सन्ध्याको म्युजिक भिडियो



सञ्चारकर्मी सन्ध्या थापाले पहिलोपटक म्युजिक भिडियो निर्देशन गरेकी छिन्।सन्ध्याले पितामा समर्पित प्यारो बाबु बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेकी हुन्। १३ वर्षीया कविता परियारले गाएको गीतमा प्रकाश लामाको शब्द र संगीत रहेको छ।

करिब ४ मिनेट लामो भिडियोमा ८ वर्षीया इली गुरुङ र सबिन लामाले बाबुछोरीका रूपमा अभिनय गरेका छन्। उनीहरूसँगै सबिना ठकुरी र विशेषता शाही पनि म्युजिक भिडियोमा देखिएका छन्। यही गीतमार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी कविता अभिभावकविहीन हुन्।

उनी चर्चको आर्थिक सहयोगमा होस्टेलमा बस्छिन् भने हाल उनलाई गिटारिस्ट इसाक तामाङले संगीत सिकाउँदै छन्।बाल मनोविज्ञानमा आधारित गीत बनाउने चाहना भएकाले पछिल्लो समय फास्ट बिटको गीत चलिरहेको भए तापनि कवितालाई लिएर पिताको योगदानको कदरका लागि गीत बनाएको गीतकार तथा संगीतकार लामाले बताए। भिडियोमा सुरज लामाको छायांकन रहेको छ भने गरब योञ्जन दिलिपूले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्