नाटकको भूमिकामाथि अन्तर्क्रिया



राजधानीमा बुधबार नेपाली समाज रूपान्तरणमा नाटकको भूमिका र नेपाली नाट्य प्रस्तुतिको समकालीन धार विषयक विचार गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा रंगकर्मी रमेशरञ्जन झाले आफ्नो विचार राख्ने क्रममा नाटक नेपाली नभई नेपालको बनाउनुपर्ने र नाटक अहिले शिशु अवस्थाबाट किशोर अवस्थामा आइपुगेको चर्चा गरे।

‘यो प्रज्ञा प्रतिष्ठान नै सरकार हो, हामी आफ्नो काम सरकारको टाउकोमा राख्दैनौं।’ –उनले भने। दुई कार्यपत्रलाई लिएर अन्तक्र्रिया गरिएको कार्यक्रममा पहिलो कार्यपत्र चन्द्रप्रसाद पाण्डेले प्रस्तुत गरेका थिए, जसमा नेपाली समाज रूपान्तरणमा नाटकको भूमिकाबारे प्रकाश पारिएको थियो।

कार्यपत्रको शुरुआतमा दरबारमा नै आमोदप्रमोदका रूपमा देखिएको नाटक मञ्चन राणाकाल, प्रजातन्त्र काल, पञ्चायत काल हुँदै अहिले समकालीन अवस्थासम्म आइपुगेको तथा नाटकले समाजको परिस्थितिलाई पनि प्रस्तुत गर्ने प्रस्ट्याइएको छ।

शक्तिवल्लभ आर्यालले हास्यकदम्ब (१८५५) लाई नेपालीमा अनुवाद गरेपछि शुरू भएको नेपाली नाटकको इतिहास मोतीराम, शम्भुप्रसाद ढुंगेल, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवालीलगायतका नाट्यकर्मीले विभिन्न भाषाका नाटकलाई नेपालीमा अनुवाद गरेर निरन्तरता दिएका थिए भने यस कालमा धेरै समय विलासिता तथा मनोरञ्जनको सामग्रीका रूपमा नाटकलाई हेरिएको र समाजका ससाना विषयदेखि राज्यशक्तिलाई थर्कमान बनाउने जादू नाटकमा रहेको चर्चा गरिएको छ।

त्यस्तै, प्रजन्तन्त्र कालमा प्रजातन्त्रको प्राप्तिसँगै नेपाली नाटकमा मनोवैज्ञानिक धार शुरू भएको र नाटकले त्यस समयमा समाजमा रहेको जटिल मानसिक व्यवस्था र यसले निम्त्याएका विकृतिप्रति विद्रोह गरिएको, पञ्चायत कालमा नाटकप्रेमी राजा महेन्द्रले शुरू गरेको पञ्चायती व्यवस्थाले नाटक क्षेत्रमा पनि अंकुश लगाइएको उल्लेख छ।

कार्यपत्रमा भनिएको छ– ‘नाटक मञ्चनअगाडि नै अञ्चलाधीशबाट सेन्सर गराउनुपर्ने अवस्था थियो भने सर्जकहरू तत्कालीन समाज तथा राजनीतिक अवस्थालाई घुमाउरो पारामा व्यक्त गर्न बाध्य भएका थिए। त्यस्तो वातावरणमा पनि नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर, आरोहणलगायतका संघसंस्थाले नेपाली रंगमञ्चलाई उचाइमा पु¥याउने काम गरेको थियो।’

समकालीन अवस्थालाई भने नाटकको सुखद अवधि मानिने र नाटककारमा स्वतन्त्ररूपमा नाट्य सिर्जना गर्ने माहोल बन्नुका साथै नाचघरमा अभिनयलगायतका अन्य कलामा विधामा प्रशिक्षणका कक्षा सञ्चालन गरिएको कार्यपत्रमा चर्चा गरिएको छ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नाटककार अशेष मल्लले कार्यपत्र शीर्षकअनुसारको नबनेको बताए। ‘यो कार्यपत्र पढ्दा अन्धो मान्छेले हात्ती छामेको कथाजस्तो महसुस भएको छ। प्रस्तोताले आफू के लेख्दै छु, आफ्नो प्रस्तुति के हुन्छ भन्ने कुरा नै बिर्सिएर बनाइएको यो कार्यपत्र भावी पुस्ताका लागि प्रयोग गर्न धेरै संशोधन गर्नुपर्छ। नेपाली समाजको परिवर्तन राजनीतिक परिवर्तनसँगै भएको होे। तर यो कुराको विश्लेषण कार्यपत्रमा गरिएको छैन।’ –उनले भने।

दोस्रो कार्यपत्र प्रवीण पुमाले प्रस्तुत गरेका थिए। नेपाली नाट्य प्रस्तुतिको समकालीन धार शीर्षकको कार्यपत्रमा नेपाली नाटकको उत्पति, नाट्य प्रस्तुतिको परम्परा, प्राचीन काल, किराँतकाल, लिच्छवी काल, ठकुरी काल, मल्ल काल, शाह काल, राष्ट्रपतीय काल बारेमा चर्चा गरिएको छ।

नेपाली नाट्य प्रस्तुतिको समकालीन धार, परम्परा नाट्यधार, प्रगतिशील नाट्यधार, मध्यम नाट्यधार, स्वतन्त्र नाट्यधार, नाट्य प्राविधिक धार, निर्देशक, नाट्यकृति, नाटककार, शीर्षक, उद्देश्य, पात्र, कलाकार, अभिनय, संवाद, भाषाशैली, द्वन्द्व, परिवेश, सामग्री, भेषभूषा, संगीत, रंगमञ्च, खुला रंगमञ्च, बन्द रंग मञ्च, प्रकाश, दर्शक, नाट्य सम्भावना, नाट्य चुनौतीलगायतका विषय कार्यपत्रमा प्रस्तुत गरिएको छ।

डा. विन्दु शर्माले कार्यपत्रमाथि टिप्पणी गर्दै कार्यपत्र पढ्दा आफूलाई अनौठो लागेको र आफू नौलो बथानमा आएको सुनाउँदै निकै नै मिहेनत गरेर कार्यपत्र बनाइएको बताइन्।

‘माष्टरी दृष्टिकोणले हेर्दा संगीत प्रज्ञा प्रतिष्ठानलाई अनुरोध गर्न चाहन्छु कि आधिकारिक कार्यपत्र दुइटा छुट्टाछुट्टै ढाँचामा छ, जुन एउटै ढाँचामा हुनुपर्ने हो। कार्यपत्रको प्रस्तुति यस्तो छ भने काम कतिको लथालिङ्ग छ होला?

सबैभन्दा महत्वपूर्ण कुरा सीमा हो र यस कार्यपत्रमा सीमा नै तोकिएको छैन।’ –उनले भनिन्।कार्यक्रममा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले कार्यपत्र प्रस्तोता र टिप्पणीकर्तालाई धन्यवाद ज्ञापन गर्दै कमीकमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए।

कार्यक्रममा कुलपति नारायणभक्त श्रेष्ठ, उपकुलपति हरिहर शर्मा, अभिनेत्रीहरू भुवन चन्द थापा, शकुन्तला शर्मा, लक्ष्मी गिरी, रंगकर्मी कुमार विष्टलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्