चीनका एक लाख विद्यार्थी अस्ट्रेलिया पढ्न जान पाएनन्



अस्ट्रेलिया ।

हालसम्म अस्ट्रेलियामा १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जसमध्ये ५ जनाको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ।

डायमण्ड प्रिन्सेस जहाजमा रहेका ४ जना अस्ट्रेलियन नागरिकसहित ४० जनामा कोरोना भाइरस देखिएपछि यात्रा प्रतिबन्धलाई निरन्तरता दिइएको जनाइएको छ।

कोरोना भाइरसले चुनौती थप्दै गएपछि अस्ट्रेलिया सरकारले सीमामा हुने चेकजाँचलाई पनि कडाइ गरेको छ। डिपार्टमेन्ट फरेन अफेयर्स एण्ड ट्रेडले आफ्ना नागरिकहरूलाई चीन भ्रमण नगर्न आग्रह गर्दै विगत १४ दिनभित्र चीन यात्रा गरी फर्केकाहरूलाई कम्तिमा १४ दिनसम्म एक्लै बस्न आग्रह गरेको छ।

चीनबाट अस्ट्रेलिया पढ्न आउने करिब एक लाख विद्यार्थीहरू अष्ट्रेलिया आउन पाएका छैनन्। अहिले बेइजिङमा विद्यार्थीहरू अष्ट्रेलियाको यात्राका लागि प्रतिक्षारत छन्।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यस यात्रा प्रतिबन्धले व्यापार तथा पर्यटन क्षेत्रमा आर्थिक असर परिरहेको बताएका छन्।

कोरोना भाइरसको संक्रमणलाई लिएर चासो बढिरहेका बेला अस्ट्रेलियाले चीनबाट आउने यात्रामा लगाइएको प्रतिबन्धलाई एक हप्ता अझै बढाइएको छ। अस्ट्रेलियासँगै करिब ५८ वटा देशले चीनसँगका आवागमनमा प्रतिबन्ध लगाएका छन्।

कोरोना भाइरसको संक्रमणलाई लिएर यसअघि घोषणा गरिएको यात्रा प्रतिबन्ध शनिबार सकिदैँछ। नयाँ प्रतिबन्ध फेब्रुअरी २२ सम्म रहने छ।

प्रधानमन्त्री मरिसनले कोरोनाभाइरसलाई लिएर लगाइएको प्रतिबन्धलाई प्रत्येक हप्ता विश्लेषण गरिने तथा सबैखाले स्वास्थ्य सम्बन्धी प्रमाणको आधारमा थप निर्णय लिने बताए।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्