खुशीको चाहना र प्राप्ति



प्रेम रावत
यदि तपाईं वास्तविक खुशी चाहनुहुन्छ भने त्यो तपाईंभित्रै प्राप्त हुनेछ, बाहिर होइन। बाहिर तपाईं जे–जे गरिरहनुभएको छ, त्यो अर्कै कुरा हो। अनि, तपाईंभित्र जे छ त्यो अर्कै कुरा हो। बाहिर चाहे जोसुकैले, जस्तोसुकै काम गरोस्, त्यसमा सुख पनि छ र दुःख पनि छ। समाजले हाम्रो दिमागमा के कुरा भरिदिएको छ भने, हामीसँग जागिर भएपछि, हामीसँग पैसा भएपछि, हामीसँग कार भएपछि, हामीसँग यो भएपछि, त्यो भएपछि मात्रै खुशी हुनेछौँ।
यदि तपाईं त्यस घरको अभिभावक वा घरको प्रमुख हुनुहुन्छ भने तपाईंको परिवारमा सबैलाई खुशी राख्ने जिम्मेवारी पनि तपाईंकै रहन्छ। तर, तपाईं खुशी हुनुभएपछि मात्रै अरू सदस्यहरू खुशी हुनेछन्। यो एकदमै आवश्यक कुरा हो। यदि तपाईं आपैm नै खुशी हुनुहुन्न भने अरूलाई कसरी खुशी बनाउन सक्नुहुन्छ ?
जसरी एउटा बलेको मैनबत्तीको सहायताले हजारौँ मैनबत्तीलाई बाल्न सकिन्छ तर पनि त्यसको प्रकाश घट्दैन, त्यसै गरी एक–अर्कासँग खुशी बाँडेर खुशी कहिल्यै कम हुँदैन। खुशी परिवारबाट प्राप्त हुन्छ। सर्वप्रथम त परिवारका सदस्य खुशी हुनुपर्छ। यदि परिवारका मान्छेहरू खुशी छैनन् भने परिवारमा कहिल्यै खुशी प्राप्त हुन सक्दैन।तपाईंको परिवारसँग खुशी बाँड्ने तपाईंका लागि एउटा मौका प्राप्त भएको छ। जसरी तपाईं आफ्नो परिवारमा खुशी बाँड्न सक्नुहुन्छ, त्यसरी अर्को कसैले पनि बाँड्न सक्दैन। तपाईंको परिवारलाई तपाईंको आवश्यकता हुन्छ।
तर, तपाईंको आवश्यकता कति छ, तपाईंसँग कति प्रेम छ भनेर परिवारमा प्रायः यस कुरालाई व्यक्त गरिँदैन। कोही अरूलाई ‘गुड मर्निङ’ (शुभ प्रभात) या ‘धन्यवाद’ भनाँै–नभनौँ तर आफन्तलाई अवश्य भन्ने गरौँ।

अरू कुरा होओस् या नहोओस्, यो त हरेक दिन हुनुपर्दछ। परिवारमा मानिसले यस कुरालाई बुझून र आफ्नो प्रेमलाई केवल महसुस मात्रै होइन व्यक्त पनि गरून्। यदि तपाईं त्यस घरको अभिभावक वा घरको प्रमुख हुनुहुन्छ भने तपाईंको परिवारमा सबैलाई खुशी राख्ने जिम्मेवारी पनि तपाईंकै रहन्छ।

तर, तपाईं खुशी हुनुभएपछि मात्रै अरू सदस्यहरू खुशी हुनेछन्। यो एकदमै आवश्यक कुरा हो। यदि तपाईं आफै नै खुशी हुनुहुन्न भने अरूलाई कसरी खुशी बनाउन सक्नुहुन्छ ? म आफू खुशी छु भने मात्र म आफ्नो खुशीलाई अरूसँग बाँड्न सक्छु। तर, यदि म दुःखी छु भने म खुशीलाई कसरी बाँड्न सक्छु र  ! दुःख मात्रै त बाँड्न सक्छु। त्यसैले सबैभन्दा पहिला आफ्नो हृदयलाई खुशीले भर्नुहोस्।

