चीनिया कामदार नफर्केपछि निर्माण कार्य ठप्प



शिक्षा पन्त, लमजुङ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण न्यादी जलविद्युतको काम ठप्प भएको छ। चीनिया कम्पनीद्वारा निर्माण भइरहेको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको काम ठप्प भएको हो।

चीनिया कामदार कोरोना भाइरसका कारण फर्कन नपाउँदा निर्माण कार्य रोकिएको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले जानकारी दिनुभयो।गुरुङका अनुसार चीन गएका ५६ जना प्राविधिक तथा कामदार नेपाल फर्कन सकेका छैनन्।

चीनको चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजनाको निर्माण गरिरहको छ। ‘आयोजना प्रमुख, ईन्जिनियर, प्राविधिक, कामदार सबै चीनमै अड्किएका छन् जनसम्पर्क अधिकृत गुरुङले भन्नुभयो– ‘यहाँ ४ जना चीनिया मात्र बाँकी छन्, निर्माणको काम ठप्प छ।’

एक महिनादेखि निर्माणको काम ठप्प भएको आयोजनाले जनाएको छ। चीन गएका आयोजना प्रमुख सहितका प्राविधिक र कामदारहरू फेबु्रअरी ५ तारिखमा नेपाल आउने कार्यतालिका रहेको थियो।

तर, चीनमा फैलिएको कोरोना भाइरसका कारण उनीहरूलाई नेपाल आउन दिइएको छैन। ‘उनीहरू नेपाल आउने तालिका अझै अनिश्चित छ’, गुरुङले भन्नुभयो–‘उनीहरू नआउँदासम्म निर्माण अघि बढ्न सक्दैन। निर्माण रोकिदाँ निर्धारित लक्ष्यमा काम नसकिने देखिन्छ।

न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार ३ दशमलब ८४ किलोमिटर लामो मुख्य सुरुङको
ढलानको काम ८५ प्रतिशत सकिएको छ। यस्तै, विद्युतगृहको सिभिल संरचना निर्माणको काम पनि सकिएको छ। आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप राखिनेछ।

२०७३ चैतबाट सुरु भएको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ८५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। आगामी चैतमा विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो। आयोजनाको बाँध क्षेत्रको जग खन्ने काम पूरा भएको छ।३० मेगावाटको आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन्।

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाईनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ। निर्माणधीन प्रसारण लाइन विद्युत उत्पादन सुरु हुने अवधिभित्र तयार नभए आयोजनाबाट उत्पादित विद्युत टारिकुना सबस्टेसनमा जोड्ने कम्पनीको योजना छ।

नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिने भएको छ। आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता गरेको छ। उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भइ आठ वर्षसम्म र सम्झौताको अवधी ३० वर्षसम्म कायम रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्