नेपाली विद्यार्थी लिन चीनतर्फ उड्यो नेपाल वायुसेवा निगमको विमान



न्युज अफ नेपाल, काठमाडौँ ।

चीनमा कोरोना भाईरसको महामारी फैलिएपछि नेपाल सरकारले चीन सरकारसँग चार्टर उडानको अनुमती लिई कोरोना फैलिएको आसपासमा अध्ययनरत बिद्यार्थीहरुलाई लिन शनिबार दिउँसो ३ बजेर ५० मिनेटमा नेपाल एरलाईन्को जहाज पठाएको छ । विद्यार्थीहरुलाई शनिवार राती अर्थात् आईतबार बिहान नेपाल ल्याउने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हाे ।

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको हुवेई प्रान्तमा रहेका १ सय ८५ जना नेपालीलाई उद्धार गर्न सरकारले नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी विमान पठाएको स्वास्थ्य मन्त्रालयले विमानस्थमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विमान चीन पुगेको २ घण्टाभित्रै नेपालीहरुलाई लिएर उड्ने तयारी भैरहेको छ । सम्भवत नेपाली टोली बोकेको बिमान आइतबार बिहान सम्म काठमाडौ पुग्नेछ । उता चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको बेइजिङस्थित नेपाली दूतावासले गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विमानमा नेपालबाट ४ जना नेपाली सेनाका स्वास्थ्यकर्मी, ३ पाइलट, ७ जना क्रु मेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहेका छन् । त्यसमा चिकित्सक, नर्स, प्यारामेडिक्स सहितको टोली रहेका छन् । पाइलट देखि स्वास्थ्यकर्मी सबैले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) को प्रयोग गर्नेछन् । बुहानबाट काठमाडौ पुग्न ५ घण्टा लाग्नेछ । उडानमा सवार सबैले चालक दल र स्वास्थ्यकर्मीको निर्देशनको पालना गर्ने र कुनै समस्या आएमा तुरुन्त जानकारी गराउन निर्देशन दिएका छन् ।

चीनबाट ल्याइने नागरिकलाई खरीपाटीस्थित क्वारेन्टाइनसम्म लैजान पाँचवटा बस र पाँचवटा एम्बुलेन्स प्रयोग गरिन्छ । चीन गएका स्वास्थ्यकर्मीहरु खरीपाटीमा पनि उनीहरुको हेरचाहमा खटिनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी, पाइलट लगायतको टोलीलाई तालिम दिईसकेको र आउँदै गरेका नागरिकलाई पनि निर्देशनात्मक सन्देश पुरयाएको जनाएको छ ।

चीनबाट ल्याइने टोलीमा ४४ महिला रहेका छन् । महिलाहरुका लागि एउटा पुरुषहरुका लागि दुईवटा भवनको व्यवस्थापन गरिएको छ । साथै चिकित्सकको टोली फरक भवनमा बस्ने व्यवस्था गरिएको छ । त्यसैगरी विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा अन्तराष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन एरिया अनुसार बस्ने व्यवस्था गरेको स्वास्थ्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्