तपाईंको परिवार छ। तपाईंका साथीहरू छन्। परिवारसँगको सम्बन्ध त मृत्युपश्चात् पनि रहिरहन्छ। तर, तपाईंको कुनै मित्र कतै गए। त्यसपछि तपाईंसँग उनको केही सम्पर्क छैन, कुनै कुराकानी भइरहेको छैन भने हुन सक्छ बिस्तारै–बिस्तारै तपाईं उनलाई बिर्सनुहुनेछ। तथापि आमा हुनुहुन्छ या बुबा हुनुहुन्छ भने उहाँहरू त मृत्युपश्चात् पनि आमा या बुबा नै हुनुहुनेछ। यो तपाईंको परिवारको कुरा हो।
चाहे हामी जतिसुकै दुःखी होऊँ, त्यतिखेर पनि खुशी हामीभित्रै छ। तपाईंभित्रबाट खुशी अन्त कतै जाँदैन। प्रकाश अँध्यारोबाट कति टाढा हुन्छ र ⁄ प्रकाश आएपछि अँध्यारोलाई हटाउन कति समय लाग्छ ? तपाईंको खुशी पनि तपाईंसँगै छ। दुःखलाई हटाउनका लागि खुशी तपाईंभित्रै छ। त्यसलाई तपाईं महसुस गर्न सक्नुहुन्छ।

यसलाई परिवारका हरेक व्यक्तिले याद गर्नु आवश्यक छ। हुन सक्ला, कुनै कुराको कमी पनि होला। तर, केही पनि कमी नभएको कुनचाहिँ त्यस्तो चीज होला र ? सबै चीजको आफ्नै महत्व छ। जस्तै– तपाईं आँपको रुखसँग लिचीको अपेक्षा गर्न सक्नुहुन्न। भिन्डीको बोटमा तपाईं टमाटर पाउनुहुन्न। तर, यसको अर्थ भिन्डीको महत्व नै हुँदैन भन्ने पनि त होइन।

जसरी रुखले कहिल्यै भन्दैन– ‘यो मेरो फल हो।’ त्यसले अरूकै लागि नै फल फलाउँछ। परिवारमा पनि यो कुरा हुनुपर्दछ। ‘यो मेरो छोरो हो, यी मेरी छोरी हुन्, म यिनीहरूलाई सहयोग गर्न सक्छु ताकि यिनीहरू अघि बढून्। उन्नति, प्रगति गरून्।’ यदि परिवारमा आमा–बुबा आफै खुशी छैनन् भने छोराछोरी पनि कसरी खुशी रहन सक्लान् र ?

छोराछोरी खुशी छैनन्, परिवार खुशी छैन भने समाज कसरी खुशी हुन सक्छ र ? समाज खुशी भएन भने शहर खुशी हुँदैन। शहर खुशी भएन भने देश खुशी हुँदैन। देशमा खुशी छैन भने पृथ्वीवासीमै बेखुशी हुन्छ। त्यसकारण हामी आफै खुशी हुनु अति आवश्यक छ, जसले गर्दा यो संसारमा खुशी एवम् शान्तिस्थापना हुन सकोस्। खुशी र शान्त रहनका लागि आफूले आफैलाई चिन्नु अत्यन्तै आवश्यक हुन्छ।

तपाईं को हुनुहुन्छ ? आफूले आफूलाई चिन्नुहोस्। आफूले आफूलाई पहिचान गर्नुहोस्। किनभने जो तपाईं हुनुहुन्छ, जे तपाईंभित्र रहेको छ, त्यो एकदमै सुन्दर चीज छ। यदि तपाईं आफूले आफैलाई चिन्नुभयो भने त तपाईं एउटा फूल हुनुहुन्छ। त्यसको बासना सारा संसारमा फैलन सक्छ।
के कुरालाई बुझ्नुपर्छ भने, चाहे हामी जतिसुकै दुःखी होऊँ, त्यतिखेर पनि खुशी हामीभित्रै छ।
तपाईंभित्रबाट खुशी अन्त कतै जाँदैन। प्रकाश अँध्यारोबाट कति टाढा हुन्छ र ⁄ प्रकाश आएपछि अँध्यारोलाई हटाउन कति समय लाग्छ ? तपाईंको खुशी पनि तपाईंसँगै छ। दुःखलाई हटाउनका लागि खुशी तपाईंभित्रै छ। त्यसलाई तपाईं महसुस गर्न सक्नुहुन्छ।

