नगरकोटमा प्रहरी र स्थानीयबीच ढुङ्गा हानाहान, सञ्चारकर्मीमाथि अभद्र व्यवहार



न्युज अप नेपाल, भक्तपुर ।

चाँगुनारायण नगरपालिका वडा न. ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा आज प्रहरी र स्थानीयबिच झडप भएको छ ।

चीनको वुहानमा रहेका नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको बिरोधमा स्थानीयबासीले बिरोध गर्दै आज गरेको आन्दोलनमा प्रहरीसंग झडप भएको हो ।

खानेपानीको कार्यालयमा बनाएको क्वारेन्टाइनमा राख्न लागेको भन्दै त्यसको बिरोधमा नाराजुलुस गरि खानेपानी कार्यालयमा अवरोध गर्दै सडक बन्द गराई टायर बालेर विरोध गरेपछि झडप भएको वडा नं. ६ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्गले बताउनुभयो ।
प्रहरीले उनीहरुलाई रोके पछि आक्रोसित भएका स्थानीयले सडक बन्द गराई बिरोध गरेपछि प्रहरीले रोक्न बल प्रयोग गर्दा झडप भएको र ढुङ्गा हानाहान भएको उहाले बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुग्दा बिरोध भईरहेको थियो । स्थानीयले एक सातादेखि बिरोध गर्दै आएको र आज पनि दिनभरी नै बिरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताउनु भयो ।

सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको र दुबैतर्फ सामान्य घाइते भएको उहाँले बताउनुभयो ।त्यसपछि आज साँझसम्म भएको छलफलमा पनि समस्या समाधान नभएको बताएको छ । प्रहरी र प्रजिअ होमकला पाण्डेले छलफल गर्दा पनि स्थानीयले बिरोध गरिरहेका थिए । स्थानीयवासीले सरकार र जनप्रतिनिधिको बिरोध समेत गरेका छन् ।

सञ्चारकर्मी माथि अभद्र व्यवहार, तस्विर लिन रोक

भक्तपुरको खरिपाटी भएको ‘रिहर्सल’ को तस्विर र भिडियो लिन गएका संचारकर्मीहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले रोक लगाउनुको साथै अभद्र व्यवहार गरेका छन् । संचारकर्मीलाई प्राधिकरणको मूल गेटबाटै रोक लगाउनुको साथै संचारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र संचारकर्मीबिच निकैबेर घम्साघम्सी चलेको थियो । संचारकर्मीले बिरोध गरेपछि क्वारेन्टाईन स्थल अगाडिसम्म प्रवेश गरेपनि क्वारेन्टाईनको तस्विर लिनभने रोक लगाईएको थियो ।

संचारकर्मीले सरकारको तयारीकाबारेमा जानकारी दिन पनि तस्विर र भिडियो आवश्यक छभनेर माग गर्दा पनि रोक लगाईएको थियो । संचारकर्मीलाई रोक लगाएको र प्रवेशमा निषेध गर्दै अभद्र व्यबहार गर्नु खेदजन्य रहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“संचारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने ? जनताले कस्तो ठाउँमा चीनबाट ल्याईएकालाई राखिदै छ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम गरेको छ, यसले सरकारको तयारीबारे शंका जन्माएको छ ।” सुरक्षाकर्मीले संचारकर्मी माथि गरेको अभद्र व्यबहारको संचारकर्मीहरुले बिरोध गरेका थिए । प्रहरीले पत्रकारलाई समाचार सम्प्रेषणमा ब्यबधान गर्न खोजेपछि पत्रकार र प्रहरीबीच केहीबेर तनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्