कविता महोत्सवमा सय कविको भिडन्त



टोखास्थित न्हुजः खलः पुस्तकालयले ‘राष्ट्रिय युवा कविता प्रतियोगिता तथा राष्ट्रिय युवा कार्यशाला–२०७६’ आयोजना गर्ने भएको छ। उक्त प्रतियोगितामा देशका ७७ वटै जिल्लाबाट छानिएका एक सय जना युवा कविले प्रतिस्पर्धा गर्नेछन्।

युवापुस्तामा व्याप्त नकारात्मक धारणा र निराशालाई हटाउन जागरण युवा कविता महोत्सवका रूपमा कविता महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। उक्त कविता प्रतियोगितामा देशभरका १८ देखि ४० वर्षका युवाले सहभागिता जनाउने बताइएको छ।

युवापुस्तामा देशभक्तिको भावना, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षपोषण, राष्ट्रिय दायित्व र कर्तव्यको अभिव्यक्ति तथा राष्ट्रिय समृद्धिको चाहना तथा दीर्घकालीन योजनाले परिपूर्ण कविताहरू उक्त प्रतियोगितामा समावेश हुने आयोजक समितिले जनाएको छ।
राष्ट्रिय सञ्चारमाध्यम र राष्ट्रिय युवा परिषद्का जिल्ला कार्यसमितिमार्फत् त्यस्ता युवाको खोजी गरिने र यसरी संकलित कवितामध्येबाट विज्ञ समूहको सिफारिसमा ७७ जिल्ला नै समेट्ने गरी सय युवाकविलाई प्रतियोगितामा सहभागी हुन ३ दिनका लागि काठमाडौं बोलाइने आयोजकले जनाएको छ।
देशभक्ति भावना र त्यस भावनालाई शब्दमा सजाउन सक्ने सय युवामाझ टोखा नगरपालिकाका १ सय १० जना सोही उमेर समूहका स्नातक उत्तीर्ण युवाबीच अन्तक्र्रिया र छलफल गर्ने योजना बनाइएको न्हुजः खलका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभयो।

श्रेष्ठका अनुसार फागुन ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगितामा ४० वर्षमुनिका युवाले १ सय ५० शब्दमा समेटिएका कविता प्रस्तुत गर्नेछन्। प्रतियोगितामा प्रथम हुने युवा कविले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार राशिको पुरस्कार प्राप्त गर्नेछन्। अन्य दुई कविलाई जनही १० हजार रुपियाँ प्रदान गरिने श्रेष्ठले बताउनुभयो।

सो अवसरमा देशको विकास र समृद्धिका बारेमा विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ‘मेरो देश म चिनाउँछु’ शीर्षकमा प्रत्येक प्रदेशका सहभागीबाट छानिएका व्यक्तिले आफ्नो प्रदेशको अवस्था, समस्या र सम्भावनाका बारेमा प्रस्तुतीकरण गर्नेछन्।

३ दिन सँगै रहँदा स्थानीय युवाले नेपालभरका सम्पूर्ण जिल्लाको अवस्था, चुनौती, सम्भावना, भाषा, साहित्य, संस्कृति तथा संस्कारका बारेमा यथेष्ट जानकारीसमेत पाउने हुँदा देशको विविधता र अवस्थाका बारेमा सबै परिचित हुने अध्यक्ष श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्