एउटा कथा छ। एकजना गरिब मानिस थिए। उनी हरेक समय सृष्टिकर्तासँग प्रार्थना गर्ने गर्थे। एकदिन सृष्टिकर्ताले उनीसामु आएर ‘तिम्रो इच्छा के हो’ भनेर सोधेछन्। उनले सृष्टिकर्तासँग धेरै धन–सम्पत्ति माग गरे। जसबाट उनको जीवन राम्रोसँग चल्दै गयो।

केही समयपछि उनलाई घर पनि राम्रो हुनुपर्छ भन्ने भयो। उनले फेरि प्रार्थना गरे अनि उनको घर पनि निकै राम्रो भयो। उनलाई फेरि लाग्यो, अब विवाह गर्नुपर्छ, उनले फेरि प्रार्थना गरे। केही दिनमै एउटी सुन्दर युवतीसँग उनको विवाह पनि भयो।

केही वर्षको अन्तरालमा उनको परिवार पनि ठूलो हुँदै गयो। यसै गरी उनको जीवन बितिरहेको थियो। तर पनि, कतै न कतै उनलाई केही चीजको कमी भएको महसुस भने भइरहेकै थियो, केही चीजको खोजी भने रहेकै थियो। सबै कुरा हुँदाहुँदै पनि उनी अशान्त थिए।

एवम् क्रममा उनी वृद्ध भए। अनि, सृष्टिकर्तासँग विन्ती गर्दै उनी भन्छन्– ‘सबै कुरा प्राप्त भयो, तैपनि जीवनमा एउटा अधुरोपना छ। मैले बुझेँ, शान्तिविना अरू सबै कुरा निरर्थक हुने रहेछन्। अब त मेरो एउटै मात्र इच्छा छ, मलाई केवल शान्ति दिनुहोस्, भगवान्  ! मलाई यति धेरै अवसरहरू प्राप्त भए तर मैले तपाईंसँग सांसारिक सुख मात्र मागिरहेँ। आज मलाई महसुस भयो– मेरो पहिलो आवश्यकता पनि शान्ति नै थियो र आज पनि मलाई शान्ति नै चाहिएको छ।’

सृष्टिकर्ताले भने, ‘जीवनमा तिमीले सबै आवश्यकतालाई त बुझ्यौ तर शान्तिको आवश्यकतालाई बुझ्न सकेनौ। यदि पहिला नै शान्ति मागेको भए त जीवनभरि यो अधुरोपना रहने थिएन।’

हामी पनि जीवनमा शान्ति चाहन्छौँ। हामी के सोच्छौँ भने, हाम्रा सबै कार्यहरू सफल भएपछि मात्रै हामीलाई शान्ति प्राप्त हुन्छ। यद्यपि वास्तविक सुख–शान्ति हामीभित्रै छ। यदि सृष्टिकर्ताले मानिसमा सुखको प्यास लगाएका छन्, आनन्दको प्यास दिएका छन् भने त्यो सुख, त्यो आनन्द मानिसभन्दा टाढा छैन। उसैसँग छ।

अनि, त्यसलाई मानिसले अनुभव गर्न सक्छ। तपाईंको आँखाले, मेरो आँखाले, सबैको आँखाले– अरू सबैको अनुहारलाई त देख्न सक्छौँ तर आफ्नै अनुहारलाई भने देख्न सक्दैनौँ। आफ्नै अनुहारलाई हेर्नका लागि हामीलाई ऐनाको आवश्यकता पर्छ। शान्ति नै यस्तो एउटा मात्र ऐना हो, जसद्वारा हामीले आफूले आफूलाई चिन्न सक्छौँ र आफ्नो जीवनमा वास्तविक खुशी प्राप्त गर्न सक्छौँ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन। संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल।)

प्रतिक्रिया दिनुहोस्