आगजनीपश्चात् गाउँपालिकाको कामकाज प्रभावित



विनोद सिंह विष्ट, बैतडी।

बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क केन्द्रमा भएको आगजनी पश्चात् गाउँपालिकाको कामकाज प्रभावित भएको छ। ३ पंसेरामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयको प्रशासन शाखामा अज्ञात समूहले माघ ८ गते आगजनी गरेको थियो।

आगजनीले प्रशासन शाखामा रहेका कागजपत्र जलेर नष्ट हुँदा नियमित कामकाज प्रभावित हुने गरेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोेहराले जानकारी दिनुभयो। गाउँपालिकाको कामकाज रोकिएको नभए पनि सेवा प्रभावमा भने समस्या हुने गरेको उहाँले बताउनुभयो।

कार्यालयको प्रशासन कक्षमा आगजनी गरेर सम्पूर्ण कागजपत्र, कम्प्युटर, कुर्सीसमेत जलाइएको थियो। प्रशासन शाखाका साथै गाउँपालिकाले भाडामा लिएको जिपमा पनि आगजनी गरिएको थियो। यसका साथै गाउँपालिका केन्द्र नजिकै घर रहेको सत्तारूढ नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालको घरअगाडि बम भेटिनुका साथै उहाँको जेसिबीमा पनि आगजनी गरिएको थियो।

आगजनी कसले गराएको हो, भन्ने विषयमा अझै केही खुल्न सकेको छैन्। डिलासैनी गाउँपालिकाको केन्द्रका विषयमा विवाद रहँदै आएको छ। गाउँपालिकाको केन्द्र वडा–७ को धामीगाउँमा राख्नुपर्ने भन्दै स्थानीयहरू आन्दोलितसमेत भएका थिए।

तर, गाउँपालिकाको केन्द्र राख्नका लागि वडा–३ पंसेरामा उपयुक्त स्थान भएको भन्ने प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध हुँदै आएको छ। प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्र पंसेरा राख्ने निर्णय गर्दै प्रदेश सरकारलाई पठाइसकेको छ।

असन्तुष्ट पक्षले आगजनी गरेको आशंका

गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी कसले गरेको भन्ने थाहा हुन नसकेको भए पनि प्रतिबन्धित विप्लव समूहको नेकपा वा केन्द्रका विषयमा असन्तुष्ट रहेका स्थानीय बासिन्दाले गरेको हुन सक्ने आशंका गरिएको छ।

गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले केन्द्रका विषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ। लामो समयदेखि केन्द्रको विषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुनुपर्छ, असन्तुष्ट पक्षका साथै प्रतिबन्धित विप्लव समूहको नेकपाको संलग्नता हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्