पिनास हुनबाट बचावट र उपचार



पिनासले धेरैलाई सताउने गर्छ। पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ। साइनोसाइटिस भनेको नाकवरिपरिका पिनास ग्रन्थिहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो। यी साइनस ग्रन्थिहरू नाकको वरिपरिका हड्डीमा पाइने हावा भरिएका खोक्रा संरचनाहरू हुन्।

साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वास क्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्नेजस्ता कार्य गर्दछन्। यी साइनसमा प्राकृतिकरूपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातो–तातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ।
पिनासका प्रकार

– तीव्र पिनास : पिनास ग्रन्थिहरू एकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफैं ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ।
– मध्यम पिनास : चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ।
– जीर्ण पिनास : १२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ।
– आवर्तक तीव्र पिनास : लामो, एक वर्षमा चार वा धेरैपटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनेर भनिन्छ।
पिनास हुनुको कारण

एलर्जी, नाकमा मासु पलाउनु, नाकको हड्डी बांगिनु, नाक, कान, घाँटी र दाँतको संक्रमण हुनु, माथिल्लो श्वासमार्गको संक्रमण हुनु पिनास हुनुका कारण हुन्। यसै गरी भाइरसको संक्रमण जस्तै– राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस, इन्टेरो भाइरस आदि पनि पिनास हुने कारण हुन्।

त्यस्तै स्ट्रेप्टोकोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार ह्यालिस स्टाफाइलोकोकस अरिएसजस्ता ब्याक्टेरियाका कारण पनि पिनास हुन्छ। कमजोर प्रतिरक्षा प्रणाली, ढुसीको संक्रमण जस्तै– मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ।

पिनासका लक्षण

रुघा लाग्ने, टाउको भारी भएर दुख्ने, पिनासको ग्रन्थिको क्षेत्रमा दबाब दिँदा दुख्ने, स्वर परिवर्तित हुने, नाकको वरिपरि वा आँखाको ठीक माथि पीडा हुने, दाँत दुख्ने, गन्ध ग्रहण शक्ति कमजोर हुने, स्वाद ग्रहण शक्ति कमजोर हुने, ज्वरो आउने, बेचैनी बढ्ने, नाक बुझिने पिनासका लक्षण हुन्। यसै गरी नाकबाट सिँगान बग्ने, घाँटी खसखसाउने, थकान हुने, श्वास गन्हाउने, हाच्छ्युँ आउने, अनुहार सुन्निने आदि पनि पिनासका लक्षण हुन्।

पिनासबाट बच्ने उपाय
माकुराको जालो, फूलको पोलन, चिसो, ढुसी, धूवाँ, धूलो, घोडाको लिदी, पशुको भुत्ला, पक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ। त्यस्तै ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवं सामानहरूलाई नियमित सरसफाइ गरिरहनुपर्छ। जस्तै– गद्दा, सोफा, कार्पेट, गलैंचा, डोरम्याट, पर्दा, रुमाल आदिको सफा गर्नुपर्छ।

त्यसै गरी परफ्युम, अत्तर आदिको बासनाले पनि धेरैलाई एलर्जी हुनसक्छ। दूषित वायुमा जस्तै– धूवाँ, धूलो, धूमपान, आद्र वायुबाट बचौं। घरमा हावा गुम्सिन नदिऔं, भएको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौं। जाडोको मौसममा कम तापमान र आद्र हावामा पिनास ग्रन्थिहरूको संक्रमण हुन सक्छ, तसर्थ जाडोबाट बचौं। यसै गरी, अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुन सक्छ। तनाव, अनिद्रा, डर, चिन्ता, उदासीनता र नैराश्यता आदिबाट पनि बच्ने गरौं।

यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन गई पिनास हुन सक्छ। रुघाखोकी लागेका व्यक्तिहरूबाट पनि बच्ने गरौं। तलाउ, पोखरी, खोला वा स्वीमिङ पुलमा डुबेर नुहाउँदा नाकमा पानी पसी पिनास ग्रन्थिको संक्रमण हुन सक्छ। मौसमी संक्रमणबाट बचौं। ब्याक्टेरिया भाइरस आदिको संक्रमणले पिनास हुन सक्छ।

नाक, कान, घाँटी र दाँतको संक्रमण भएकाले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौं। कहिलेकाहीँ यी संक्रमण पिनास ग्रन्थिमा सरेर पिनास हुन सक्छ। जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने गरौं। दैनिक ३–४ लिटर पानी पिउने गरौं। नाकमा मासु पलाएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौं। नाकको सफाइमा विशेष ध्यान दिऔं।

पिनासको उपचार

– जलनेती : प्रचीनकालदेखि नै ऋषिमुनिले नाकको सफाइ गर्नका लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ। नेतीको भाँडामा उमालेर मनतातो बनाइएको नूनपानीलाई एउटा नाकको प्वालबाट राखी अर्को प्वालबाट निकाल्ने पद्धतिले पिनास नियन्त्रण गर्छ।
– सूत्रनेती : रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरी पूरै श्वासमार्गलाई नै सफाइ गर्ने क्रियालाई सूत्रनेती भनिन्छ। सूत्रनेती गरिसकेपछि पुनः जलनेती गर्नुपर्छ।
– बाफ लिने : उम्लिएको पानीमा नाक खुलाउने दबाई हालेर वा नहालीकन पानीको बाफमा अनुहार एक्सपोज गरी कपडाले पूरै टाउको र बाफको भाँडोसहित ढाकेर नाकबाट बाफ लिने गर्दा तातो बाफले पिनास ग्रन्थिमा भएको फोहोर निकाली प्रदाह कम गर्न मद्दत गर्दछ।
– कुञ्जल क्रिया : उमालेर मनतातो बनाएको पानीमा नून हाली ८–१० गिलास पानी पिएर बमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ। कुञ्जल गर्दा अमाशय सफा हुन्छ नै, साथसाथै यसले नाक र पिनास ग्रन्थिमा जम्मा भएर रहेको फोहोरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ।
– टाउकाको मालिस : तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पुर्याउँछ।
– मसलाको सेवन : तीक्ष्ण स्वाद भएका मसला जस्तै– तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार आदि हालिएको सब्जी खाँदा पिनास घटाउन मद्दत गर्दछ। विशेषतः यी तीक्ष्ण स्वादका वस्तुले कफ काट्नेछ।
– अकुप्रेसर : अनुहारका पिनास ग्रन्थिमाथि, वरपरका अकुप्रेसर विन्दुहरूमाथि, हत्केला वा पैतालाका विन्दुहरू दबाउँदा पिनासबाट छुट्कारा पाउन सकिन्छ।
– भुइँकटहरको गुबोको प्रयोग : भुइँकटहरको गुबोमा ब्रोमेलिन नामको प्रोटिन पाइन्छ। यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ। ब्रोमालिनको सेवनले पिनास तथा घ्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ।
– गाईको घिउ : सुत्नुभन्दा पहिले २–३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ।
– नाकभित्र मासु पलाएको, सुन्निएको, हड्डी बांगिएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको परामर्श लिने गरौं।

– रमिला यादव,एमबीबीएस विद्यार्थी, विराटनगर।

प्रतिक्रिया दिनुहोस्