अदालतमा मुद्दाको चाप अत्यधिक



पर्वत, (नेस)।

गत वर्षदेखि नयाँ फौजदारी र देवानी संहिता लागु भएपछि पर्वत जिल्ला अदालतमा मुद्दाको चाप बढेको छ।गत वर्षबाट लगत सरेर आएका मुद्दाहरूको चाप चालु वर्षका नयाँ मुद्दाको संख्या अत्यधिक बढेको अदालतले जनाएको छ। अदालतले चालुवर्षका ६ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्म भएका मुद्दाहरूको स्थिति, फस्र्यौट र जरिवानाको बारेमा पत्रकारलाई एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको हो।

अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले अदालतमा रहेको मुद्दाका प्रकृतिका बारेमा जानकारी दिनुभयो। तहसिलदार आचार्यका अनुसार चालु वर्षको ६ महिनाको अवधिमा ४ सय ६ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका थिए। तीमध्ये २ सय १३ मुद्दा फस्र्यौट भई १ सय ९३ मुद्दा फैसला गर्न बाँकी रहेका छन्।

अदालतमा दुनियाँवादी देवानी मुद्दा २ सय ६८ वटा रहेकोमा १ सय २८ वटा फस्र्यौट भई १ सय ४० वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेका छन्। दुनियाँवादी फौजदारीका ७७ मुद्दा आएकोमा ४० फस्र्यौट भएका छन् भने ३७ वटा बाँकी रहेका छन्। सरकारवादी ५९ वटा मुद्दा रहेकोमा ४३ फस्र्यौट भई १६ वटा बाँकी रहेका छन्।

अदालतमा पुनरावेदन सम्बन्धी १ र निषेधाज्ञा सम्बन्धी १ मुद्दा रहेकोमा दुबै फस्र्यौट भएका छन्। अदालतका अनुसार चालु वर्ष सम्बन्ध विच्छेदका १ सय ३० मुद्दा दर्ता भएका थिए। तीमध्ये पुरुषले दिएको सम्बन्ध विच्छेदका मुद्दा ६४ थिए भने महिलाले दिएका ६६ थिए। ७४ मुद्दा फस्र्यौट भएका छन् भने फस्र्यौट गर्न बाँकी ५६ रहेका छन्। अदालतका न्यायाधीश सूर्यबहादुर थापाले अदालतमा अरू मुद्दाका तुलनामा धेरै रहेको बताउनुभयो।

सम्बन्ध विच्छेदका मुद्दाहरू मेलमिलापमा टुंग्याउन प्रयास गर्दै आएको थापाले बताउनुभयो। थापाका अनुसार चालु वर्ष १३ जना जोडीको मेलमिलाप भएको छ।जिल्ला अदालतका स्रेस्तेदार जीवनकुमार पौडेलले चालु वर्ष ७८४ वर्ष ५ महिना १२ दिन कैदको दायित्व रहेकोमा ३० वर्ष ७ महिना ५ दिन फस्र्यौट भएकोमा ७५३ वर्ष १० महिना ७ दिन बाँकी रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्