मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको काउन्टर



काभ्रे, (नेस)।

मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा राष्ट्रिय वाणिज्य बंैक धुलिखेल शाखाको एक्स्टेन्सन काउन्टर शुभारम्भ गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले काउन्टरको उद्घाटन गर्नुभएको थियो।

बैकको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले सेवाग्रहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैकको सेवालाई प्रभावकारी बनाउन सुझाव दिनु भयो।बैकसँगै मालपोत कार्यालयको सेवालाई अझै प्रभावकारी हुने उहाँको भनाइ थियो।

मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले मालपोत कार्यालय काभ्रेलगायत मुलुकका १ सय २६ वटा कार्यालयले अनलाईन सेवा सुरु गरेकाले सेवाग्रहीलाई अझै गुणस्तरीय सेवा प्रदान गर्न बैंक काउन्टर शुभारम्भ गरेको बताउनुभयो।

राष्ट्रिय वाणिज्य बैकले मालपोत कार्यालयमा उपलब्ध हुने रोक्का, लिखत, श्रेस्ता प्रतिलिपि, दस्तुर, घर कायम दस्तुर, संशोधन दस्तुर, नामसारी, हाल साबिक, कित्ता एकीकरण, पूँजीगत लाभकर, न्यायिक दस्तुर, धरौटी, अग्रिम आयकरलगायतका विभिन्न शीर्षकमा असुल गर्नु पर्ने राजस्व संकलन गर्नेछ। मालपोत कार्यालय काभ्रेबाट दैनिक सरदर ४०÷४५ लाख राजस्व असुल हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्