गुरिल्ला म्याराथनको उपाधि दुर्गाराजलाई



मनिषा केसी, रुकुम

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित तेस्रो मौराखारा खुला गुरिल्ला म्याराथनको उपाधि मुसिकोटका दुर्गाराज बुढा मगरले हात पार्नुभएको छ । गाउँपालिकाको कार्यालय परिसरबाट शुक्रबार बिहान १० बजे शुरु भएको ४६ किलोमिटरको म्याराथन दौड ४ घण्टा ५४ मिनेट २५ सेकेन्डमा पुरा गर्दै बुढाले उपाधि जित्नुभएको हो ।

उहाँले सानीभेरी गाउँपालिकाका अर्जुन बस्नेतलाई ६ मिनेट अन्तरले पछि पार्दै उपाधि जितेको आयोजकले जनाएको छ । दोस्रो स्थान हासिल गरेका बस्नेतले ५ घण्टा ५ सेकेन्डमा दौड पुरा गरेको बताईएको छ । त्यस्तै गोरखाका भिम गुरुङ्गले तेस्रो स्थान हासिल गर्नुभएको छ । उहाँले ४६ किलोमिटरको दौड ५ घण्टा ५ मिनेटमा पुरा गर्नुभएको हो । उपाधि विजेता बुढालाई ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र ३५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै महिला तर्फको म्याराथन दौडतर्फको उपाधि जुम्लाकी सुनमाया बुढाले जित्नुभएको छ । उहाँले ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको हो । बुढाले २ घण्टा ५७ मिनेटमा दौड पुरा गरेको आयोजकले बताएको छ । त्यस्तै प्यूठानकी हुमी बुढाले ३ घण्टा ९ मिनेटमा दौड पुरा गरेर दोस्रो स्थान हासिल गर्नुभएको छ । तेस्रो स्थान भने सानीभेरी गाउँपालिकाकी रुपा नकालले प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । महिला तर्फको दोस्रो र तेस्रो हुनेले क्रमशः ३५ र २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा मौराखारा गुरिल्ला म्याराथनमा ३७ जना महिला र ५२ जना पुरुषले सहभागीता जनाएका थिए । सानीभेरी गाउँपालिकाले विगत ३ वर्षदेखि जनयुद्ध दिवसको अवसरमा उक्त म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्