दिपायल विमानस्थल कालोपत्रेको काम सकियो



SONY DSC

विमल बिष्ट, डोटी।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल बिमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ। बिमानस्थलमा कालोपत्रेको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाल लगायतको काम सञ्चालन भैरहेको छ।गएको वर्षको असार महिनामा सक्ने लक्ष्य सहित बिसं २०७४ सालमा निर्माण कार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रेको काम बल्ल अहिले आएर सकिएको हो। बिमानस्थलको कालोपत्रेको काम सकिएर बाँकी अन्य धावन मार्गको पर्खाल,तार जाली लगाउने काम सुरु भएको बिमानस्थल कालोपत्रेको जिम्मा पाएका सप्नाग्याल्भा तथा भेबी कन्टूकसनका साईड प्रमुख राजेन्द्र विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो, “ हामीले बिमानस्थलको पिचको काम सकेका छौँ, धावन मार्गकाकाम पनि केही दिनमा सक्नेछौँ।” बिमानस्थलहरूमा रनवे रेखाङ्कन लगायतका कामहरू सुरु भएको उहाँले जानकारी दिनुभयो।दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम समयमै नसकिएको भन्दै स्थानीय स्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रेको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो।

उहाँले भन्नुभयो, “एकवर्ष पहिले सकिनु पर्ने काम अल्पात्र पारेपछि हामीले स्थानीय स्तरबाट दबाब दिएका कारण कालोपत्रेको काम सकिएको हो,अरु धेरैकाम गर्न बाँकी नै छ, सम्बन्धित निकाएले समयमै ध्यन दिनु जरुरी छ।”नेकपाका डोटीबाट निर्वाचत संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल बिमानस्थल कालोपत्रेकोका लागि बजेट विनियोजन गरेको थियो। करिब साढे ५ करोडको लागनीमा दिपायल बिमानस्थल कालोपत्रे तथा स्तरोन्नतीको काम सप्नाग्याल्भा तथा भेबी कन्टूक्सनले जिम्मा लिएको छ।

निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरीक उड्यन प्राधिकरणले समयमै म्याद नथप्दा बिमानस्थल निर्माण कार्य ढिला हुँदै आएको स्थानीयबासीको आरोप छ।
बिगतमा लक्ष्य अनुसार काम नहुँदा कालोपत्रेको काम सुरु नभएर यो बिमास्थलको काम अलपत्र परेको थियो। अहिले बल्लआएर कालोपत्रेको काम सकिएपछि यहाँका स्थानीयहरू बिमानस्थल सुचारु हुनेमा निकै खुसि भएको दिपायल पिपल्लाका स्थानीय तथा पूर्व डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो।

उहाँले भन्नुभयो, “बिमानस्थलको काम अलपत्र पर्छकी भन्ने सोचेका थियौँ,अहिले पिचको काम सकिएको छ, अब त प्लेन चल्ला की ?” बिमानस्थल कालोपत्रे संङ्गै वरीपरिको जमिन सम्म पार्ने,बिमानस्थल भवनमा रङ रोगन लगाउने र गेट निर्माणको काम पनि सुचारु भैरहेको छ।दिपायल संङ्गै कालोपत्रे निर्माण सुरु गरिएको अछाम जिल्लाको साँफेबगर बिमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परिक्षण उडान समेत भै सकेको छ। उता बैतडीको पाटन बिमानस्थलको कालोपत्रेको कामपनि सम्पन्न भैसकेको छ।

सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम सकिएपछि जहाज चल्ने आसामा त्यहाँका स्थानीय पनि खुसि भएकाछन्। नेपाल नागरिक उययन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा बिमानस्थल कालोपत्रेको काम सुरु गरिएको थियो।डोटीको दिपायल र बैतडीको पाटन सहितका दुईवटा बिमानस्थलहरू निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रहरूमा पर्यटक भित्रयाउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायल पिपल्लाका होटेल व्यवसायि नन्दनसिंह कार्कीले बताउनुभयो।

उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्लाका दुई बिमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको आफै बिकास हुने छ।”दिपायल बिमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकिय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान लगायतका क्षेत्रमा पर्यटकहरू भित्रयाउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायि कृष्ण महराले बताउनुभयो। उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्लाहरू पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकोका ठाउँहरू हुन्, बिमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुने छ।”

प्रतिक्रिया दिनुहोस्