सडक निर्माणका लागि महाभारत गाउँपालिकालाई ४९ करोड ३८ लाख बजेट विनियोजन



मोतीराम तिमल्सिना, काभ्रे ।

वागमती प्रदेशले रोशी गाउँपालिका वडा नंम्वर ९ पिन्थली ररजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तीनकुट्टे देवीटार घर्तीछाप देखि गोकुलेसम्मको सडकका लागि ४९ करोड ३८ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित पछि १ सय २५ किलोमिटर नयाँ ट्रयाक खोलेको छ भने सबै वडाहरुमा पुग्ने सडक सञ्चालनमा ल्याएको छ ।

विकट क्षेत्रका रुपमा चिनिएको महाभारत गाउँपालिकामा यस अघि विशेष अनुदानबाट ९५ लाख रुपैया खर्च गरी मुल सडक निर्माण गरिरहेको छ । तिनखुट्टे खोलाघारी देखि घ्याम्वरिङ्ग जोड्ने मुल सडक ५० मिटर ट्याक खोल्न बाँकी छ । साढे १० किलो मिटर सडक उक्त रकमबाट निर्माण भएको छ । गोकुले जाने सडक गल्टारबाट महादेवटार हुँदै घर्तिछापबाट ८ मिटर फराकिलो पार्ने गरी ५० लाखमा स्तरोन्नती भएको छ । राङचा उठाउने गाताबेशी हुँदै गोकुले जाने सडक स्तरोन्नतीका लागि ७० लाख खर्च भएको छ ।

भुवनेश्वरी आधारभुत विद्यालय घुँडे बेतिनी बनखु सडकका लागि २० लाख खर्च भएको छ । विद्यालयसम्म सडक नपुगेकै कारण गौरी निमावी वडा नम्वर ५ र दिब्यज्योती प्राथमिक विद्यालयको भवन पुर्नर्निमाण हुन सकेको छैन । विद्यालय भवन निर्माणका लागि ४ घण्टाको दुरीमा सामान बोकेर लगेको विद्यालयमा शौचालय निर्माण हुन सकेको छैन । पूर्वाधारका हिसावले विद्यालय पहिलो नम्वरमा निर्माण भईरहेको छ । ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुविधा सुचारु, गाउपालिकाको लागी १६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराई कार्यालय भवन निर्माण, ८ सय ७५ निजी आवास पुर्ननिर्माण, ३८ वटा विद्यालयका पक्की भवन निर्माण, केही निर्माणाधीन, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण तथा बाँकी निर्माण चरणमा, खुल्ला दिसा मुक्त र साक्षर गाउँपालिका घोषणा, ईलाका प्रहरी कार्यालय निर्माण, प्रहरी चौकीहरु निर्माण, वडा कार्यालय निर्माण, सवै वडाहरु कच्ची सडक संजालले जोडिएको र १ सय २५ किलोमिटर नयाँ कच्ची सडक निर्माण, २०७७ मंसिर भित्र गाउपालिका केन्द्रीय विधुतीकरण प्रशारण लाईन जोडि उज्यालो तर्फ उन्मुख भईरहेको छ । वडा ३, ४ र ५ मा बत्ति बाल्ने कार्य शुरु भएको छ ।

४९ करोड ३८ लाख रुपैयाबाट पहिलो वर्ष आर्थिक वर्ष २०७६/२०७७ मा ४ करोड रुपैया उक्त सडकका लागि खर्च हुनेछ । तीन वर्ष उक्त सडकलाई ब्यवस्थित र १२ महिना संचालन हुने गरी निर्माण गर्न आर्थिक वर्ष २०७७/२०७८ मा २५ करोड खर्च हुनेछ भने अन्तिम वर्ष २०७८/२०७९ मा २० करोड ३८ लाख खर्च हुनेछ । निरन्तर कार्य हुने उक्त सडक निर्माण पछि महाभारत गाउँपालिकाका हरेक वडामा सहज रुपमा सवारी साधन संचालन हुनेछ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले लगातार उक्त सडक निर्माण्का लागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्दै आउनु भएको थियो । जिल्लाबाट निर्वाचित सांसदहरुले पनि उक्त क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका थिए ।

