लोकल सरकार बोइलर व्यक्तित्व



गाउँपालिका र नगरपालिकाका अध्यक्ष, मेयर, उपाध्यक्ष, उपमेयर र वडा अध्यक्षहरूलाई ‘लोकल सरकारका कार्यकारी’ मान्दै आएको धरहरालाई अत्यन्त प्रसन्नता कतिखेल भयो भने उहाँहरूको व्यक्तित्व अब अन्तर्राष्ट्रिय भइसकेछ। तर, अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउनका लागि केही चरण भने पार गर्नुपर्छ।

नगरपालिका वा गाउँपालिकाको प्रमुख वा कार्यकारीका हैसियतले समृद्ध मुलुकका स्थानीय निकायसँग पत्राचार गर्ने, अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माणको पहिलो चरणमा पर्दछ। आफूलाई मिलाएर अंग्रेजी भाषामा पत्र लेख्न आउँदैन भने प्रमुख प्रशासकीय अधिकृतलाई लेख्न लगाउने।

यदि, उसले पनि साथीकै कापीमा आँखा तन्काएरै स्नातक गरेको रहेछ वा बढुवाभित्र ढँटुवा शैलीको अनुशरण गरेर पद हासिल गरेको रहेछ, भने अंग्रेजी राम्रो भएका भतिजा–भतिजी खोज्ने निष्कर्षमा जसरी हुन्छ, खास ठाउँमा पत्र पठाउने जसले भ्रमणका लागि आमन्त्रण गरोस्। दोस्रो कुरा पत्रमा आफ्नो गाउँ वा नगरले चर्चेको क्षेत्रमा मानिने धर्म–संस्कृति–परम्पराको यसरी व्याख्या गर्ने कि त्यो संसारमै विशेष छ, अन्त कतै छैन र त्यसको ज्ञाता आफूबाहेक अरू कोही यस संसारमा पाउन मुस्किल छ।

यति गरेपछि विकसित मुलुकबाट निम्ता त हुरुरू ! मिलेसम्म ‘म र मेरो गाउँ वा नगर गरिब छ, तिमी नै खर्च हालिदेऊ’ भनेर भिक्षाटन गर्ने, नमिले सरकारी खर्चमा यात्रा गर्ने। महिनैपिच्छे विदेश भ्रमण गर्दा ‘लोकल’ व्यक्तित्व आफै ‘बोइलर’ मा रूपान्तरित नहुने कुरै छैन !

प्रतिक्रिया दिनुहोस्