निर्माणाधीन क्रिकेट रंगशालामा सेन्टी भाइरस



सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को होम प्रोडक्सन सुबिहानी फिल्म्सबाट निर्माणाधीन फिल्म सेन्टी भाइरसको प्रमोसनल गीतको छायांकन गरिएको छ।

आगामी फागुन ९ गते अल नेपाल रिलिजमा आउने फिल्मको प्रचारप्रसारका लागि पार्टी जिताइदे बोलको प्रमोसनल गीतको धुर्मुस–सुन्तलीद्वारा चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, विल्सनविक्रम राईलाई देख्न सकिनेछ।

भिडियो फिल्मका लेखक दीपक आचार्यले निर्देशन गरेका छन्। भिडियोमा राजनीतिक पार्टीको प्रचार तथा दुई पार्टीबीचको झैझगडालाई कैद गरिएको छ। फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत छ।

दुई करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन्। फिल्मका सहनिर्माता फुर्पा लामा हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्म रामबाबु गुरुङले निर्देशन गरका छन्। फिल्मको मुनाफाको ५० प्रतिशत रकम चितवनमा निर्माण भइरहेको क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने सिताराम कट्टेलले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्