मेरो नाम “दलबहादुर” हो



दीपक खनाल 
हजुर ! मेरो नाम ‘दलबहादुर’ हो। किनकि म ‘दल’ हरूको मान्छे हुँ। दलहरूमा पनि ‘बहादुर’ हुँ। धेरैले ‘दले’ पनि भनेर बोलाउँछन् माया गरेर। यसो भन्दा झन् खुसी लाग्छ मलाई किनभने यो मेरो पहिचान हो, आत्मसम्मान हो, सम्बोधन हो। मेरो निरन्तरको त्याग, तपस्या, मेहनत अनि साधनाले कमाएको पदवी हो, उपाधि हो। त्यसैले यसलाई सधैं सिरानीमा राखेर निदाउन मन लाग्छ मलाई। यसरी नराखे निद्रा पर्दै पर्दैन।
धेरैलाई लाग्दो हो मेरो आकार छ। रूपर· छ। सीमित घेरा छ। म कसैको पेवा हुँ। यो भ्रम मात्र हो। म निराकार छु जसरी संसारका सृष्टिकर्ता भगवान् शिवजी निराकार हुनुहुन्छ। म अजर–अमर छु जसरी शिवजीको न जन्म न मृत्यु न आदि न अन्त्य नै छ। मेरो कुनै जात, थर, लि·, धर्म, क्षेत्र, भूगोल, पार्टी छैन। त्यसैले त मलाई नामको पछाडि थर लेख्नै मन लाग्दैन वा जरुरी नै छैन।

र त आकाश, पाताल, सात समुद्र, जता जाँदा, हुँदा पनि निर्धक्क भएर लेख्छु दलबहादुर। बरु कवि बालकृष्ण समले झैं थरको ठाउँमा ‘सम’ लेख्न मन लाग्य छ मलाई नि। किनकि म सबैलाई समान देख्छु, समान र उस्तै व्यवहार गर्छु। अरू सबैले मलाई पनि साझा ठान्छन्।

साँचो अर्थमा भनूँ भने मान्छेहरूले बाहिर–बाहिर खोज्ने समानता, खुसी, सुख ममा छ। एक अर्थमा भनूँ भने दलालीतन्त्रको कुटीमा समाधी चढ्न पाउँदा अनि दलबहादुर नै भएर काम गर्दा मोक्ष, निर्वाण प्राप्त हुन्छ। खुसी बर्सिन्छ। म राणा, राजा, कांग्रेस, कम्युनिस्ट सबै हुँ। राजावादीले बजाउने प्रजातन्त्रको बाजा, कांग्रेसले गाउने समाजवादको गीत अनि कम्युनिस्टले लगाउने साम्यवादको प्रीत मलाई पनि बजाउन, गाउन र लाउन आउँछ।
त्यसैले त सबैले सधैं मन पराउँछन् मलाई। जुनसुकै व्यवस्था, सत्ता, सरकार, पात्र फेरिए पनि कुनै पर्वाह हुँदैन मलाई। बरु आकाशमा अदलीबदली भइरहन्छ, मौसममा गडबडी चलिरहन्छ, दिनरात फेरिइरहन्छ। मान्छे जन्मने–मर्ने क्रम बढिरहन्छ, तर केही फरक पर्दैन मलाई, त्यसैले त म दलबहादुर हुँ। त्यसैले त म ‘बहादुर दले’ हुँ।
मुलुकमा कत्रा–कत्रा परिवर्तन भए। कति–कति उतारचढाव आए। ९० साल, ४५ साल, ७२ सालमा क्या विनाशकारी भूकम्प आए/गए। विश्वमा भयङ्कर–भयङ्कर सुनामी आए, महाप्रलय भए तर कहिल्यै झुकेन शिर मेरो, कहिल्यै हारेन शान मेरो किनकि म हुँ गोरखालीको छोरो, म हुँ नेपालीको छोरो। म त लालीगुराँस भएछु वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु। रातो आलु हुँ।
जहाँ जता पनि फिट भइदिन्छु। जे पनि बनिदिन्छु तरकारीदेखि अचारसम्म चप्सदेखि चिप्ससम्म। आलुचप, परौठा, समोसा, पकौडा, फिँगरचिप्स जे पनि बनिदिनसक्छु। जे पनि गर्न आउँछ मलाई। बालुवाटारको जग्गा दलाली गर्नदेखि इमानदारहरूको चरित्र हलाली गर्नसमेत आउँछ। सर्प छालाकाण्डदेखि धमिजासम्म लाउडादेखि वाइडबढीकाण्डसम्म मच्चाउन आउँछ मलाई।
मलाई सबैभन्दा बढी मनपर्ने क्षेत्र राजनीति हो किनकि राजनीति राज्य चलाउने नीति हो। यसो हुँदा सबै नीतिहरूलाई चलाउन, हल्लाउन, गलाउन, थलाउन, लडाउन, ढलाउन पाइन्छ। विश्वमा सम्बन्ध बढाएर विदेशीसँग हिमचिम जोड्न सकिन्छ। दुईचार पैसाको दुःख नै हुँदैन। जेजे गरे पनि कसैले केही गर्न सक्दैन किनकि हाम्रो देशको अहिलेको राजनीतिक व्यवस्था नै दलीय हो।

