मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन



बैतडी (नेस)।

बैतडीका तीन वटा स्थानीय तहमा मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्य मन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको हो।

कार्यक्रम सञ्चालन हुने स्थानीय तहमा रहेका जेष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। उक्त कार्यक्रम सञ्चालन हुने पालिकाहरूमा एकजना हेल्थ असिष्टेन्ट अथवा स्टाफ नर्स राखेर जेष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने छ। उहाँले भन्नुभयो( कार्यक्रम सञ्चालन भएका पालिकाको एउटा स्वास्थ्य संस्थालाई केन्द्र बनाएर सोही ठाउँबाट जेष्ठ नागरिकहरूका लागि औषधि वितरण गरिनेछ।”

कार्यक्रम अन्तर्गत उपचारात्मक सेवाका साथै जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफलहरू पनि सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले जेष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग मिल्ने प्रमुख भट्टको भनाई छ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बैतडी सहित प्रदेशका ९ वटै जिल्लाका २९ स्थानीय तहमा यो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्