प्रधानद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा



नेपाल समाचारपत्र, विराटनगर। 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ। उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा प्रधानको गृहनगर विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको हो।

आगामी चैत २८ गते हुने महासंघको निर्वाचनका लागि प्रधानले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशीलगायतको उपस्थितिमा उम्मेदवारी घोषणा गर्दै प्रधानले भन्नुभयो–‘मेरो उम्मेदवारी महासंघलाई सबल, सक्षम र उद्योगी व्यवसायीको अभिभावक संस्था बनाउन हो।’ महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन्।

आगामी चैत अन्तिम सातादेखि हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले महासंघको नेतृत्व सम्हाल्नेछन्। देशभरका उद्योगी व्यवसायीको भावनालाई समेटेर महासंघलाई गर्व गर्न लायकको संस्था बनाउने प्रधानले उद्घोष गर्नुभयो। उहाँले केही व्यक्तिका कारण विगत एक दशकयता महासंघको भूमिका कमजोर भएको बताउनुभयो।

महासंघमा आफूले २६ वर्षभन्दा बढी समय खर्च भइसकेको बताउँदै प्रधानले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको समेत प्रस्ट पार्नुभयो। उद्योगी व्यवसायीका हरेक समस्यामा आफूले साथ दिएको बताउँदै भन्नुभयो–‘तपाईं उद्योगी व्यवसायी यही हुनुहुन्छ। तपाईंलाई समस्या पर्दा राति पनि उपस्थित भएको छु। हामीलाई विश्वास गर्नुहोस् १० वर्षमा नभएको काम हामी शेखर गोल्छाकै कार्यकालमा गरेर देखाउँछौं।’

घोषणासभामा पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघको केन्द्रीय सदस्यहरूको तर्फबाट देवकुमार श्रेष्ठ, जिल्ला उद्योग वाणिज्य संघका तर्फबाट धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, आयोजक संस्था उद्योग संगठनका भीम घिमिरे, पूर्वअध्यक्ष सुशील धनावत, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहलगायतले महासंघलाई बलियो बनाउन साढे दुई दशकभन्दा लामो अनुभव बटुलेका प्रधानलाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिनुभयो।

घोषणासभामा ७ वटै प्रदेशका ३५ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यस्तै उपस्थित हुन नसकेका २९ वटा जिल्ला नगर उद्योग वाणिज्य संघले पठाएको प्रतिबद्धतापत्रसमेत पढेर सुनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्