बेनी नगरपालिकाद्वारा पदक विजेता खेलाडीलाई सम्मान



प्रताप बानियाँ, म्याग्दी ।

गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक विजेता खेलाडीलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर साग प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

म्याग्दी जिल्ला स्थायी घरभई खेलकुद विधा अन्तर्गत विभिन्न खेलमा सहभागी भएर पदक जित्ने म्याग्देली खेलाडीहरुलाई सम्मान गरिएको हो । भलिबल प्रतियोगितामा रजतपदक विजेताद्वय राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाही, खेलाडी कमला पुन, उसु प्रतियोगितामा रजतपदक विजेता विन्दु पुन र भारोत्तोलनमा कास्यपदक विजेता तारादेवी पुनलाई जनही १५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी शाही, मंगला–२, बाबियाचौरकी पुन, मालिका–३, रुमकी कमला र अन्नपूर्ण–७, हिस्तानकी तारादेवीलाई गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सम्मान गरेका थिए ।

नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागी भई खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च प्रशंसासहित उनीहरुलाई सम्मान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्