अझ प्रस्ट भनौं बहुदलीय व्यवस्था हो। त्यसैले कहिले त नामै फेरेर बहुदलबहादुर राखौं–राखौं जस्तो लाग्छ तर फेरि हिजो राणा र राजातन्त्रमा पनि दलबहादुर नामले नै दाल गलाउँदै आएकाले बहुदलीयभन्दा अवसरवादी, स्वार्थी भन्ने हुन् कि जस्तो लाग्छ।

परिआउँदा जुनसुकै क्षेत्रमा जति नै बेला उभिन र उत्रिन सक्नु नै दलबहादुर हुनुको परिचय हो। यस्तो क्षमता र तागत नभएकाले मेरो विरोध, आलोचना याने ईष्र्या गर्नुमा कुनै तुक र तर्क नै हुँदैन। क्षमता नभएका मनोरोगीहरूले मात्र टाउको कन्याएर मेरो रिसराग गरिरहन्छन्। मेरै मनचिन्ते पीडाले मरिचझैं आफ्नै पिरोले चाउरिरहन्छन्। यसरी नै सकिन्छन्। तपाईंहरूलाई दलबहादुर बन्न गाह्रो लागे पनि मलाई कहिल्यै यस्तो महसुस भएन।
किनकि पढे पनि नपढे पनि, राजनीतिक पार्टीमा लागे पनि नलागे पनि, पैसा भए पनि नभए पनि, जागिर खाए पनि नखाए पनि, पत्रकारिता गरे पनि नगरे पनि, कलाकार भए पनि नभए पनि, वकिल, न्यायाधीश बने पनि नबने पनि दलबहादुर हुन सकिन्छ। बन्न पाइन्छ।
मात्र तपाईंमा मेरोजस्तै इच्छाशक्ति हुनुपर्छ। सबैसँग कुरा मिलाउन सक्ने मिठो बोली र त्यसलाई पचाउने पाचकको गोली चाहिन्छ। यस्ता यति सामान्यभन्दा पनि सामान्य गुण र विशेषता नभएकाहरू प्रधानमन्त्री, मन्त्री, नेता, समाजसेवी, शिक्षक, पत्रकार, चिकित्सक, इन्जिनियर, मानव अधिकारवादी, मुख्यसचिव, सचिव, सहसचिव, उपसचिव, अधिकृत, सुब्बा, योगी, ध्यानी, धर्मान्त, समाजसेवी आदि जे–जे भएका भए पनि, पीएचडी, एमफिल, मास्टर आदि गरेका भए पनि यसको कुनै मूल्य छैन, अर्थ नै छैन, दलबहादुर बन्नै सक्दैनन् तिनीहरू।
किनकि दलबहादुर बन्न त मेरोजस्तै क्षमता र ममता चाहिन्छ। यसो गर्न सकेमात्र अरू केही गर्न नभ्याए राष्ट्रिय ढुकुटी खल्बल्याउन, मनग्गै पैसा कमाउन, रमाउन, बङ्गला ठड्याउन पाइन्छ।  समाजमा सबैको हाइ–हाइ हुन सकिन्छ। परेको ठाउँमा सेवा दिनसक्ने भइन्छ।
सबैले आफैलाई खोज्छन्। विश्वास गर्छन्। हो, त्यसैले फेरि छाती ठोकेर गौरवसाथ भन्न मन लाग्छ मलाई, मेरो नाम ‘दल’बहादुर हो। दलमा पनि बहादुर हुँ म। धेरैले ‘दले’ भनेर बोलाउँदा पनि गौरव लाग्छ मलाई।

प्रतिक्रिया दिनुहोस्