिय हुन सफल भई नगद पुरस्कार क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, म्याराथन प्रतियोगितामा नेपाली सेनाका जम. होमलाल श्रेष्ठले २ घण्टा २२ मिनेट १७ सेकेण्डमा दौड पूरा गर्नु भई प्रथम स्थान हासिल गर्नु भएको थियो भने नेपाली सेनाका जम। कृष्ण बस्नेत द्वितिय र नेपाली सेनाका प्युठ नवराज साउदले तृतिय स्थान हासिल गर्नु भएको थियो ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले म्याराथनमा प्रथम हुनुहुने नेपाली सेनाका जम. होमलाल श्रेष्ठलाई रु १ लाख २५ हजारको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भएको थियो भने द्वितिय, तृतिय, चौथो, पाँचौ, छैठौ र सातौँ स्थान हासिल गर्न सफल हुनु भएका धावकहरुलाई समेत प्रधानसेनापति थापाले क्रमशः रु ६५ हजार, रु ३५ हजार, रु २५ हजार, रु १५ हजार, रु १० हजार र रु ७ हजार तथा मेडल र प्रमाण पत्रसमेत प्रदान गर्नुभएको थियो । साथै प्रथम हुनुहुँने जम। श्रेष्ठले पुरस्कार स्वरुप यामाहाको मोटरसाईकल समेत प्राप्त गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल सरकारका सचिवहरु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरु, अखिल नेपाल फूटबल संघका प्रतिनिधिहरु, विभिन्न बैंकका प्रतिनिधिहरु, एनसीसी क्याडेट तथा प्रतिनिधिहरु, खेलकुद पत्रकार मञ्च, सञ्चारकर्मीलगायत विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्