पीएसजी सेमिफाइनलमा



लन्डन, (एजेन्सी)

फ्रेन्च लिग वान क्लब डिजोनलाई आधा दर्जन गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ।बुधबार राति भएको खेलमा पीएसजीले डिजोनलाई उसैको घरेलु मैदानमा ६–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

पीएसजीका लागि पाब्लो सारावियाले दुई गोल गर्दा क्लियन एम्बाप्पे र थियागो सिल्भाले समान एक–एक गोल गर्दा दुई गोल भने उपहार पाएको थियो। घरेलु टोलीका लागि मुनिर चोउएरले गरेको गोल फर्काएका थिए। खेलको पहिलो मिनेटमा नै पीएसजी डिजोनका वेस्ली लोउटोओले आत्मघाती गोल गरेपछि पीएसजीले शुरुआती अग्रता लिएको थियो।

तर खेलको १३औं मिनेटमा मुनिर चोउएरले बराबरी गोल गर्दै डिजोनललाई खेलमा फर्काएका थिए। खेलको ४४औं मिनेटमा क्लियन एम्बाप्पेले गोल गरेपछि पीएसजी पहिलो हाफसम्म २–१ ले अघि रहेको थियो।

त्यस्तै ५०औं मिनेटमा पाब्लो सारावियाको पासमा कप्तान थियागो सिल्भाले गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए। त्यसपछिको दुई गोल पाब्लो सारावियाको नाममा रह्यो। ५५औं मिनेटमा सारावियाले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो।

८६औं मिनेटमा सिनोउ कोउलीवालीले आत्मघाती गोल गरेपछि पीएसजीले ५–१ ले अघि बढेको थियो।
९०औं मिनेटमा सारावियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए। अर्काे क्वार्टरफाइनलमा लियोनले मार्सेलीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्