मनकामना दर्शन प्रालिद्वारा १० लाख सहयोग



गोरखा नगरपालिका– ६ स्थित तीनधारेमा पुनर्निर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिले १० लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेशबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गर्नुभएको हो।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलोपटक स्थापना भएको पुस्तकालय हो। पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो।

भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाउँमा नयाँ भवन निर्माण कार्य भइरहेको छ। भवन दुई तलाको ढलान सम्पन्न भइसकेको छ। गोरखामा जन्मिएर राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्