विकटताबाट समृद्ध तर्फ उन्मुख महाभारत गाउँपालिकामा जनप्रतिनिधिहरुको उपस्थितीले पूर्वाधार निर्माणमा फड्को मारेको छ । सडक, खानोपानी, सरकारी संयन्त्रका पूर्वाधारहरु, इलाका प्रशासन, वडा कार्यालय, स्वास्थ्य क्षेत्रमा समेत गाउँपालिकाले प्रदेश र संघ सरकारको समन्वयमा प्रभावकारी रुपमा कार्य अगाडी बढाएको छ ।

साविक बुढाखानी गाविसको कार्यालय निर्माणका लागि तत्कालिन पुर्वाधार कार्यालयले खर्च गरेको ४० लाख रुपैया बालुवामा पानी सरह भयो । उक्त अलपत्र भवनलाई छाडेर सोहि स्थानमा अहिले प्रदेश सरकारको विशेष अनुदान मार्फत वडा कार्यालय निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले वडा नम्वर २, ३, ५ र ७ को वडा भवनका लागि जनही ४४ लाखका दरले रकम विनियोजन गरेको छ । सोहि कोषबाट गाउँपालिकाले अस्थायी संरचनाका लागि प्रि फ्यावको ४ वटा ४ कोठे भवन निर्माण गरेको छ । गाउँपालिकाले जिल्ला समन्वय समितिको कोषबाट प्राप्त रकम र गाउँपालिकाको साझेदारी कोेषबाट वडा नम्वर १,४,६ र ८ नम्वर वडा कार्यालय निर्माण गर्नेछ । चालु वर्ष भित्रै सबै वडाहरुको भवन निर्माण कार्य सम्पन्न गर्ने गरी गाउँपालिकाले बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । केहि वडा कार्यालयका भवनहरुको निर्माण कार्य सम्पन्न भई सकेको छ भने केहिले निर्माण कार्य शुरु गरेका छन् । केन्द्र सरकारको ७० प्रतिशत अनुदान र गाउँपालिकालको ३० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न ५ करोडको भवन निर्माण हुँदैछ ।

सडक सञ्जाल जोडिएसँग डाँडापारीका महाभारत गाउँपालिकमा उत्पादन हुने दुध, दुधजन्य सामाग्रीहरु, खसि बोका, स्थानीय स्तरमा उत्पादन भएका कुखरा लगायतका अन्य अन्नपात, तरकारी, विउ विजनहरु सहज रुपमा शहरमा प्रवेश गर्न थालेका छन् । जसका कारण बैदेशिक रोजगार एकमात्र बिकल्प भएको महाभारतका सबै वडाहरुमा सडक सञ्जालकै कारण रोजगारको अवसर सिर्जना भएको छ ।

विकटतामा रहेको महाभारत समृद्धसँगै सुगमतातिर बढिरहेको छ । बस सेवा नियमित संचालनमा आएका कारण अधिकांशलाई सहज भएको छ । गाउँपालिकाले एम्बुलेन्स सेवालाई पनि प्राथमिकतामा राखेको अध्यक्ष जिम्बाले बताउनु भयो । झण्डै एक अर्ब बराबरको विद्युत्तिकरणको कार्य पनि शुरु भएको छ । ‘महाभारत गाउँपालिकालाई कसरी सुगम बनाउने भन्ने गाउँपालिकाको विशेष योजना र प्राथमिकताका साथ कार्य भईरहेको छ’–गाउँपालिका कान्छालाल जिम्बाले भन्नुभयो–‘प्रदेश सरकारले उपलब्ध गराएको उक्त रकमले समयमै सडक निर्माण गरी पक्कि सडक निर्माणमा सहजता थपिदिएको छ ।’

सडक नहुँदा सदरमुकाम आउन झण्डै तीन दिन लाग्ने गरेको थियो । संघियताको पूर्ण अभ्यास र सिंहदरवार स्थानीय तहमा गएको आभाष महाभारत गाउँपालिकामा अनुभुत भएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्