अवैध उत्खननका कारण सिंगो बस्ती जोखिममा



सरोज यादव, मोरङ।

मोरङको ग्रामथान गाउँपालिकाको लोहन्द्रा खोलामा मापदण्डविपरीत उत्खनन भइरहेको फेला परेको छ। जथाभावी गरिएको उत्खननका कारण त्यस क्षेत्रको सिंगो बस्ती जोखिममा परेको छ।ग्रामथान गाउँपालिका ४ मोतीपुर र बेलबारी नगरपालिकाको सिमाना भएर बग्ने लोहन्द्रा खोलामा मापदण्डविपरीत गिट्टी–बालुवा उत्खनन भइरहेको फेला परेको छ। उत्खननका कारण खोलाको सतहका साथै खोला क्षेत्रमा ८ फिटभन्दा बढी गहिरो खाडल परेको छ। सतह गहिरो भएका कारण खोलाले छेउछाउका कृषियोग्य जग्गाहरू कटान गर्न थालेको छ।

खोलाले कटान गर्न थालेका कारण आफूले ५ बिघा क्षेत्रफलमा लगाएको जंगलसमेत कटानमा पर्ने अवस्था सृजना भएको स्थानीय प्रकाश सरदारले बताउनुभयो। मापदण्डविपरीत उत्खनन नगर्न आग्रह गर्दा उत्खननमा संलग्न व्यक्तिहरूले धम्क्याउने गरेको उहाँको भनाइ छ।

दिन बिराएर जेसिबी प्रयोग गरी खोलाको सतह खनेर गिट्टी बालुवा निकालेर थुपार्ने अनि ट्रयाक्टर तथा ट्रिपरबाट ओसार्ने गरिएको स्थानीयले जानकारी दिएका छन्। उत्खननका कारण भोला चोकको छेउसम्मै आइपुगेको पैनी, सार्वजनिक बाटो र ११ लाख बढी रकममा निर्माण गरिएको आर्यघाटको संरचना कटानमा पर्ने जोखिम बढेको स्थानीयको भनाइ छ।
सतह गहिरो भएका कारण चौपायालाई चरनमा लान र खोला वारपार गर्दा डुब्ने खतरासमेत बढेको स्थानीय भगवती चौधरीले बताउनुभयो।

उता उत्खननमा खटिएका संजोग माझीले आफूहरूले नियमसंगत तरिकाले नै गिट्टी–बालुवा निकालेको दाबी गर्नुभयो। वडा कार्यालयको सिफारिसकै आधारमा ४ फिट मात्रै उत्खनन गरिएको उहाँको भनाइ छ।

खोला उत्खननका विषयमा प्रतिक्रिया दिंदै ग्रामथान–४ का वडाध्यक्ष बैजनाथ विश्वासले बेलबारी, सुन्दर हरंैचा र ग्रामथान गाउँपालिकाले संयुक्त रूपमा त्यस क्षेत्रमा खोला ठेक्का लगाएको जानकारी दिनुभयो। बस्तीलाई असर नपर्ने गरी खन्ने अनुमति दिइएको बताउनुहुँदै उहाँले मापदण्डविपरीत भएको गुनासो आएपछि तत्काल उत्खनन रोकिएको दाबी गर्नुभयो।

खोलामा क्षेत्र निर्धारण नगरी जथाभावी खन्दा गहिरो खाडलमा परी नुहाउन पुगेका एकजना बालकको गत वर्ष मृत्यु भएको स्थानीयले बताएका छन्। सो घटनामा मृतकका अभिभावकलाई उत्खनन गर्ने समूहले नै क्षतिपूर्ति दिएर घटना सामसुम पारेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्