पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



प्रताप बानियाँ, म्याग्दी ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले सङ्घीयताको कार्यान्वयनसँगै पछिल्लो समय खेलकुद ग्रामीण क्षेत्रसम्म पुगेको बताएका छन् । उनले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि गण्डकी प्रदेश सरकारले ‘एक स्थानीय तह, एक खेलकुद मैदान’को अवधारणा अगाडि सारेको बताउँदै खेल क्षेत्रले राष्ट्रियताको समेत प्रतिनिधित्व गर्ने भएकाले व्यवस्थित बनाउनुपर्ने बताए ।

सदस्य केसीले हिमाली जिल्ला म्याग्दीमा भौगोलिक विकटताका कारणले गर्दा खेल क्षेत्रको विकासमा समस्या भैरहेको बताउँदै स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले देश बदलिएर नयाँ परिवेशमा प्रवेश गरेको भन्दै पछिल्लो समय गाउँ, टोल, शहर तथा बजारमा खेलकुदजन्य गतिविधिहरु बढ्दै जान थालेको बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले खेल प्रतिभाको पहिचानका लागि नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउँदै प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खेलकुदको मर्यादाभित्र रहेर खेल खेल्न खेलाडीहरुलाई सुझाव दिएका छन् । उनले एम्पायरको निर्देशन अनुसार अनुशासितपूर्वक खेलमा आफ्नो प्रतिभा देखाउन आग्रह गर्दै विद्यार्थीहरुले अध्ययन सँगसँगै खेलकुद, मनोरञ्जन र अभिभावकलाई सघाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले खेलकुदले एकापसमा मित्रताको भावना विकास गराउने हुँदा अनुशासनलाई ध्यानमा राखेर खेल खेल्न अनुरोध गरेका छन् । बेनी नगर कार्यपालिका सदस्य एवं प्रतियोगिता उपसमिति संयोजक कृष्णकुमार विश्वकर्माले उद्घाटनसत्रमा आइपुग्दा आंशिक सफल भैसकेको हुँदा सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले खेलकुदमा निरन्तर रुपमा लागेमा सफलता हासिल गर्न सकिने बताएकी छिन् ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षता, प्रवक्ता रामकृष्ण बराईलीको स्वागत र शाखा अधिकृत युवराज थापाको सञ्चालमा प्रतियोगिताको उद्घाटनसत्र सम्पन्न भएको थियो । आगामी तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बेनी नगरपालिका भित्रका २४ ओटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टका खेलहरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेतालाई क्रमशः नगद ५० हजार, ३५ हजार र २० रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगद तीनहजार पाँचसय र उत्कृष्ट खेलाडीलाई दुईहजार पाँचसय रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाइएको छ । यसैबीच प्रतियोगिता अन्तर्गत भलिबलतर्फ जयन्ती मावि भकिम्ली र माउण्ट एभरेष्ट आवासीय मावि बेनीबीच उद्घाटन खेल खेलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्