जब सेनाको गोलीले मारिएका थिए १९ माओवादी



नेपाल समाचारपत्र, हेटौंडा।

२०६० माघ २२ गते राति तत्कालीन विद्रोही माओवादीका कमान्डर कृष्णबहादुर तिरुवा (मुक्ति), बासु लम्साल (विकास), वीरबहादुुर थोकर, लक्ष्मी चापागाईं, गीता बिक, किरण बर्ताैला, हीरा मुक्तान, राजकुमार घलान, सुकुमाया बल, तेजनारायण पाण्डे (राजु), हीरा सुबेदीलगायत नेता÷कार्यकर्ताको तत्कालीन शाही नेपाली सेनाले गोली हानेर हत्या गरेको थियो।

सेनाले हत्यापछि घरनजिकको खोल्सामा शवहरू फेला परेको थियो। स्थानीय हीरालाल बलको घरमा बास बसेका माओवादीमाथि सेनाले आक्रमण गर्दा बलकी ८० वर्षीया आमाको समेत मृत्यु भएको थियो।

नेकपा माओवादीको एरिया कमिटीको बैठक सकेर नेताहरू बलको घरमा सुतेका थिए। तत्कालीन हत्याको घटना सम्झेर हाल पनि स्थानीय झस्कन्छन्। गाउँ नै दुर्गन्ध हुने गरी मानिसका शव कुहिएको अवस्थामा अधिकांश गाउलेले महिनौंसम्म गाउँ छाडेका थिए।

यिनै दर्दनाक घटनाको सम्झना गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले तत्कालीन नेकपा माओवादीका १९ जना नेता÷कार्यकर्ताको हत्या भएको स्थल मनहरी गाउँपालिका–२ को भिमानसहित नेता÷कार्यकर्ता मारिएको स्थानमै पुगेर श्रद्धाञ्जलिसभा गरेको छ।

नेकपा मकवानपुरको आयोजनामा २५ औं जनयुद्ध दिवस मनाइएको हो। मकवानपुरगढीमा रहेको तत्कालीन माओवादीका कमान्डर रुद्र पाख्रिन स्मृति पार्क, बकैयामा रहेको रुद्रशान्ति वाटिका र मनहरीको भिमानमा पुगेर जनयुद्ध दिवस मनाइएका हुन्।

सभामा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद् कुमारी मोक्तान, प्रदेश कमिटी सदस्य÷बागमती प्रदेश सांसद् ओमबहादुर घलान (प्रदीप), जिल्ला सचिव एवम् बागमती प्रदेश सांसद् प्रेमबहादुर पुलामी (छिन्तु), संविधानसभा सदस्य राजाराम स्यांतान, नेकपा नेता बद्रीप्रसाद लम्साललगायतको सहभागिता थियो।

जनयुद्ध दिवसको अवसरमा बलको घरमा आयोजना भएको श्रद्धाञ्जलिसभामा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद् मोक्तानले शहीदको बलिदानले गणतन्त्र प्राप्त भएको भन्दै शहीदलाई बिर्सन नहुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्