पाहुना कुर्दै प्युठानका होम स्टे



सलिम अन्सारी, प्युठान।

सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होम स्टे सञ्चालकहरू भने पाहुना कुर्दै बसिरहेका छन्।जिल्लाका गाउँहरूमा आधा दर्जन होम स्टे सञ्चालनमा छन्। उनीहरू पर्यटन क्षेत्रमा आउने पर्यटकहरूलाई गाउँकै परिकार र आफ्नो मौलिक लोक संस्कृति देखाएर स्वागत सत्कार गर्न आतुर देखिन्छन्।

स्वर्गद्धारी–२ धनवाङका शिवलाल पुनले गाउँलेहरू पाहुनाको स्वागतका लागि तयार भएको बताउनुभयो। होम स्टेमा आउने पाहुनालाई गाउलेले बेलुकी मारुनी, पैसेरु, माडिखोले नाच, ठाडे भाका प्रस्तुत गर्छन्।

पाहुनालाई गाउँको ‘भुटेको मकै, रोटी, आँटो, ढिँडो, सिस्नो, लोकल कुखुरालगायतका परिकारले स्वागत गर्ने उहाँको तयारी छ।’ तर, त्यसका लागि पहिलै सूचना गर्नुपर्दछ।‘फूलमाला टीका लगाइदिएर गाउँ आउने पर्यटकलाई स्वागत गर्छौं’, पुनले भन्नुभयो– ‘घरकै खाना खुवाउँछाँै।’ होम स्टेमा एक रातको ८ सय रुपियाँ लाग्छ, जसमा खाना, बास र खाजा समावेश गरिएको हुन्छ ।

पर्यटक भित्याएर स्थानीयहरूको आर्थिक स्तरलाई वृद्धि गर्न होम स्टे चलाइएको स्वर्गद्धारी सामुदायिक मगर होम स्टेका अध्यक्ष मिनराज रानाले बताउनुभयो।उहाँका अनुसार पछिल्लो समय पर्यटक आवागमन बढ्न थालेको छ। ‘यो वर्ष पर्यटकको संख्या बढ्दो छ।

वडाध्यक्षसमेत रहेका रानाले भन्नुभयो’, पाहुनाहरू आउन थालेका छन, होम स्टे फस्टाउँदो छ।’ मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा १६ घरधुरीले होम स्टे चलाइरहेका छन्।यहाँ एकैचोटि ५० जना पाहुनालाई राख्न सकिन्छ। ‘बास बस्नका लागि राम्रो व्यवस्था मिलाएका छौँ’ उहाँले भन्नुभयो।’ स्वर्गद्धारी पुग्ने पर्यटकलाई धनबाङ ल्याउने योजना हो। धनबाङबाट स्वर्गद्धारी ८ किलोमिटर दूरीमा पर्छ। २०६९ सालमा स्थापना भएको यो होम स्टे जिल्लाकै पहिलो हो।

झिमरुक–४ चौकेका अमर पुनले सांस्कृतिक, राजनीतिक र पर्यटकीय महत्वका हिसाबले ओखरकोट क्षेत्र धनी रहेको बताउँदै गाउँमा आउनका लागि निम्तो दिनुहुन्छ।घरमा आएका पाहुनालाई राम्रो स्वागत सत्कार गरी खान बस्न दिने यहाँको पुरानो परम्परा हो। यहाँका थुप्रै पर्यटकीय स्थान अहिले प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीले थलिएका छन्।

यस्तै मारमा यहाँ खुलेका होम स्टे पनि परेका छन्। तर, होम स्टे खुल्ने क्रम भने रोकिएको छैन। जिल्लाको स्याउलीवाङ, झुलेनी, माझकोट, लिघासहित लेखछहरा, अर्खा, रजबारा, पुजाको वाग्लिवाङ र बिजुलीलगायतका क्षेत्रमा पनि होम स्टेको प्रयास थालिएको छ।

तर, यी सबैको चिन्ता यौटै छ, होम स्टेले पाहुना पाऊलान् त ? ओखरकोट होम स्टेका अध्यक्ष राजेन्द्रविक्रम सिंहले जिल्लाका पर्यटकीय स्थलहरूको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा सरकारी स्तरबाट पनि पहल भएमा प्युठान आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने र गाउँका होम स्टे पनि फस्टाउने बताउनुभयो।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशव आचार्यले होम स्टे सञ्चालनले जिल्लाको अर्थतन्त्रमा समेत संघाउने बताउनुभयो। होम स्टेलाई वरपरका पर्यटकीय गतिविधिसँग जोड्दै पूर्वाधार विकास गरेर पर्यटनमार्फत प्युठान चिनाउने गरी योजना बनाइने उहाँले सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्